विश्वविख्यात इसा अवार्डबाट विभूषित वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले आफ्नै जन्मगाउँ ताप्लेजुङको फक्ताङलुङमा ७० जनाको आँखा शल्यक्रिया गरेका छन्। शनिबार ४८ र आइतबार २२ जनासहित ७० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष मुक्ति (राजन) लाबुङ लिम्बुले जानकारी दिए।
फागुन ८ देखि फक्ताङलुङ गाउँपालिकाका विभिन्न दुर्गम बस्तीमा पुगेर आँखा प्राविधिकले दुई हजारजनाको आँखाको जाँच गरी मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको छनोट गरेको थियो। छनोट भएका बिरामीको गाउँपालिकाको केन्द्र तापेथोकमा आएर रुइत नेतृत्वको चिकित्सक तथा प्राविधिक टोलीले शनिबार र आइतबार आँखाको शल्यक्रिया गरेको थियो।
दुर्गम र पछि परेको आफ्नो जन्म क्षेत्रमा आएर आफू नेतृत्वको टोलीले स्थानीयलाई सेवा दिन पाउँदा खुसी महसुस गरेको डा. रुइतले बताए। उनको जन्मगाउँ फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोला हो। शिविर सकेपछि उनी आफ्नो जन्मगाउँ ओलाङचुङ्गोलातर्फ लागेका छन्। फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङ शेर्पाले जन्मगाउँमा पुगेर रुइतले स्थानीयसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको जानकारी दिए।
तिलगंगा आँखा प्रतिष्ठानका निर्देशकसमेत रहेका डा. रुइत ‘दृश्यका देवता’भनेर चिचिन्छन्। डा. रुइतले नेपालसहित विश्वका विभिन्न देशमा पुगेर आफ्नै हातले एक लाख ८० हजारभन्दा बढी आँखा रोगीको शल्यक्रिया तथा उपचार गरेका छन्। यस वर्ष बहराइन सरकारले हरेक दुई–दुईमा वर्ष प्रदान गर्ने १० लाख अमेरिकी डलर राशिको प्रतिष्ठित इसा अवार्डबाट डा. रुइतलाई सम्मान गरिसकेको छ। यसअघि उनले सन् २००६ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने रमन सेसे पुरस्कारसमेत पाइसकेका छन्।
प्रकाशित: २३ फाल्गुन २०७९ ०२:०१ मंगलबार