२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

त्रिवेणीमा ‘मैनी मेला’ को तयारी अन्तिम चरणमा

पूर्वी भेगकै सबभन्दा पुरानो मेलाको रुपमा चिनिएको ‘मैनी मेला’ यो वर्ष भव्यरुपमा मनाइने भएको छ।  उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित ककरु, कमला र तावा खोलाको संगमस्थल (त्रिवेणी) मा माघ १ गतेदेखि लाग्ने १५ दिने मेलाको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ। 

माघ १ गते भक्तजनहरु नदीमा मकर नुहाएर पाठा, परेवा र हाँसको बली दिँदै पूजा आराधना गर्ने परम्परा बोकेको मेला कोभिड कहरका कारण विगत ३ वर्षपछि यस वर्षदेखि सञ्चालन हुन लागेको हो।  मनोकामना पुरा गर्ने आकांक्षाका साथ टाढा टाढाका भक्तजनहरु भाकल बुझाउन मेलामा आउने गरेका छन्।  नदी किनारमा पुजा स्थान बनाएर बली चढाउँदा मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ।  

सदियौँदेखि लाग्दै आएको मेला कोभिडले विगत ३ वर्षदेखि लाग्न छाडेको थियो।  हरेक माघ १ देखि १५ गतेसम्म लाग्ने मेला पहिले पहिले १ महिनासम्म लाग्ने गरेको स्थानीय बुढापाका बताउँछन्।  यातायात सुविधा नहुँदा मधेस र पहाडको संगमस्थल त्रिवेणिमा परापूर्व कालमा मधेसबाट नुन, चामल, लत्ताकपडा, चिनी, मसला र घोडा बेच्न ल्याउने तथा पहाडबाट भोटे कुक, भेडा, च्याङ्ग्रा र भेडाको उनजन्य राडी पाखीजस्ता सामग्री बेच्न ल्याउने ठाउँको रुपमा चिनिएको थियो।  

‘उहिले अहिलेजस्तो सडक सञ्जाल, बाटोघाटा थिएनन्, त्यसैले पहाड र तराईको भेट हुन धेरै हम्मे हुन्थ्यो’ त्रिवेणीका पेशल पोखरेलले भने ‘त्यसले यो मेलामा लेकबाट भेडा, च्याङ्ग्रा, भेडाको उनबाट बनेका राडी पाखी भोटे कुकुर आउँथ्यो, तराईबाट घोडा, लत्ता कपडा, नुन चामल, मरमसला।  ती सबैको किनमेल व्यापार हुन्थ्यो। ’ पहिले पहिले १ महिनासम्म मेला लाग्ने गरेको पनि पोखरेलले बताए।  इतिहास, धर्म र संस्कृति बोकेको मेला भएकाले मेलामा नेपाल र भारतका टाढाटाढाबाटसम्म भक्तजन र व्यापारी आउने गरेको उनले बताए।  

पुरानो र ऐतिहासिक भए पनि माओवादी जनयुद्ध उत्कर्षतर्फ जान थालेपछि भने मेला लाग्न छाडेको थियो।  जुवा तास र जाँड रक्सीको व्यापार हुने तथा अन्य अवाञ्छित गतिविधि हुने गरेको भन्दै माओवादीले मेला लगाउन बन्देज गरेका थिए।  जसले गर्दा ०५६–५७ देखि ०६४–६५ सम्म मेला लाग्न ठप्प भयो।  तर, ऐतिहासिक र धार्मिक महत्त्वको स्थान र व्यापारिक कारोबार हुने भएकाले अर्थ राजनीतिसँग जोडिएको भन्दै स्थानीयकै पहलमा पुन मेला लाग्न थालेको हो।  तर, त्यसपछि १५ दिन मात्र मेला लाग्ने गरेको छ। 

यस वर्षको मेला भव्य रुपमा लगाउने तयारी भइरहेको कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।  उनका अनुसार नगरपालिकाले ठेक्का प्रक्रियामा मेला व्यवस्थापनको जिम्मा सयपत्री ईन्टरटेनमेन्ट प्रा लि झापालाई सुम्पेकाे छ।  प्रालिले त्रिवेणी स्पोर्ट क्लब खोक्सासँग साझेदारीमा मेला सञ्चालन हुने बताइएको छ।  मेलामा अधिकतम सहभागिता गराएर व्यापार, व्यवसाय, सांस्कृतिक कार्यक्रम र धार्मिक गतिविधि बढाउने तयारी गरिरहेको छ। 

 १ नं. प्रदेश, मधेस र बागमती प्रदेशसँगै भारतका बिभिन्न सहर बजारबाट व्यापारी र भक्तजन आउने भएकाले मेलालाई बहु आयामिक बनाएर सञ्चालन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग सिद्ध गराउने योजना नगरपालिकाले लिएको मेयर श्रेष्ठले बताए।  मेलामा स्थानीय उत्पादन, कृषि उपज, घरेलु उद्योगबाट उत्पादित सामग्रीदेखि बहुराष्ट्रिय कम्पनीका उत्पादनसम्मका स्टलहरू राखिनेछन्।  त्यस्तै सहभागीहरूलाई मनोरञ्जन दिलाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गर्नुका साथै बाल उद्यान, रोटे पिङ, मौतका कुवा, बिङ्गो र जादु प्रदर्शनीसमेत गर्ने कार्यक्रम रहेको छ।  

प्रकाशित: ३० पुस २०७९ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App