४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखराको पाल्पा भैरव फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

पोखराको एक फर्निचर उद्योगमा गएराती आगलागी भएको छ। पोखरा औद्योगिक क्षेत्रको पछाडीपट्टी रहेको पाल्पा भैरव फर्निचर उद्योगमा आगलागी भएको हो। राती करीब १२ बजेतिर भएको आगलागीका कारण फर्निचर उद्योग जलेर नष्ट भएको छ।

उद्योगमा आगलागी हुँदा २ जना मजदुर घाइते भएको पाल्पा भैरव फर्निचर उद्योगका सञ्चालक दीपककुमार कार्कीले जानकारी दिए। आगलागीमा परि उद्योगकै आवासमा बस्दै आएका राहुल गुरुङ र आशिष गुरुङ घाइते भएका छन्। घाइतेमध्ये राहुलको गण्डकी मेडिकल कलेज (जिएमसी)मा र आशिषको ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको छ। जलेर घाइते राहुलको अवस्था मध्यम भएपनि उनलाई आईसियूमा राखेर उपचार भइरहेको कार्कीले जानकारी दिए। अर्का घाईते आशिषको पछाडीपट्टीको भाग जलेको र उनको अवस्था सामान्य रहेको उनले बताए।

उद्योगमा राती ६ जना सँगै सुतेका थिए। आगलागी भएको थाहा पाएपछि अन्य ४ जना भने पर्खाल नाघेर भाग्न सफल भएका कारण सकुशल रहेको बताइएको छ।

आगलागीका कारण उद्योगमा रहेका सबै फर्निचर जलेर नष्ट भएको कार्कीले जानकारी दिए। स्टक धेरै भएका कारण क्षति धेरै पुगेको उनले बताए। उनका अनुसार आगलागीका कारण करिब २ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।

प्रकाशित: ४ फाल्गुन २०७९ ०३:३८ बिहीबार

आगलागी