६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एक करोड रुपैयाँ लगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ। मङ्गला-२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको एक करोड रुपैयाँ लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो।

आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गरेका छन्। आर्थिक वर्ष २०७५/०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिक रूपमा शुभारम्भ गरिएको हो। उद्यानमा संग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ।

गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए।

‘बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रूपमा उद्यान बनाएका हौं, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ’, उनले भने।

उद्यानको विभिन्न भागमा रेलिङ र सिंढी बनाइएको छ। शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ। स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि सङ्ग्रहालय समेत स्थापना गरिएको छ। उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।

त्यसैगरी थप पाँच आना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले एक लाख रुपैयाँ र मङ्गला युवा क्लबले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए। आइतबार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मान समेत गरिएको थियो।

बाजागाजासहित बाबियाचौर बजार परिक्रमापछि उद्यानमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवारसँगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मङ्गला युवा क्लबका पदाधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि समग्र मङ्गलाको समृद्धिमा सघाउने उद्देश्यले आर्थिक रूपमा महँगो पर्ने जग्गालाई आफूहरूले निःशुल्क दान गरेको जग्गादाता अधिकारीले बताए।

‘हामीले यहाँको विकासका लागि यो जग्गा निःशुल्क दान गरेका हौं, खोलाको किनारको जग्गामा आज उद्यान स्थापना भएको छ, यसले दीर्घकालीन रूपमा मङ्गला गाउँपालिकाको विकासमा रचनात्मक सहयोग पुग्ने हामीले विश्वास लिएका छौं, उनले भने। उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले १८ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट सङ्ग्रहालय भवन बनाउन १६ लाख रुपैयाँ र ज्येष्ठ नागरिक आश्रयस्थलको लागि सात लाख रुपैयाँ बजेट उपलब्ध गराएका थिए। उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र सङ्ग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब ६० लाख रुपैयाँ बढी लगानी गरेको जनाइएको छ।

उद्यानलाई निःशुल्क जग्गादाता अधिकारीको सम्मानमा उद्यान परिसरमा अर्धकदको सालिक बनाइएको छ भने सङ्ग्रहालयको नाम ‘मङ्गला खड्ग नन्द सङ्ग्रहालय’ नामकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए। म्याग्दी नदी किनारमा निर्माण भएको उद्यान स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महसुस हुने गरी निर्माण गरिएको छ।

उद्यानलाई हरियाली र आकर्षक बनाउन खण्डखण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रै मास हरियो हुने दुबो पनि सारिएको छ। उद्यान सञ्चालनमा आएसँगै मङ्गलामा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले बताइन्। रासस

प्रकाशित: ८ फाल्गुन २०७९ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App