१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बाढीले बगाएको कुलो मर्मत नभएपछि चन्दननाथका किसानलाई कठिनाइ

कुलो ममर्त गरिदिन सरोकारवालालाई ध्यानाकर्षण गर्दै। तस्बिर: गोल्डेन बुढा/ जुम्ला

गत असोज महिनामा एक साता परेको अविरल वर्षासँगै आएको बाढीले कुलो बगाइदिएपछि जुम्ला चन्दननाथका किसानहरू अप्ठ्यारोमा परेका छन्।

बाढीले चन्दननाथ नगरपालिका १ देखि ५ वडाका किसानहरूले प्रयोग गर्दै आएको माझकुलो र ठिन्केकुलो पहिरोले बगाएको छ। पातारासीको कोटभीरदेखि झण्डै ५ किलोमिटर दूरी रहेको सिँचाइ कुलो पहिरोले बगाइदिएको हो।  

तर त्यसपछि कुलो मर्मत नहुँदा झण्डै २ हजार ५ सय हेक्टर जमिन बाँझो हुने चन्दननाथ- २ का किसान दीपबहादुर मल्लले बताए। उनका अनुसार कुलो ढुंगा र माटोले पुरिएको छ। केही स्थानमा छेदविछेद गरी पहिरोले बगाइदिएको छ। सामान्य तरिकाले माटो पन्छाउँदा पानी ल्याउन सकिने अवस्था छैन। डोजर प्रयोग गरे मात्र कुलो बन्ने देखिन्छ।  

'जसको लागि सरोकारवाला चासो दिएको देखिदैन,मल्लले भने,'सिँचाइ नहुँदा जौ बालीमा पानी पुर्‍याउन सकिएको छैन। हिउँ पर्दा सामान्य जमिनमा ल्याएको चिस्यानकै भरमा जौ छरिएको छ। त्यही पनि सिँचाइ गर्न नसक्दा सुकेको छ।' कुलो नबन्दा खेत बाँझो भएर खेती गर्न नसकिने अवस्था हुनसक्ने भन्दै किसानहरू चिन्तित छन्।

किसानहरूका अनुसार जेठ महिनासम्म कुलोमा पानी बगाएर रोपाइँ चलाउनु पर्ने उनीहरूलाई बाध्यता छ। सिँचाइ अभावकै कारण आचार्यबाडा, ठिन्के, देउतीमाडी, पाल्तीसरा र लयापानी जिउलोमा धान रोपाइँ गर्न कठिन देखिएको किसानहरूले बताएका छन्। चन्दननाथ -१ का हरीशरण आचार्यले कुलो सहजै रुपमा बन्न नसक्ने भएकाले सरोकारवालाले सहयोग गर्नुपर्ने बताएका छन्।

कुलोमाथि सडक र सडकभन्दा पनि माथि खानेपानीको पाइप जडान गरिएकोले ठिन्के कुलो र माझकुलो सधैँ जोखिममा छन्। गत असोजमा पहिरोले जुम्लामा सयौं कुलोहरु बगाएको छ। आचार्य भन्छन्, 'यी कुलाहरु कहिले पाइप फुटेर भूक्षय ल्याइदिन्छ। कहिले वर्षा भएर सडक नै बगाएर कुलो भत्काइदिन्छ। अब सिँचाइका लागि पक्की कुलो नै चाहिएको छ। तर त्यसभन्दा पहिले सामान्य मर्मत गरेर भए पनि यो वर्षको खेती गर्नुपर्नेछ।'  

पहिरो प्रभावित क्षेत्रका किसानहरूले कुलो मर्मतको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पटकपटक डेलिगेसनमा गइसकेका छन्। स्थानीय प्रशासनले भौतिक पुर्वाधार कार्यालय, सिँचाइ कार्यालय र चन्दननाथ नगरपालिकाका प्रतिनिधि राखेर छलफल पनि गरेको थियो। तर पनि किसानको माग पूरा हुन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले किसानको खेतमा पानी पुर्‍याउन पहल भइरहेको बताए। यो वर्षको खेतीका लागि मर्मतको पहल भइरहेको छ। आगामी आर्थिक वर्षको बजेटमा यो कुलो समावेश गरेर दिर्घकालीन समाधान खोज्ने तयारी पनि भइरहेको प्रजिअ केसरीले बताए। तर कुलो मर्मतमा डोजर लगाउने विषयमा स्थानीयस्तरमा विवाद हुनसक्ने भन्दै समाधानका लागि समुदायलाई आग्रहसमेत गरेका छन्।

उनका अनुसार पुस १४ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर ६० लाख रुपैयाँ आवश्यक पर्ने निष्कर्ष निकाल्दै कुलो मर्मतको लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो। जसका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयमा आग्रह गरिएको बताइएको छ।

प्रकाशित: ५ फाल्गुन २०७९ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App