६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साथीले पठाएको पार्सल अष्ट्रेलियामा बुझ्दा...

काठमाडौं— नेपालबाट बाल्यकालका साथीले पठाएको पार्सल रिसिभ गर्दा  अस्ट्रेलियामा एक नेपाली युवा त्यहाँको प्रहरीको फन्दामा परेर छुटेको खुलेको छ। अस्ट्रेलियन फेड्रल पुलिस(एएफपी) ले २०७२ फागुन २८ गते चार केजी मेथएम्फेटामाइन सहित फ्रि स्ट्रिट न्यु मार्केटबाट पक्राउ गरेका युनिस श्रेष्ठ हाल हिरासतमुक्त त भएका छन् तर साथीको विश्वासमा पठाएको सामग्रीका विषयमा जानकारी नराख्दा उनले केही महिना प्रहरी कारबाहीमा बिताउनुपर्‍यो।

लागुऔषध नियन्त्रण ब्युरो(एनसिबी) ले युनिसकै सूचनाका आधारमा मंगलबार काठमाडौंबाट मेथएम्फेटामाइन अस्ट्रेलिया पठाउने दुईजनालाई पक्रेपछि मित्रता दुरुपयोगको घटना बाहिर आएको हो । एनसिबीले पक्रेका प्रभाकर खनाल र प्रदिपकुमार अधिकारीले नेपालबाट थाइल्यान्ड हुँदै चार केजी मेथएम्फेटामाइन अस्ट्रेलियामा युनिसले रिसिभ गर्ने गरी पठाएका थिए।  

एनसिबीले पक्रेका प्रभाकर खनाल र प्रदिपकुमार अधिकारीले नेपालबाट थाइल्यान्ड हुँदै चार केजी मेथएम्फेटामाइन अस्ट्रेलियामा युनिसले रिसिभ गर्ने गरी पठाएका थिए।  

अस्ट्रेलियाको क्वेन्सल्यान्डमा बस्दै आएका युनिसलाई काठमाडौंमा रहेका साथी ओशो कबिर भन्ने प्रभाकर खनालले पार्सल रिसिभ गर्न आग्रह गरे। युनिसले पनि बाल्यकालको साथीले केही कामकै सामग्री पठाएको होला भन्दै रिसिभ गरे । तर त्यहीबेला उनलाई अस्ट्रेलियन फेड्रल पुलिसले पक्रियो । सुरुआतमा त युनिसले केही बुझ्न सकेनन्। पछि पार्सल खोलेर हेर्दा त्यसमा चार केजी मेथएम्फेटामाइन बरामद भयो।

एएफपीले अनुसन्धानका लागि हिरासतमा लिएका युनिसका विषयमा अनुसन्धान गर्दा उनी निर्दोष देखिए । युनिसलाई पार्सलमा रहेको सामग्रीका विषयमा कुनै जानकारी नरहेको र नेपालबाट पठाउने समूहले उनको प्रयोग गरेको एएफपीको अनुसन्धानमा देखिएको थियो। बारम्बार लिएको बयानमा केही संलग्नता नदेखिएपछि युनिस निर्दोष रहेको निष्कर्षमा एएफपी पुगेको थियो। 

‘एकैस्थानका र बाल्यकालदेखिका साथी भएकाले पार्सल रिसिभ गर्न सहमत भए, तर पार्सलका विषयमा जानकारी नभएको एएफपीको अनुसन्धानमा देखियो,’ ब्युरोका एसएसपी गणेश केसीले भने। उनले मेथएम्फेटामाइनको अवैध कारोबार र ओसारपसारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका लागि काम गर्ने सदस्यमध्ये दुई खनाल र अधिकारी भएको बताए। 

थाइल्यान्डबाट तस्करी हुँदै अस्ट्रेलिया पुगेको उक्त लागुऔषध मेथएम्फेटामिन सहितको सामान हाल पक्राउ परेका प्रदिपकुमार अधिकारीको निर्देशनमा ‘ओशो कबिर’ भन्ने प्रभाकर खनालले युनिसलाई अस्ट्रेलियामा लिन लगाएको अनुसन्धानमा देखिएको डिएसपी अपिलराज बोहराले बताए । उनका अनुसार घटना सार्वजनिक भएपछि प्रभाकर केही महिनादेखि भारतमा लुक्दै आएका थिए ।

ब्युरोले यसअघि चीनबाट अस्ट्रेलियामा लागुऔषध मेथएम्फेटामिन पठाउने नेपालमा रहेका अभियुक्त बिक्रम लामिछाने र होमबहादुर तामाङलाई गत चैत ७ गते पक्रेको थियो । हाल दुवै  अदालतको आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा छन् ।

अस्ट्रेलियन प्रहरीले आठ महिनाअघि ५४ किलोग्राम  मेथएम्फेटामाइन नेपाली नागरिक भुपेन्द्र तामाङ र अस्ट्रेलियन नागरिक रेमन्ड जोहन मार्डसनलाई पक्रेको थियो । त्यसयता प्रहरीले नेपालबाट आउने कार्गो र पार्सलमा विशेष निगरानी राख्दै आएको छ। 


अवैध लागूऔषध मेथएम्फेटामाइन ओसारपसारमा थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, नेपाल आदि देशका विभिन्न गिरोह सक्रिय रहेको बोहराले बताए । उनका अनुसार नेपालको भूमि प्रयोग गरी विभिन्न स्थानमा अवैध लागूऔषध ओसारपसार हुने क्रम बढेपछि अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा एनसिबीले अप्रेसन चलाएको हो ।

प्रकाशित: २ भाद्र २०७३ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App