२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पिठ्यूँमा बच्चा च्यापेर श्रमदान

म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङकी मनसरा कमाई र रिता कमाई गाउँसम्म सडक पुर्‍याउन काखमा बच्चा च्यापेर जनश्रमदान गर्दै ।

म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङकी मनसरा कुमाई एक वर्षकी छोरी ढाडमै बोकेर गाउँ जोड्ने सडक खन्न व्यस्त छिन्। जिल्लाको विकट बस्ती मानिने लुलाङमा सडक पुर्‍याउन काममा जुटेकी मनसराले दैनिकजसो श्रमदान गर्छिन्। मनसराका पति पृथु विक वैदेशिक रोजगारको सिलसिलामा ६ महिनाअघि खाडी मुलुक साउदी अरब गएपछि श्रमदानमा आएकी हुन्। पिठ्युँ र काखमा बच्चा च्यापेर काममा निस्कनु बाध्यताजस्तै बने पनि मनसरा गाउँमा सडक पुगेको हेर्न आतुर छिन्।

मनसराजस्तै लुलाङकी रिता कुमाई पनि २ वर्षीया छोरीलाई बोकेरै दैनिक श्रमदान गर्न आउने गरेकी छन्। उनी सडक निर्माण उपभोक्ता समितिकी सदस्यसमेत भएकाले दैनिकजसो आउनुपर्छ। श्रमदानमा आमा तल्लीन हुँदा बच्चा भने निदाएका थिए भने केहीले खेतको बारीमा डोकामा सुताएर आएका थिए। जिल्लाको सबैभन्दा ठुलो दलित बस्ती लुलाङका साढे दुई सय घरधुरीले सडक खन्न दैनिक श्रमदान गर्ने गरेका छन्। ‘गाउँमा सडक पुगेपछि धेरै समस्या समाधान हुन्छ, ‘पति विदेशमा हुनुहुन्छ, मैले नै श्रमदान गर्नुपर्ने बाध्यता छ,’ मनसराले भनिन्।

उनले सामान ढुवानी, सुत्केरी हुँदा डोकामा बोकेर लैजानुपर्ने लगायत धेरै बाध्यता सडक गाउँमा पुगेपछि समाधान हुने भएकाले दैनिक मजेत्रो र डोकामा छोरी बोकेर श्रमदानमा निस्किएको बताइन्। ‘यहाँ श्रमदान गर्नेमा धेरै महिला हुनुहुन्छ, हामीले सडक नहुँदा भोगेको समस्या सन्तानलाई नपरोस् भनेर नै काम गरिरहेका छौं,’ रिता कुमाईले भनिन्।

बस्तीमाथिबाट सडक विस्तार गर्नुपर्ने बाध्यताका कारण स्थानीयले औजारको प्रयोग गरी सडक खन्नुपर्ने भएकाले गाउँले श्रमदानमा जुटेको उनले बताइन्। गाउँपालिका र प्रदेश सरकारको बजेटबाट निर्माणाधीन सडकमा सबैलाई सहभागी गराउने उद्देश्यसहित एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने नियम बनाएपछि युवाहरूसमेत श्रमदानमा जुटेका छन्। औजारले भिर खन्दै गरेका महिलाले गर्भवती अवस्थामा गाउँसम्म सडक नहुँदा भोग्नुपरेको सास्ती सम्झिएर काम गरेको र आवश्यकता परे निरन्तर श्रमदान गर्न सक्ने बताएका थिए।

धवलागिरिको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने खोरिया भन्ने बस्तीमाथि डोजर प्रयोग गर्दा बस्ती नै जोखिममा पर्ने भएकाले स्थानीयले श्रमदान गरेको सडक निर्माण उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले बताए। ‘गाउँलेको सक्रियता उत्साहजनक छ, वृद्धवृद्धासमेत श्रमदानका लागि आउनुभएको छ,’ पाईजाले भने। उनले बजेट अपुग भएपछि श्रमदानका लागि स्थानीय नै कस्सिएको बताए।

पूर्वाधार विकास कार्यालयले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत सडकखण्डको सबैभन्दा जोखिम मानिएको महतला भिरमा सडक निर्माणमा २ वर्ष लगाएको लुलाङका वडाध्यक्ष अकबहादुर बिकले बताए। उनका अनुसार लुलाङसम्म सडक पुर्‍याउन चन्दा संकलनलाई कम प्राथमिकता दिएर श्रमदानमा जोड दिएको बताए। लुलाङका अधिकांश दलितको आर्थिक अवस्था कमजोर भएकाले श्रमदानमा जोड दिएको बताए।

सडक विस्तारको क्रममा बस्तीमाथि हेभी इक्युपमेन्ट प्रयोग गर्दा स्थानीयको अवरोध हुने भएकाले सडक विस्तारमा आवश्यक पर्ने औजार खरिद गरिएको बताए। महतलाको भिर छिचोलेपछि सडक निर्माणले गति लिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताए। ‘यस वर्ष नै लुलाङ सडक पुग्छ, ग्रेड नमिलेको ठाउँमा यातायात सञ्चालन योग्य बनाएमा आवतजावत र ढुवानीमा सहज हुन्छ,’ उपाध्यक्ष पुनले भने। यस वर्ष गाउँपालिकाले ४५ लाख र प्रदेश सरकारबाट ८० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। खोरिया हुँदै लमसुङको सिमानासम्म गाडी गुड्न मिल्ने भएपछि भाडाका सवारीसाधनलाई नियमित सञ्चालन गर्ने बताइएको छ। जिल्लाको सदरकुामाम बेनीबाट करिब २६ कोष टाढा तथा भौगोलिक रूपमा विकट, विकास निर्माणमा पछाडि, जिल्लाको नक्सामा लुकेको बस्तीको रूपमा चिनिने गुर्जा हुँदै रुकुम जिल्लासम्म पुर्‍याउने लक्ष्यसहित सडक विस्तारमा संघीय बजेट ल्याउनसमेत पहल भइरहेको छ। 

प्रकाशित: २३ माघ २०७९ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App