१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

व्यापारिक थलो बन्दै रत्नपार्क

काठमाडौं- रत्नपार्कस्थित पार्कको सौन्दर्यतामै ह्रास आउनेगरी व्यापारिक प्रयोजनका लागि टहरा बनाउन थालिएको छ। केही टहरा बनिसकेका र केही बन्ने क्रममा छन्। पार्क अवलोकन गर्न आउनेलाई क्यान्टिनलगायतको प्रबन्ध गर्न भनेर करिब ७ आना क्षेत्रफलमा टहरा निर्माण भइरहेको छ।

४२ रोपनी जग्गामा फैलिएको पार्कको करिब २ रोपनी जग्गामा काठमाडौं महानगरपालिकाले व्यापारिक प्रयोजनका लागि टहरा बनाउन अनुमति दिएको हो। पार्कको छेउको जग्गामा यसअघि नै निर्माण भएका ३ वटा टहरा छन्। जसमा शौचालय र पसल छन्। ती टहरा पनि महानगरपालिकाले टेन्डर आह्वान गरी भाडामै दिएको हो। तर महानगरपालिकाका सूचना अधिकारी ज्ञानेन्द्र कार्की भने यसबारेमा आफूलाई थाहा नभएको बताउँछन्।

व्यापारिक प्रयोजनका लागि नयाँ टहरा बनाउन महानगरपालिकाले वैशाख १२ गते गोरखापत्रमा टेन्डरका लागि लागि सूचना लिकालेको थियो। 

व्यस्त सहरबीचको पार्क जग्गामा व्यापारिक प्रयोजनका लागि टहरा बनाउन थालिएपछि पार्कको सौन्दर्यता नै नै खस्किएको छ। व्यापारिक प्रयोजनका लागि जग्गा मास्दै जाने हो भने पार्क साँघुरो हुने निश्चित छ।

पार्कभित्र बुधबार दिउँसो भेटिएका भक्तपुर कौशलटारका रामचन्द्र खड्काले पहिलाभन्दा अहिले पार्क अव्यवस्थित र साघुँरो बन्दै गएको बताए। उनले भने, 'अव्यवस्थित रुपमा पार्कका हरिया रुख काटेेर टहरा निर्माण गरेकै कारण यसको सौन्दर्यतामा कटौती भएको हो।' पार्क छेउछाउका हरिया रुख  काटेर टहरा निर्माण भइरहेको छ।

महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले पार्क अवलोकन गर्न आउने अवलोकनकर्ताकै सहजताका लागि क्यान्टिन सञ्चालन गर्न टहरा निर्माण गरिएको बताए। उनले भने, 'टहरामा क्यान्टिन सञ्चालन गरिने छ, हामीले पार्कको सौन्दर्यता र हराभरा कायम राखेर नै काम गरिरहेका छौँ।'

टेन्डर आह्वान गरी पार्कको जग्गामा व्यापारिक प्रयोजनका टहरा बनाउन दिइएका कारण क्षेत्रफल साघुँरिदै गएको पार्क हेरचाहमा खटिएका एक कर्मचारीले बताए। व्यापारिक प्रयोजनका लागि टहरा निर्माण गर्न थालिएसँगै पार्कको सुन्दरता गुम्दै गएको उनको अनुभव छ।

महानगरपालिकालेे रत्नपार्क र रानीपोखरी हेरचाह गर्न ९  कर्मचारीसहितको रानीपोखरी एकाइ कार्यालय स्थापना  गरेको छ। सरसफाइमा ४ र अन्य हेरचाहमा ५ जना कर्मचारी छन्। रानीपोखरी एकाइ प्रमुख हरिशरण केसीले उक्त पार्कलाई स्तरोन्नति गरी ०७२ असार १५ गतेदेखि नयाँं स्वरुपमा प्रयोग गर्न थालेको जानकारी दिए। उनले पार्कभित्र व्यापारिक स्टलको पनि आवश्यकता देखिएकाले टहरा निर्माण गरिएको बताए।

विशुद्ध मनोरञ्जन र घुम्नका लागि बनाइएको पार्कको जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा दिन नहुने कानुन व्यवसायी शिव कटेल बताउँछन्। पार्कलाई व्यापारिक थलो बनाउने क्रम बढ्दै गए यसको महŒव र सौन्दर्यता मेटिने उको भनाइ छ।

तत्कालीन राजा महेन्द्रकी श्रीमती रत्नले उक्त पार्क बनाउन जग्गा प्रदान गरेकाले उनकै नामबाट रत्नपार्क नामकारण गरिएको हो। अहिले पार्क अवलोकन गर्न आउने आगन्तुक प्रवेश शुल्कबाट दिनको ३० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ।

प्रकाशित: २ आश्विन २०७३ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App