१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

हेलचेक्रयाइँले कमजोर परिणाम

काठमाडौं- भक्तपुरका सुनील थापाले यस वर्षको एसएलसी परीक्षामा २.६ जिपिए अर्थात् बी प्लस (७०–८० प्रतिशत) ल्याए। स्थानीय निस्ट स्कुलबाट परीक्षा दिएका उनको अंग्रेजी विषयमा पनि त्यही ग्रेड छ । तर, नेपाली विषयमा 'सी' अर्थात् जम्मा ४०–५० प्रतिशत मात्र ल्याउन सके।

अरू सबै विषयमा राम्रो अंक ल्याएका उनी राष्ट्रभाषामै चाहिँ किन कमजोर त? उनी यसको दोष आफू पढेको विद्यालयलाई दिन्छन्। नेपाली विषयलाई विद्यालयले नै प्राथमिकता नदिएको उनको भनाइ छ। 'बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्कुलमै हुन्थ्यौं। तर, नेपाली बोल्ने नेपाली कक्षामा मात्र हो, अरू बेला नेपाली बोल्यो कि सजाय पाइन्थ्यो,' उनले अनुभव सुनाए, 'साथीसँग नेपाली बोलेकै निहुँमा सरले हामीलाई स्टेजमा उभ्याएर सजाय दिनुभयो, त्यसपछि लाजले पनि जस्तो सकिन्छ, अंग्रेजी नै बोल्न थाल्यौं।'

बलम्बुस्थित बलम्बु माविबाट यसै वर्ष एसएलसी दिएका रोशन बमको पनि नेपालीमा कमजोर ग्रेड छ। उनी यसको कारण झन्झटिलो पाठ्यक्रमलाई मान्छन्। अंग्रेजी विषयमा 'ए' ग्रेड ल्याएका उनको नेपालीमा 'सी' मात्र छ । 'मलाई नेपालीभन्दा मलाई अंग्रेजी नै सजिलो लाग्छ। अंग्रेजीमा थोरै लेखे पनि राम्रो नम्बर आउँछ, नेपालीमा शुद्धाशुद्धि मिलाउनै अप्ठेरो पर्छ। त्यसमाथि थोरै समयमा धेरै लेख्नुपर्छ अनि कसरी राम्रो नम्बर आउँछ?,' बमले भने। उनका अनुसार नेपाली विषयमा शिक्षक–विद्यार्थी सबैले हेलचेक्य्राइँ गरिदिँदा समग्र परिणाम नै कमजोर हुन पुगेको हो।

विद्यालय, शिक्षक र अभिभावकको बेवास्ताका कारण नेपाली भाषामा विद्यार्थी कमजोर भएको बलम्बु माविकी नेपाली शिक्षक विमला भट्टको बुझाइ छ। 'हाम्रो स्कुलमा नेवार र तामाङ समुदायको बाहुल्य छ,' उनले भनिन्, 'उनीहरूलाई जति पढाए पनि बुझाउनै समस्या हुन्छ, नेपाली विषयको पाठ्यक्रम बोझिलो भएकाले पनि नानीहरूलाई बुझाउन चुनौती  थपिएको छ।'

विद्यार्थी सानै कक्षादेखि नेपाली विषयमा कमजोर रहेको सरकारी तथ्यांकले नै देखाउँछ। यसपालि एसएलसीमा नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकामा सबैभन्दा कम 'ए' प्लस नेपाली विषयमै छ। जम्मा ६३ जनाले 'ए' प्लस ल्याएका छन्। यो भनेको नेपाली विषयमा ९०–१०० प्रतिशत बीचको अंक ल्याउने हुन्।

सरकारले विद्यालय तहमा नेपाली विषय अनिवार्य बनाएको छ। राष्ट्रभाषाको विषयमै सरकारी र निजी दुवै विद्यालयले सबैभन्दा कमजोर परिणाम ल्याउनु दुर्भाग्य ठान्छन्, बलम्बु माविका प्रिन्सिपल सुमन  राउत।

'नेपाली विषयमा कपी जाँच्नेदेखि नम्बर दिने प्रकृति नै गलत छ,' उनले भने, 'त्यसमाथि अभिभावकको अंग्रेजी मोहले पनि यसमा भूमिका खेलेको छ।' उनले थपे, 'हाम्रो स्कुलमा अंग्रेजी, विज्ञान र गणितमा विद्यार्थी कमजोर भए गुनासो गर्ने अभिभावक निकै हुन्छन् तर नेपालीमा फेलै भए पनि वास्ता गर्दैनन्। कोचिङ पनि हँुदैन।'

नेपाली भाषा बोल्दा हीनताबोध गर्ने, टुटेफुटेकै भए पनि अंग्रेजी भाषा बोल्दा व्यक्तित्व उच्च हुन्छ भन्ने नकारात्मक सोच हाबी हुँदा नेपाली विषयको पढाइ कमजोर रहेको प्राडा दयाराम श्रेष्ठको बुझाइ छ। २ दशकदेखि प्लसटुका विद्यार्थीलाई अनिवार्य नेपाली विषय पढाउँदै आएका उनी निजी विद्यालयमा नेपाली बोल्यो कि सजाय पाउने त्रासका कारण विद्यार्थी बाध्य भएर अंग्रेजी नै बोल्ने गरेको अनुभव सुनाउँछन्। 'निजी स्कुलमा नेपाली बोल्यो कि सजाय पाइने भएकाले पनि नेपाली भाषामा विद्यार्थीको स्तर खस्केको हो,' श्रेष्ठले भने।

यसपालिको एसएलसीमा नेपाली विषयमा 'डी' (२०–३० प्रतिशत) ल्याउने ४३ हजार ६ सय ३३, 'ई' ग्रेड ल्याउने २३ हजार ४६ जना छन्। जबकि अंग्रेजी भाषामा 'ए प्लस' ल्याउनेको संख्या निकै बढी छ। अंग्रेजी विषयमा ४ लाख ३६ हजार ९ सय ८३ परीक्षार्थी सहभागी रहेकोमा ए प्लस ल्याउने २० हजार ७ सय ९४ जना छन् भने ८६ हजार ६० ले 'डी र ७१ हजार १ सय २४ ले 'ई' ग्रेड ल्याएका छन्।

'नेपाली भाषाको मुख्य जगै वर्णविन्यास, वाक्य गठन, शब्द भण्डार, अभिव्यञ्जना र विषयवस्तुको सम्प्रेषण हो, विद्यार्थीले लेखेका र बोलेका विषयवस्तुमा शिक्षकले यी पाँचै विषयमा गहनपूर्वक जाँच गर्नुपर्छ,' श्रेष्ठले भने, 'विद्यार्थीले पनि यिनै विषयलाई ध्यान नदिँदा समस्या आएको हो।'  नदिएर लेख्ने र बोल्ने गरेकोले समस्या आएको हो।' सरकारले नेपाली भाषाको कक्षा र सिकाइ उपलब्धि सुधार गर्न नयाँ नीति नै बनाएर अघि बढ्नुपर्ने उनले सुझाए।

प्रकाशित: २८ श्रावण २०७३ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App