१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

५५ जनाले मागे अख्तियार प्रमुखकको सम्पत्ति विवरण माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग गर्दै ५५ जनाले आयोगमा निवेदन दिएका छन्। डा. गोविन्द केसी ऐक्यबद्धता गठबन्धनको अग्रसरतामा आइतबार आयोगमा निवेदन परेको हो। प्रमुख आयुक्त कार्कीले पदमा पुगेको तीन वर्ष बितिसक्दा समेत सम्पत्ति विवरण बुझाएका छैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सार्वजनिक पदधारण गरेका व्यक्तिले ६० दिनभित्र र हरेक आर्थिक वर्षमा आफ्नो र परिवारको सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

५५ जनाले अख्तियारका सूचना अधिकारीलाई सम्बोधन गरिएको एउटै व्यहोराको निवेदन दर्ता गराएका हुन्। निवेदनमा कानुनलाई उल्लेख गर्दै सम्पत्तिसम्बन्धी सूचना प्रवाह गर्न नमिल्ने वर्गमा नपरेको हुँदा जानकारीका लागि प्रमाणित प्रतिलिपि उपलब्ध गराइदिन भनिएको छ। सूचनाको तपसिलमा प्रमुख आयुक्त कार्कीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहित अद्यावधिक विवरण तोकिएको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने स्मरण गराइएको छ।

‘सोही दफाअनुसार कार्कीले सम्पत्ति विवरण पेस गर्नुभएको छ या छैन, त्यसको यथेष्ट सूचना तथा जानकारी प्राप्त गरिपाऊँ' निवेदनमा भनिएको छ। निवेदनमा उनीहरूले कानुनबमोजिम शीघ्र सूचना पाउन र त्यसका लागि लाग्ने शुल्क तिर्न तत्पर भएको समेत उल्लेख गरेका छन्। निवेदनको सुनुवाइ नभए एक सातापछि सम्पत्ति विवरण माग्न फेरि अख्तियार जाने पनि उनीहरूले जनाएका छन्।

प्रकाशित: १७ श्रावण २०७३ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App