११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

जसलाई कहिल्यै तीज आउँदैन

दस वर्षे द्वन्द्वमा पति गुमाएका रेवती थापा र सीता विक।

काठमाडौं- सहरबजारमा तीजको रमझम छ। हरेक सिंगार पसल होस् वा कपडा पसल– सबैतिर राताम्मे छ। रातो सारी। रातै कुर्थाका सेट। छनछन राता चुरा। झुप्पाका झुप्पा राता पोतेका लर्कना। रातै टीका अनि सिन्दूरका डिब्बा।

तीजमा महिलाले आफ्नो सौभाग्य ठानेर उपयोग गर्ने शृंगार सामग्री हुन् यी। तीजका यी शृंगार सामग्री किन्ने महिला र युवतीले बजार खचाखच छ। रातो साडीसँगै चुरा, पोते, सिन्दूर, टीका लगाउँदा हरेक महिला सुन्दर देखिन्छन्।

सिन्धुपाल्चोककी ३५ वर्षीया सीता विकलाई रातो साडी लगाएर तीजमा साथीसंगीसँग छमछम नाच्न मन लाग्छ। तर, दस वर्षे सशस्त्र द्वन्द्वक्रममा श्रीमान् मारिएपछि उनका रहर सपनाजस्तै बनेका छन्।

२०५२ सालमा विक्रम विकसँग मागीबिहे गर्दा उनी १४ वर्षकी थिइन्। त्यही साल तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेको थियो। एक वर्षमै उनले छोरा अनिललाई जन्म दिइन्। हातभरि चुरा, गलामा तिलहरीसहितको रातो पोते, सिउँदोमा सिन्दुर र निधारमा टीका उनी कहिल्यै छाड्दिनथिन्। चार वर्षपछि दोस्रो छोरा विकासकी आमा बनिन्। त्यतिबेलासम्म उनी परिपक्व महिला बन्दै थिइन्।

द्वन्द्वका बेला श्रीमान् माओवादीमा लागेका थिए। कहिलेकाहीं मात्रै घर आउँथे। ‘संकटकाल लागेपछि युद्ध लड्न भनेर हिँडेको हिँड्यै गर्नुहुन्थ्यो,' सीता सम्झन्छिन्, ‘घरमा बस्न प्रहरी र सेनाको खोजीले दिँदैनथ्यो।' दुई छोरा उनकै भरमा छाडेर विक्रम युद्धमा होमिएका थिए। तर दुर्भाग्य, द्वन्द्वको अन्तिम समय २०६२ माघमा भोजपुर, घोडेटारमा सेनाको हवाई आक्रमणमा उनी मारिए। सीताले भने पति मारिएको एक महिनापछि मात्रै थाहा पाइन्।

समाज परिवर्तन गर्न युद्धमा होमिएका विक्रमकी संगिनीको सौभाग्य खोसियो। ‘हातभरि लगाइएका चुरा फुटाइए, पोते चुँडाइयो, सिन्दुर पखालियो,' रसिला आँखा झुकाउँदै सीताले भनिन्, ‘क्रान्तिले सबै कुरा दिन्छ भन्नुहुन्थ्यो तर मेरो सबैथोक खोसिदियो।'

तीजमा उनलाई बजार निस्कन मनै लाग्दैन। ‘अरुले रातो चुरा, सारी, पोते छानिरहेको देख्दा मन चिसो भएर आउँछ,' उनी कल्पिन्छिन्, ‘युद्ध नभएको भए हाम्रा मान्छे पनि साथै हुँदा हुन्, म पनि त्यसैगरी सबैका सामुन्ने रातो सारी लगाएर नाच्दी हुँ।'

श्रीमान्को मृत्युपछि परिवारले बिधवा बुहारीलाई गर्ने हेलाँ उनले निकै सहिन्। पार्टीका मान्छेले सहिद परिवार भनेर सिन्दूर फर्काइदियौं भने। तर, उनी अझै पनि खुलेर रातै बन्न सकेकी छैनन्। मनलाग्दा कहिलेकाँही लाउँछिन् तर छिमेकी र आफन्तले अर्को बिहे गर्‍यौ कि के हो भनेपछि झसंग हुँदै फुकाल्छिन्।

एक्लो भएपछि उनले पनि पतिकै बाटो रोजिन्, पार्टीमै लागेर झन्डै ६ वर्ष चितवनस्थित जुटपानी शिविरमा बसिन्। अवकाश पाएपछि हात लागेको पाँच लाख छोराछोरीको लालनपालनमै सकियो।

‘छोराछोरीसम्म सरकारले पढाइदिए हुन्थ्यो, मेरो जीवन त त्यसै बेरंगी भएर सकियो,' उनी गुनासो गर्छिन्, ‘हाम्रै रगतले कुर्सीमा पुग्ो, त्यो सबै बिर्सेर पदको हानथाप मात्र गर्दैछन्।'

समाज परिवर्तनका नाममा भएको क्रान्तिपछि उनीहरूले त्यही समाजमा अझै दलितकै दर्जामा बस्नु परेको छ। भूकम्पले गाउँको घर भत्केपछि जोरपाटी, थलीमा बस्दा वरपरका उच्च जातिले छोइछिटो गरेको उनी भुल्दिनन्।

उनकै गाउँकी ३१ वर्षीया रेवती थापामगरको हालत उनीभन्दा फरक छैन। ‘समाज बदल्ने' आन्दोलन चलिरहँदा उनको बिहे एकबहादुर थापासँग भयो। १५ वर्षमै छोरी सुमित्रालाई जन्म दिइन्। उनलाई श्रीमानले केका लागि घर छाडे भन्नेसम्म थाहा थिएन। ‘तेरो पोई पनि बाहिरै बस्छ, घरको काम तैंलै नगरे कस्ले गर्ने?' उतिबेला सासूको बुहार्तन सम्भि्कन्छिन् उनी।

२०५९ सालमा कान्छी छोरी सविना जन्मेको ४५ दिन भएथ्यो। म माइतमै थिएँ। तिम्रा श्रीमान् बिरामी छन् भनेर घरका मान्छे लिन आए। आमाले बाटो खर्च र चुरा किनेर लाउन भन्दै पैसा दिइन्। लाउँलाउँ खाउँखाउँको रहरका बेला। बाटोमा पर्ने बजारमा राता चुरा किनेर हातभरि लगाइन्।

‘सेनाले तल सिन्धुखोलामा गोली हानेछन्,' उनले सम्भि्कन्, ‘घर पुग्दासाथै मलाई तेरा श्रीमान मरे भनेर सुनाए।' त्यो दिन गाउँका आठ युवाको एकैचिहान भएको रहेछ। एक सातासम्म लास जलाउन पाएनन् आफन्तले।

‘विधवाले सुल्टो लुगा लाउनहुन्न भनेर तेह्र दिनसम्म सेतो उल्टो लुगा लाइदिए,' उनी थप्छिन्, ‘कसैका अगाडि पुग्दा अलच्छिनी भन्थे।' तेह्र दिनपछि सेतो लाउन उनले मान्दै मानिनन्। पुरेत ल्याएर भनेपछि हरियो लाउन दिए। ‘हरियो लुगा देख्दा मलाई उनको याद आउथ्यो,' बोल्दाबोल्दै उनी भक्कानिइन्, ‘उनी नभएर यस्तो लाउनुपर्‍यो, मेरो शृंगार उनीसँगै गयो, यो कस्तो परिवर्तन भयो?'

साना दुई छोरीको माया मार्न नसकेर हेलाँ सहेरै घर बसिन्। माइतका आफन्तले लाउ भनेपछि राता लुगा र गलामा रातो मालामा सुन लाउन थालिन्। रातो लाएर घर फर्कंदा परिवारले पोइल गएर आई भन्दै वचन लाउन अझै छाडेका छैनन्। अचेल उनी समाजका कुरा सुन्दिनन्। ‘छोरी डाक्टर पढ्छु भन्छे, कसरी पढाउने,' उनको पिरलो छ, ‘अल्सरले च्यापेपछि उपचार गराउन दाजुभाइसँग हारगुहार गर्दैछु।'

भुइँचालोले घर भत्केपछि बनाएको कटेरोमा पहिरो खस्दैछ। एक वर्ष त मूलपानीतिरै छाप्रामा छोराछोरी बोकेरै बसिन्।

सोही गाउँकै रेनुका भट्टराईका श्रीमान केशव २०६० साल मंसिरदेखि बेपत्ता छन्। हरेक वर्ष तीज आउँछ। दसैं आउँछ। तर, उनका श्रीमान् आउँदैनन्। ‘हराएको एक वर्षसम्म जीवित रहेको थाहा थियो, त्यसपछि कता लगे पत्तो छैन,' उनी विरहमै बोल्छिन्, ‘यो पालि त ब्रत खोल्न आइपुग्नु पो हुन्छ कि जस्तो लाग्छ।' हरेक वर्ष हराएका पतिको लामो आयुको कामना गर्दै ब्रत बस्न छाडेकी छैनन्। सिन्दूर, चुरा, पोते र रातो सारी लाउन छाडेकी छैनन्। ‘कि मरे भनेर भन्दिनुपर्‍यो कि जिउँदा छन् भनिदिनुपर्‍यो, कसरी छाँडु लाउन?' उनी निराशा व्यक्त गर्छिन्। उनले पतिको खोजीका लागि मानवअधिकार, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सबै गुहारिन्। तर, कतैबाट कुनै खबर पाएकी छैनन्।

उनीजस्ता द्वन्द्वपीडित महिलाको अवस्था नाजुक छ। उनीहरूका नाममा अर्बौं रकम खर्चिए पनि उनीहरू बेखर्ची जीवन बाँच्न बाध्य छन्।

द्वन्द्वका घटनाको छानबिन गर्न बनेको सत्यनिरुपण आयोगले दोहोरो भिडन्तमा मारिएकाको मुद्दा हेर्दैन। त्यसले सीताजस्ता महिलाले आफ्ना पति कसरी मारियो जान्न पाउने अधिकारसमेत खोसेको छ। ‘पक्रेर मारेको, गैरमानवीय हत्या र घटना मात्र हाम्रो अनुसन्धानमा पर्छ,' आयोगकी सदस्य माधवी भट्टले भनिन्, ‘उता पीडित भनिएको व्यक्ति यता पीडित देखिएन भनेचाहिँ प्रश्न खडा हुन्छ।' श्रीमान गुमाएका सबै महिलाको उजुरी क्षेत्राधिकारभित्र पर्ने नपर्ने हेरेर अध्ययन हुने उनले बताइन्।

प्रकाशित: १९ भाद्र २०७३ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App