१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाजुरामा बढ्दो सुरक्षा चुनौति, चोरी, तोडफोडका घटना बढे

मार्तडीमा तोडफोड गरिएको जीप। तस्बिरः नागरिक

पछिल्लो समय बाजुरामा सुरक्षा चुनाैति देखिएको छ।  सानादेखि ठुला बजार क्षेत्रमा दैनिकजसो चोरी, तोडफोडका घटनाहरु वृद्धि भएसँगै सुरक्षा चुनौति बढेको छ। सदरमुकाम मार्तडी देखि कोल्टी, पीलुचौर, कवाडी लगायतका बजार क्षेत्रमा दैनिक जसो होहल्ला, चोरी, सवारी साधन तोडेफोडका घटनाहरु घटिरहेका छन्।  

परीक्षा प्रकाशनकै विषयलाई लिएर बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनीको प्रयास भयो।  कार्यालय अगाडि राखिएको जिआइजेट नामक अन्र्तराष्ट्रिय संस्थाको गाडीमै तोडफोड भएको अवस्था छ।  पालिका कार्यालयको जेनेरेटरमा आगजनी नै गरिएको छ।  

केही दिन यता मार्तडी बजार क्षेत्रमा पार्किङ गरि राखेका सवारी साधनमा समेत तोडफोड भइरहेको जय मालिका यातायात प्रालिले बताएको छ।  रातको समयमा अज्ञान व्यक्तिहरुबाट तोडफोड र चोरी हुने गरेको जीप व्यवसायी बसन्त नाथले बताएका छन्।  

 लगातार पार्किङ गरि राखेको जीपमा तोडफोड हुनेक्रम नरोकिएको गुनासो व्यवसायीको छ।  उनीहरुले प्रहरी सुरक्षा फितलो भएकै कारण तोडफोडका घटना बढेको आरोप लगाएका छन्।  दुई हप्तादिनको अवधीमा ६ वटा जीपमा तोडफोड भएको समितिले बताएको छ।  सिसामा ढुंगा हान्ने, छत तोडफोड गर्ने क्रम नरोकिएपछि जीप व्यवसायी तनाबमा छन्।  

सानो समानमा क्षति पुग्दा पनि दिँनहु मर्मत गर्नु पर्ने समस्या र रातीको समयमा जीपमै बस्नु पर्ने चालकहरुको सुरक्षाको जोखिम बढेको गुनासो उनीहरुको छ।  बाम्का बजार र बेतालमाडौंमा समेत घटनाहरु घट्ने गरेका छन्।  रातीको समयमा मदिरा सेवन गरेरै युवाहरुको टोली खुलेआम घुमिरहँदा प्रहरी बेखबर जस्तै देखिएको आरोप सर्वसाधारणको छ।  

तीन दिन अघि मात्रै रेडियो बन्दगरेर घर फर्किने क्रममा जिल्ला अस्पताल नजिकै रेडियो बाजुराका प्राविधिक गमबहादुर विक माथि आक्रमण गरिएको छ।  माक्स लगाएका व्यक्तिहरुले रातीको समयमा एकाएक बाटोबाट हुत्याएर फ्याँकेको विकको गुनासो छ।  त्यही पछिल्लो दिन अस्पतालकै डिलमा रहेको पसलमा चोरी समेत भएको छ।  

सुरक्षा जोखिम बढेपछि सर्वसाधारण र व्यवसायी त्रसित बनेका छन्।  प्रहरी प्रशासनले कुनै सुरक्षा नै नदिएको आरोप उनीहरुको छ।  डिएसपी उद्धपसिंह भाटको पालाको जस्तो सुरक्षा अवस्था राम्रो कहिल्यै नभएको समेत व्यवसायीको भनाई छ।  

सबै कुरामा कडाइ थियो, हामीलाई नियम कानुनमा चल्न जति कडाइ गरिएको थियो, त्यो भन्दा बढी डिएसपी भाट हुँदा सुरक्षा थियो, त्यो सम्झना मात्रै भएको एक जना व्यवसायीको भनाई छ।  उसोत भाट बाजुरा प्रहरी प्रमुख भएको बेला अपवाद बाहेक सबै कामको प्रशंसा भएको थियो।  

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक डिएसपी सूर्य थापाले सुरक्षा अवस्था कमजोर नभएको बताएका छन्।  अपवादमा हुने घटना बाहेक सुरक्षा अवस्था मजबुद पारिएको थापाको भनाई छ।  

मार्तडीमा तोडफोड गर्ने समूहलाई नियन्त्रणमा लिइसकेको र बुढीनन्दा नगरपालिकामा आगजनी प्रयास गर्नेहरुको खोजी कार्य भइरहेकोले व्यवसायी र सर्वसाधारणले भनेजस्तो कमजोर सुरक्षा अवस्था नभएको थापाले बताएका छन्।  

रातीको समयमा मदिरा र अन्य नशाको तालमा हिँडीरहने युवाहरुको गिरोहलाई नियन्त्रण गर्नु पर्ने माग सर्वसाधारणको छ।  केही युवाहरुले ट्याप्लेस समेत खाने गरेको पाइएको छ।  औषधी पसलले समेत अवैध रुपमा विक्री वितरण गरिरहँदा समेत प्रहरी प्रशासन र स्थानीय पालिका बेखर जस्तै बनेको आरोप छ।  

सर्वसाधारणले मार्तडी बजार क्षेत्रमा समेत रातीको समयमा सुरक्षाकर्मी नै परिचालन नगरिएको र होहल्ला हुँदा समेत प्रहरी मौन बस्ने गरेको आरोप लगाउने गरेका छन्।  उसोत स्थानीय निर्वाचन देखि नै बाजुरामा सुरक्षा अवस्था मजबुद नभएको गुनासो आइरने गरेको छ।  

प्रकाशित: १८ पुस २०७९ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App