१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राधाकृष्ण–पौवाटार–मझुवा सडक: तेस्रो पटक म्याद थप्दा ४८ प्रतिशत मात्रै काम

राधाकृष्ण–पौवाटार–मझुवा सडक खण्ड।

गोरखाको पालुङटार नगरपालिकामा पर्ने राधाकृष्ण–कालामाटा–पौवाटार–बिरुवाटार–मिलनचोक–मझुवा सडक निर्माण ब्यवशायीले समयमै काम नगर्दा कालोपत्रे हुन सकेको छैन।

२०७६ साल असार १६ गते सम्झौता गरेको अमर कन्ट्रक्शन प्रालिले तेस्रो पटक म्याद थप गर्दा अहिले ४८ प्रतिशत मात्रै काम गरेको छ। २३ करोड ३८ लाखमा ९ दशमलव ९४ किलोमिटर सडक कालोपत्रे गर्ने कामको जिम्मा कम्पनीले लिएको थियो।

‘यो सडकमा पनि काम ढिलो भएको छ, हामीले पटक–पटक काम छिटो गर्न भनेका छौँ’ पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुङ्गानाले भने। निर्माण व्यवशायीले समयमै काम नगर्दा तेस्रो पटक म्याद थप भएको छ। तेस्रो पटक थप भएको म्याद आउँदो चैत ३० गते सम्म रहेको छ।

काम सम्पन्न नहुँदा उक्त सडक भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती खेप्न बाध्य छन्। सडक कालोपत्रे होला र सहज होला भन्ने आशा गरेका स्थानीय निर्माण ब्यवशायी सुस्त कामले आयोजना नै अलपत्र पर्छ कि भन्ने चिन्तामा छन्।  

पालुङटार ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालले पटक–पटक काम छिटो गर्न भनेपनि बेवास्ता गरेको बताए। ‘दुई चारदिन केही मजदुरले काम गरेझैँ गर्छन, फेरि छोड्छन्’, उनले भने, ‘माथि मिलेमतोमा म्याद थप भइरहँदो रहेछ, छिटो काम नै गर्दैनन्।’ वडा नम्बर ७ को कुमालटारीदेखि अबण्डा सम्मको क्षेत्रमा काम नै हुन नसकेको उनले बताए। ‘सर्वसाधारणले वडामा पनि गुनासो गर्छन्, भेटेका बेला पनि बाटो किन पिच भएन भन्छन्, तर हामीसित उत्तर नै हुदैन’, वडा अध्यक्ष कुमालले भने।

निर्माण ‘होलिडेज’ भन्दै गतवर्ष काम रोकेका ब्यवशायीले यसैलाई आधार बनाएर म्याद थप गराएका छन्। सरकारले सबै आयोजनालाई एकवर्ष म्यादथप गरिदिएपछि कार्यालयले कारबाही गर्न सकेको छैन। काम अलपत्र पारेकाहरुलाई पनि एक वर्ष म्याद थप गरिएको छ। ‘कोरोनाका कारण मजदुर अभाव, निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले काम पूरा हुन सकेन’, अमर कन्ट्रक्सनका इन्जिनियर सुशील आचार्यले भने। अब काम पहिले भन्दा छिटो उनले उनको दावी छ। निर्धारित समयभित्र सिध्याउने गरी काम हुने उनले बताए। केहीदिन यता क्रसरहरु बन्द हुँदा निर्माण सामग्री अभाव भएको ब्यवशायी बताउँछन्। अहिले भएको कामको गतिले समयमै सिध्याउनेमा स्थानीयको भने आशंका छ।

यो ठाउँ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर एवं वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह निर्वाचन क्षेत्र हो।  

प्रकाशित: ३ माघ २०७९ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App