९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरको लिम्चुङबुङ जोड्ने सडकको काम गुणस्तरहीन

फाइल तस्बिर

उदयपुरको पहाडी भेगतर्फ जोडिएको निर्माणाधीन सडकको काम गुणस्तर भएको भन्दै स्थानीयले चर्को आलोचना गरेका छन्। सदरमुकाम गाईघाटदेखि मुर्कुची हुँदै रौतामाई गाउँपालिका ७, ८ भएर छिमेकी गाउँपालिका लिम्चुङबुङ जोड्ने सडकको निर्माण कार्यमा गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ।

स्थानीयका अनुसार मुर्कुची–पुँवारे–सिन्कौली–माझखर्क–भालेबास खण्डको निर्माणाधीन सडकको डिल्लीबरमा लगाइएको पर्खाल (रिटेनिङ वाल) गुणस्तरहीन पाइएको छ। सिमेन्ट, गिटी, बालुवा र ढुंगा गुणस्तरहीन भएकाले हातले छुँदा पनि भत्किन थालेको स्थानीय व्यापारीले बताए। उनीहरुका अनुसार हेर्दै कमजोर देखिने काम बाटो हिड्ने बटुवाहरुले छुँदै पर्खाल भत्कने गरेको छ।

गाईघाट, मुर्कुची लिमचुङबु्ङ हुँदै खोटाङको त्रिधार्मिकस्थल हलेसी जोड्ने राष्ट्रिय योजनाको उक्त सडक सिराहा, सप्तरी, धरान, बिराटनगर र जनकपुरलगायत तराई सहरलाई  उदयपुरको पहाडी भेग हुँदै माथिल्लो सगरमाथासँग जोड्ने प्रमुख माग हो। धरानदेखि गाइघाट हुँदै सिन्धुली हेटौँडासम्म निर्माण सम्पन्न हुन लागेको मदन भण्डारी स्मृति लोकमार्ग पूर्वतर्फ झावाको बाहुनडाँगीसम्म र पशिचममा डढेलधुराको रुपालसम्म बिस्तार गर्ने काम भइरहेको छ।  

सो लोकमार्गको धरान–गाईघाट–सिन्धुली खण्डमा जोडेर मुर्कुची–पुवारे–माझखर्क हुँदै लिम्चुङ्बुङ गाउँपालिका केन्द्र बाराहाबाट सुनकोसी भएर सोझै हलेसी जाड्ने यो सडक ओखलढुंगा र सोलुखुम्बुसम्मका स्थानीयतहरु समेट्ने मध्य पहाडी लोमार्गसँग जोड्ने  लक्ष्यका साथ संघीय सरकार, प्रदेश र स्थानीयतहहरुले पनि साझेदारी गरिरहेका छन्।  

हाल निर्माण भइरहेको गुणस्तरहीन खण्ड भने सडक डिभिजन कार्यालय लाहानको रेखदेखमा भईरहेको बताइएको छ। लाहान सडकले गर्ने हरेक काममा स्थानीयतहहरुसँग समन्वय नगर्ने भएकाले कामको गुणस्तर कायम हुन नसकेको रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए। उनका अनुसार सो सडक लाहान सडकले निर्माण गरिरहेको तर, गाउँपालिकासँग समन्वय र सहकार्य गर्नुको साटो जानकारीसम्म नदिएकाले अनुगमन गर्नेसम्म अधिकार नभएको बताए।

सडक स्तरोन्नति अन्तर्गत रिटेनिङ वाल र घुम्ती मोड सुधारका कार्य लगभग २ वर्षदेखि भइरहेको हो। पहिलो वर्षको काम गर्दैगर्दा भत्किएकाले चालु वर्ष पुनः सोही काम भइरहेको बताइएको छ। तर, गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग हुनुमा ठेकेदार र नियमन निकाय सडक डिभिजन लहानको लापरबाही भएको स्थानीयको गुनासो छ।  

त्यसैगरी आफ्नो भूगोल क्षेत्रमा भइरहेको निर्माण कार्यको कामको रेखदेख र अनुगमन नगर्ने रौतामाई र लिम्चुङ्बुङ गाउपालिका सरकार प्रमुखहरुको पनि कमजोरी भएको स्थानीयले औंल्याएका छन्। यो सडक रौतामाई र लिम्चुङबुङसँग जोडिएर निर्माण भईरहेकाले काम राम्रो गराउन स्थानीय सरकारको पनि उत्तिकै दायित्व हुने उनीहरुको जिकिर छ। ठेकेदार र सडक डिभिजनले गर्ने काम भन्दैमा स्थानीय सरकारहरु चुप लागेर बस्न नसुहाउने भन्दै स्थानीयले आफ्नो भूगोलमा हुने हरेक काम राम्रो गरी भएको छ छैन भन्ने खवरदारी गर्न स्थानीय सरकार प्रमुखहरुलाई सचेत गराएका छन्।  

प्रकाशित: १८ पुस २०७९ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App