काठमाडौं– भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला प्रकृतिका सवारी साधन चलाउन सरकारले रूट परमिट नदिएको प्रस्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा मन्त्री लेखकले १८ सिट क्षमता भएका माइक्रो चल्ने बिपी राजमार्गमा सरकारले ठूला सवारीलाई समेत रूट परमिट दिएको भन्ने आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको बताए।
“नेपालीको महान् चाड दसैँ, तिहारलाई लक्षित गरी कुनै पनि यात्रुले सास्ती खेप्नु नपरोस् भनेर दैनिक चलिरहने भन्दा बढी गाडी थप्ने र थप व्यवस्थित गर्ने काम गरिएको छ”– उनले भने। यात्रुको सुविधाका लागि आवश्यक परे सरकारले अन्य विकल्पसमेत अघि सार्ने मन्त्री लेखकको भनाइ छ ।
मन्त्री लेखकले संविधानलाई सर्वमान्य बनाउँदै संशोधन प्रक्रियाबारे दलबीच आन्तरिक गृहकार्य भइरहेको र सहमतिका आधारमा छिट्टै संशोधन प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे। रासस
प्रकाशित: १६ आश्विन २०७३ १४:३५ आइतबार