६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लाइसेन्स बनाउन पैसा उठाउनेलाई ठगी मुद्दा

इटहरी- यातायातका कर्मचारीसँगको साठगाठमा सवारी साधन चालक अनुमति पत्र लाइसेन्स बनाई दिने भन्दै पैसा उठाउने एक जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको  छ। लाइसेन्स बनाई दिने भन्दै पैसा उठाउने सुनसरी भरौल वडा नं. ६ का ३० बर्षीय रिजन भनिने आनन्दकुमार चौधरीलाई इटहरी प्रहरीले पक्राउ गरि ठगी मुद्दा चलाएको हो।

चौधरीले कोशी अञ्चल यातायात व्यवस्था कार्यालय लाइसेन्स विभागको कार्यालयबाट लाइसेन्स बनाई दिने भनी पैसा उठाएका हुन्। चौधरीले लाइसेन्स बनाई दिने भनेर मोटरसाइकलको १५ हजार र चार पाङग्रे सवारी साधनको २० हजार उठाएको आधारमा पक्राउ गरेको इटहरी प्रहरीले जनाएको छ।

चौधरीले सुनसरी छिटाहा दिपेन्द्र चौधरी, सुवासकुमार साह, भरत मण्डल, गोपाल मण्डल, बिजय साह, विन्देश्वर मण्डल, चिमडीका अर्जुन चौधरी, मोरङ पथरी शनिश्चरे वडा नं. १४ का नरमाया लिम्बु, कल्पना धिमाललगायतबाट बैना बापत ७३ हजार ४ सय संकलन गरि सकेको जानकारी दिइयो।

त्यसो चौधरी प्रहरीले पक्राउ गरेका एउटा उदाहरणका पात्र मात्र हुन् । लाइसेन्स  लिनका लागि ग्रामीण क्षेत्रबाट लिखित परीक्षा दिन आएका थुप्रैसँग कर्मचारीसँगको साठगाठमा लाइसेन्स निकाली दिने भन्दैं केही ‘दलाल’ मोलमोलाई गर्ने गरेका छन् । ती ‘दलाल’ यातायातको लाइसेन्स विभागको कार्यालय परिसरमै पैसामा मोलमोलाई गर्ने गरेका छन्।

मोटरसाइकलको लाइसेन्स लिनका लागि असार ५ र ६ गते इटहरीमा चार हजारभन्दा बढीले आवेदन दिएका थिए । आवेदन दिएकाको अहिले लिखित र ट्रायल हुने क्रम जारी छ।

कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीले ‘ट्रायल’ सेन्टरको अभावमा एक बर्षसम्म लाइसेन्स दिन रोकेको थियो । पछिल्लो एक बर्षदेखि भने यातायातको लाइसेन्स शाखा अलगै भएपछि मोटरसाइकलको माघ–६ गते पहिलोपटक, दोस्रोपटक फागुन–२६ गते र (असार ५ गते) आवेदन खुलेको थियो । असार ५ गते भिड थाम्न नसकेपछि भोलिपल्ट पनि आवेदन कार्यालयले बुझेको थियो । आवेदन दिएकाले असार १० गतेदेखि साउन २८ गतेसम्म हप्तैपिच्छे लिखित परीक्षा सकेर ट्रायल लिई  सवारी चालक अनुमति पत्र लिने क्रम जारी छ । पछिल्लो समय माघ र फागुनमा आवेदन दिएका तीन हजार पाँच सयलाई यातायात कार्यालयले लाइसेन्स वितरण गरि सकेको  छ।

यातायात कार्यालयले पछिल्लो समय ट्रयाक्टरको ७ सय ५८ जना र डोजरको १९ जनालाई पनि लाइसेन्स वितरण गरेको  छ। चार चक्के सवारी साधनको झन्डै दुई हजार पाँच सयले जेठ अन्तिम साता आवेदन दिएका छन् । तिनीहरुको पनि साउनमै लिखित र ट्रायल सकिनेछ।

 

प्रकाशित: १६ श्रावण २०७३ १३:०४ आइतबार

लाइसेन्स बनाउन पैसा उठाउनेलाई ठगी मुद्दा