७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भूकम्पपीडितलाई तीन लाख!

काठमाडौं- सरकारले भूकम्पपीडित परिवारलाई घर बनाउन दिने भनिएको अनुदान रकम बढाएर ३ लाख पुर्‍याउने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पको लामो समयसम्म पीडितले घर बनाउन नसकेको र दुई लाख रुपैयाँ घर बनाउन अपुग हुने भन्दै एक लाख रुपैयाँ थप्ने गृहकार्य अगाडि बढाउन लागेका हुन्। दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भूकम्पपीडितलाई दिइने अनुदान तीन लाख पुर्‍याउने विषयमा मंगलबार प्रधानमन्त्री कार्यालयमा छलफल भएको बताए। 'पीडित परिवारलाई एक लाख रूपैयाँ थप अनुदान दिने विषयमा छलफल भएको छ,' उनले भने, 'यसका लागि प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय तथा दातासँग पनि छलफल गरेर आर्थिक स्रोतबारे जानकारी दिन सचिवहरूलाई भन्नुभएको छ।'

एक लाख रूपैयाँ रकम थप्ने विषयमा प्रधानमन्त्रीले गृहकार्य गर्न भनेपछि प्रधानमन्त्री कार्यालयका कर्मचारीसहित पुनर्निर्माण प्राधिकरण, अर्थ मन्त्रालयका कर्मचारीले पुनर्निर्मार्णका लागि हालसम्म आएको रकम, दाताले दिने भनेको रकम र थप आउनसक्ने रकमका विषयमा छलफल गरिरहेको खनालले बताए।

'रकम थप्ने विषयमा विस्तृत अध्ययन गरेर स्रोतको पहिचान भइसकेपछि मन्त्रिपरिषद्बाट निर्णय हुनेछ,' उनले भने, 'हचुवाको भरमा एक लाख थप्ने विषयमा निर्णय गर्न नहुने भन्दै प्रधानमन्त्री दाहालले गृहकार्य गरेर सुझाव दिन सचिवहरूलाई निर्देशन दिनुभएको हो।' छलफलमा प्रधानमन्त्री दाहालले एक लाख रुपैयाँ थप उपलब्ध गराउन राज्यलाई आवश्यक पर्ने थप रकम र उक्त रकम जुटाउन स्रोत पहिचान गर्न पनि सचिवलाई भनेका छन्।

छलफलमा सहभागी एक व्यक्तिले प्रधानमन्त्रीले भनेअनुसार नै हुने हो भने सम्भवतः सरकारले आगामी वा त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पीडितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गर्ने छ। उनका अनुसार रकम थप्ने निर्णय भयो भने सरकारले पीडित परिवारलाई पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख गरी तीन लाख रुपैयाँ उपलब्ध गराउने छ।

यसैगरी, सरकारले पीडित परिवारलाई सामूहिक जमानीमा बिनाधितो थप तीन लाख रुपैयाँ ऋणसमेत दिने छ। सरकारले तीन लाख अनुदान उपलब्ध गराउने हो भने पीडित परिवारले घर बनाउन अनुदानको तीन लाख र तीन लाख ऋण गरी ६ लाख रुपैयाँ पाउने छन्।

प्रधानमन्त्रीले रकम थप्ने विषयमा गृहकार्य गर्न भनेपछि अर्थ मन्त्रालयका कर्मचारीले दातासँग यो विषयमा कुरा गर्न समय मिलाइरहेका छन्। 'अर्थका कर्मचारीले दातासँग यो विषयमा अनौपचारिक कुरा गरिसकेका छन्,' उनले भने, 'सम्भवतः उनीहरुले यो विषयमा औपचारिक छलफल गरी निर्णय लिने छन्।'

पीडित परिवारलाई एक लाख थप गर्न हालको अनुदान कार्यविधिसमेत परिवर्तन गर्नुपर्ने भएकाले दातासँग छलफल आवश्यक भएको उनले बताए। हालको कार्यविधि अनुसार भूकम्पपीडित परिवारलाई तीन किस्तामा दुई लाख रुपैयाँ उपलब्ध गराउने उल्लेख छ। भूकम्पलगत्तै तत्कालीन सरकारले पीडित परिवारलाई घर बनाउन दुई लाख अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। अनुदान वितरणका लागि एक वर्षअगाडि सरकारले 'भूकम्पवाट पूर्ण क्षति भएका आवास पुनर्निर्माण अनुदान/सहायता प्रवाह कार्यविधि, २०७२' तयार पारेको छ। उक्त कार्यविधिअनुसार भूकम्पपीडितले तीन किस्तामा दुई लाख रुपैयाँ पाउने उल्लेख छ।

सरकारले उक्त कार्यविधिअनुसार नै हाल पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ वितरण सुरु गरेको छ। पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये उपत्यकाका तीनबाहेकका ११ जिल्लाका ७० हजार घरधनीले ५० हजार रुपैयाँ पाइसकेका छन्। अन्य जिल्लामा घरधुरी सर्वेक्षण भइरहेको छ। ११ जिल्लाका ५ लाख ३३ हजार ४ सय ५४ परिवारले पहिलो चरणमा ५० हजार रुपैयाँ अनुदान पाउने छन्।

सरकारले उपलब्ध गराउने रकमले घरधनीले सरकारले निर्माण गरेका १६ थरी डिजाइनमा वा इन्जिनियरले बनाइदिएको आफ्नो इच्छाअनुसारको डिजाइनको भूकम्पप्रतिरोधी घर निर्माण गर्न सक्ने छन्। सरकारी अनुदान र ऋणमा घर निर्माण गर्न रकम अपुग भएमा पीडित परिवारले आफैँ बाँकी रकम थप्नुपर्ने हुन्छ।

प्रकाशित: ३ भाद्र २०७३ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App