१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

छोराका हत्या भएको भन्दै छानबिन माग

काठमाडौं- केही दिनअघि शव फेला परेका अजित ढकाल मिजारको योजनाबद्ध हत्या भएको परिवारले आरोप लगाएका छन्। पिता हरिभक्तसहितका आफन्तले सोमबार राजधानीको त्रिवि शिक्षण अस्पतालमा शव  पुनः पोस्टमार्टमसहित घटनाको निष्पक्ष छानबिन माग गरेका छन्।

उनीहरूले संसद्को मानवअधिकार तथा न्याय समिति, राष्ट्रिय दलित आयोग, गृहमन्त्रालयलगायत निकायको ध्यानाकर्षण गराएका छन्।

 काभे्र, पाँचखाल–६, होक्सेका १८ वर्षीय मिजारको शव असार ३० गते धादिङ, गजुरीमा फेला परेको थियो। गजुरी प्रहरीले शव बेवारिस भन्दै गाडेको थियो।

इन्टरनेटमा छोराको शव देखेपछि परिवार साउन १ गते धादिङ पुगे। साउन २ मा प्रहरीले गाडेको शव झिकी आफन्तलाई बुझाएको थियो। परिवारले शव पोस्टमार्टम गर्न माग गर्दै टिचिङ अस्पताल महाराजगन्ज लगेका छन्।

स्थानीय कल्पना पराजुलीको परिवारले छोराको हत्या गरेको हरिभक्तको आरोप छ। उनका अनुसार कल्पना र अजित स्थानीय सर्वमंगल उच्चमाविमा पढ्थे। उनीहरूले असार २७ गते प्रेमविवाह गरेका थिए। विवाहको तेस्रो दिन माइती पक्षले कल्पनाको बिहे गर्ने उमेर नपुगेको भन्दै प्रहरीमा उजुरी दिएको थियो। त्यसै आधार प्रहरीले कल्पनालाई माइती पक्षको जिम्मा लगायोे। 'कल्पना छोडेर जान मानेकी थिइनन्, जबरजस्ती मोटरसाइकल चढाएर लगेका थिए,' हरिभक्तले भने।

उनका अनुसार कल्पनाकी दिदीले प्रहरीकै अघि अजितलाई मार्ने धम्कीसमेत दिएकी थिइन्। 'तँलाई सात–आठ लाख खर्च होस्, माटोमाथि हिँड्न दिन्नँ भनिन्,' हरिभक्तले भने, 'त्यसपछि पनि फोनमा पटकपटक धम्क्याउने गरेका थिए।' 

असार २९ गते बिहान अजितले परिवारसँगै बसेर खाना खाए। त्यसपछि सबै जना आआफ्नो काममा लागे। साँझ सबै जना घर फर्किए तर अजित आएनन्। उनको फोन भने घरमै थियो। परिवारले खोजी सुरु गर्‍यो। त्यही साँझ ठूली आमाको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो। त्यसमा अजित नै थिए तर उनले 'हेलो' मात्र भन्न भ्याए। कसैले फोन खोसिदियो। त्यसपछि उनी फेरि सम्पर्कमा आएनन्। 

पीडित परिवार छोराको खोजी गरिदिन भन्दै स्थानीय प्रहरीमा पुगे पनि उजुरी लिन मानेन। खोजी गर्दा–गर्दै स्थानीय रमन परियारले मेचीकाली अनलाइनमा अजितको शवसहितको समाचार देखे। त्यही  समाचारका आधारमा आफन्त धादिङ प्रहरीमा पुगेका हुन्। 'फोटोमा लुगा, अनुहार देखें, मेरै छोरा रहेछ,' हरिभक्त भन्छन्, 'गाडिसकेको लास लिएर काठमाडौं आयौं।'

छोराको हत्या नै भएको ठहर गरेका हरिभक्त दोषीलाई कारबाही माग गरिरहेछन्। आइतबार साँझ काठमाडौं आइपुगेका उनीहरूले घटनाबारे अनुसन्धान माग गर्दै राष्ट्रिय दलित आयोगमा उजुरी दिए। सोमबार नै घटनाबारे प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत निकायलाई जानकारी गराइसकिएको आयोग सदस्य सचिव सीताराम घलेले बताए। 'शवको प्रकृति र घटनाविवरण अनुसार हत्या नै भएको देखिन्छ,' उनले भने, 'आयोगले पीडकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गरेको छ।'

गजुरी प्रहरीले प्रक्रिया पूरा नगरी शव भेट्नासाथ गाडेको आरोप आयोग र परिवारले लगाएका छन्। 'शव देखेपछि सार्वजनिक गरी कम्तीमा ३५ दिनसम्म राखिनुपर्थ्यो,' सचिव घलेले भने, 'पोस्टमार्टम तथा अन्य प्रक्रियामा पनि व्यापक त्रुटि छ।' सोमबार नै टिचिङ अस्पताल पुगेको संसद्को मानवअधिकार तथा न्याय समितिको टोलीले अजितका आफन्तलाई घटनाउपर छानविन गर्ने आश्वासन दिएको छ। 'घटना गम्भीर छ, सत्यतथ्य पत्ता लगाउन पहल गर्छौं,' समिति सभापति सुशील श्रेष्ठले भने।

प्रकाशित: ४ श्रावण २०७३ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App