१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नवलपरासीमा जीप दुर्घटना, चारजनाको निधन

चितवन-पूर्व पश्चिम महेन्द्रराजमार्गको बर्दघाट नजिक दाउन्नेमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा चारजनाको निधन भएको छ। नवलपरासी जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अन्य १० जना घाइते भएका छन् । निधन हुनेमध्येमा जीपका चालकसमेत रहेका छन् । मृतकमध्ये एकजना भारतीय नागरिकसमेत रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

                जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्राप्त विवरण अनुसार दिउँसो तीन बजे पुर्वबाट पश्चिम जाँदै गरेको ना १ ज १३१७ नम्बरको जीप ब्रेक फेल भएर पल्टदा सो दुर्घटना भएको थियो। घटनास्थल बर्दघाट–४ मा पर्छ । निधन हुनेमा जीपका चालक नवलपरासी शुक्रौलीका २८ वर्षीय सुधाखर पाण्डे रहेको नवलपरासी प्रहरीले जानकारी दिएको छ । त्यस्तै भारत धरमपुरका २६/२७ वर्षका चिन्तु सहनीको पनि निधन भएको छ ।

                नवलपरासी सरावलका २५ वर्षीय चनमति थारु र सोही ठाउँका २० वर्षीय चेतकुमारी थारुको पनि दुर्घटनामा परेर ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरुको शव पोष्टमार्ट गर्न सदरमुकाम परासीको पृथ्वीचन्द्र अस्पताल ल्याइएको छ ।

                दुर्घटनामा घाइते हुनेमा नवलपरासी सनइ गाविस वडा नं. २ का सुरवान साई, रामराज थारु, श्रीकृष्ण सहनी, राममुहरत सहनी, सनइ वडा नं. ४ का सृजना चौधरी, र वडा नम्बर नखुलेका सनइका विष्णु सहनी, उमराज सहनी, रामग्रामका धुरेन्द्र केवट, समिर खान र सरावल गाविसका होमराज थारु रहेका छन् । उनीहरुको भैरहवाको मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित: ३२ श्रावण २०७३ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App