१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘इस्लामिक लडाकुविरुद्ध गोर्खा सैनिक'

काठमाडौं- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डोर्थीले इस्लामिक लडाकु समूह अब्बु सैयफविरुद्ध कारबाहीका लागि गोर्खा सैनिक ल्याउन प्रस्ताव गरेका छन्। मन्त्रिपरिषद्को सुरक्षा समूहको शनिबार राति भएको बैठकमा राष्ट्रपति डोर्थीले देशका 'किटाणु' समाप्त गर्न सरकारी सेनालाई सहयोग गर्ने गरी गोर्खा सैनिक ल्याउन प्रस्ताव गरेका हुन्। सरकारका कृषिमन्त्री इम्यानुयल पिनोललाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले राष्ट्रपति डोर्थीले गोर्खा सैनिक ल्याउने विकल्प प्रस्तुत गरेको जानकारी दिए।

लागुऔषध कारोबारविरुद्ध कारबाहीक्रममा धेरै व्यक्तिको गैरकानुनी हत्या भएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रबाट राष्ट्रपति डोर्थीको आलोचना हुँदै आएको छ। फिलिपिन्सको मुस्लिम बहुल दक्षिणी क्षेत्रमा लामो समयदेखि सशस्त्र संघर्ष गर्दै आएको सैयफ अलकायदासँग नजिक मानिन्छ। 'अब्बु सैयफसँग संघर्षमा हामीले गोर्खालाई भर्ना गर्नुपर्छ, मलाई त्यस्तो गर्ने चाहना छ,' मन्त्री पिनोलले राष्ट्रपतिलाई उद्धृत गर्दै भनेका छन्, 'यी मानिस किटाणु हुन्। यिनलाई समाप्त गर्नैपर्छ।'

प्रकाशित: २१ भाद्र २०७३ ०२:०१ मंगलबार

इस्लामिक लडाकुविरुद्ध गोर्खा सैनिक