६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सस्तोमा सुन किन्दा यसरी ठगिदै छन् सुनचाँदी ब्यवसायी

इटहरी- सस्तोमा सुन पाएर लोभिदा पूर्वका सुनचाँदी व्यवसायी ठगिने क्रम बढ्दो  छ। सुनचादीको गहनाबाहेक काँचो सुन बजार मुल्यभन्दा सस्तोमा पाएर किन्दा व्यवसायी ठगिने क्रम बढेको हो।

सस्तो सुन किन्न लोभमा पर्दा मोरङ बेलबारीकै सुनचादी व्यवसायी डम्बर विश्वकर्माको बीस लाख रुपैयाँ ठगी गर्ने गिरोहमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ।

घटनाक्रम अनुसार विश्वकर्माले तीन महिनाअघि पहिलोपटक काँचो सुन कारोबारी गर्ने झापा शरणमती वडा नं. ५ घर भइ भक्तपुर बस्दैं आएका ६१ बर्षीय धनपति भट्टराईसँग दश तोला सुन खरीद गरे । भट्टराईले विश्वकर्मासँग आफू सुनको होलसेल कारोबारी भएको र पूर्वका धरान र विराटनगरका ठूला पसलमा दिने गरेको सुनाउँदा पहिलोपटकमै विश्वासमा परेर सुन खरीद गरे। पहिलोपटक खरीद गरेको सुन सक्कली नै थियो। त्यतिबेला बजारभाउ भन्दा पाँच सय सस्तोमा विश्वकर्माले सुन खरीद गरेका थिए।

दोस्रोपटक भट्टराईले ५० तोलाभन्दा बढी सुन भएको विश्वकर्मालाई फोनमार्फत जानकारी दिए । विश्वकर्मा पनि बजार भाउभन्दा सस्तो सुन किन्न आतुर थिए । जेठ २६ गते विश्वकर्मा र भट्टराईबीच सुन खरीद विक्री गर्न मोरङ कोशी हरैचाको लगुवा होटलमा भेट हुने फोनमा  कुराकानी भए अनुसार नै भेटघाट हुन पुग्यो । विश्वकर्माले सुन किन्न बीस लाख रुपैयाँ भट्टराईलाई दिए। भट्टराईसँग एउटै खाले र उत्रै दुईवटा कालो झोला थिए । यी दुईमध्ये एउटा झोलामा विश्वकर्माले दिएको पैसा राखे । पैसा झोलामा राखेपछि सुन चाँडो लिएर आउन एक जना महिलालाई फोन गरे । झन्डै एक घण्टा पर्खदा पनि उनले बोलाएको महिला आइ पुगिनन् । भट्टराईले विश्वकर्मालाई भने, ‘महिला आउन ढिलो भो, अहिले तपाईकै पसलमा आउँला भन्दै एउटा चाबी लगाएको कालो झोला दिए।’

विश्वकर्माले कुनै ख्याल नगरिकन विश्वासमा परेर पसल फर्किएर झोला हेर्दा त पैसा साइजका कागजका बण्डलमात्र फेला परे। उनले हत्तपत्त प्रहरी कार्यालय पुगे र घटनाको फेहरिस्त गराए।

                त्यसपछि प्रहरीले पैसा लिएर हिडने भट्टराईको खोजतलास थाल्यो । खोजतलासका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालयको टोली र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोली खटियो । अन्ततः भट्टराईलाई एक महिनापछि तिलगंगा अस्पताल काठमाडौंबाट प्रहरीले पक्राउ गर्यो।

 ‘आफन्तमार्फत फोन सम्पर्क गर्न लगाएर पिछा गर्ने क्रममा आँखा जचाउनका लागि तिलगंगा आँखा अस्पताल काठमाडौंमा लाइनमा बसीरहेका बेला भेट्यौं,’ पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिएसपी कृष्ण पंगेनीले भने, ‘पक्राउ गर्नासाथ उनले गल्ती गरेको स्वीकारे।’ प्रहरीले भट्टराईको घरमा लुकाई राखेको दश लाख रुपैयाँ, पैसा जस्तै काटिएको कागजको २८ थान बन्डल र मोवाइल बरामद गरेको छ। उनलाई ठगी मुद्दा दर्ता गरिसकेको छ।

                भट्टराईका तीन जना श्रीमती रहेको र परिवारको खर्च धान्नकै लागि सुरुवातमा भारततिर नक्कली सुनको कारोबार गरेर अनुभव बटुलेर नेपालमा गर्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको बेलबारीका इनिस्पेक्टर मेघराज थापाले बताए । प्रहरीले ठगी गर्नेलाई शनिबार बेलबारीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

काँचो सुन ठगी गर्ने गिरोह देशभर नै सक्रिय रहेको बेला इटहरी प्रहरीले समेत तीन जनालाई पक्राउ गरि मुद्दा चलाएको छ। प्रहरीले मोरङ उर्लावारी वडा नं. १ का ४३ बर्षीय राजकुमार श्रेष्ठ, उनका दाजु उर्लाबारीकै ४९ बर्षीय सन्तोष श्रेष्ठ र सुनसरी बवियाविर्ताका संजु शर्मालाई पक्राउ गरि मुद्दा दर्ता गरेको  हो।

पक्राउ पर्नेमध्ये राजकुमारले सज्जन, भलादमी र भद्र व्यक्ति नै चोरी गरेको सामान सस्तोमा खरीद गर्न मरिहत्ये गर्ने गरेका बताएका छन् । उनी चोरी गरि ल्याएको भन्दाभन्दै समाजका प्रतिष्ठित व्यक्ति नै सामान किन्ने गरेको बताउँछन्।

‘पोखराका व्रिर्टिस आर्मीको घरमा काम गर्न बस्दा तलब नदिएपछि दराजमा राखेको सुन चोरेर ल्याएको भन्दा पूर्वमा समाजका प्रतिष्ठित भनिएका थुप्रैले नक्कली सुन किने। उनका अनुसार नक्कली धातुहरुमा सुनका जलप लगाई असली सुन भनेर झुक्काउँदा पनि पूर्वका थुप्रैले किनेको बताए । उनको समूहले एउटा नक्कली ढिक्काबाट गिरोहले दस हजारदेखि २० हजारसम्म ठगी गर्ने गरेको थियो ।

‘मैले चोरेर ल्याएको भन्दाभन्दै हल्ला नगर्नु भन्दैं भटाभट नक्कली सुन पूर्वका धरान, इटहरी, दमक, उर्लाबारीलगायतका बजारमा विशेषगरी ठूला सुन व्यापारीले किनेका छन्।’ श्रेष्ठले धातुमा सुनको जलप लगाएको ढिक्का विक्री गर्नका लागि भन्ने गर्थे, ‘म पोखरा ब्रिटिस आर्मीकोमा काम गरेको चार बर्ष भो, घर आउँदा तलब पनि दिएनन्, अनि ती आर्मीको छोरीले बढार्खा दराजको चाबी भुइँमा खसेको भेटे र दराजबाट सुन लिएर हिडे।’ उनका अनुसार झन्डै दस तोलाको नक्कली सुनको ढिक्का सस्तैमा दिने बताएपछि भटाभट समाजका सज्जन, भलादमी र भद्र व्यक्तिहरुले खरीद गरे।

पक्राउ पर्ने श्रेष्ठ सहितको समूहले अहिलेसम्म इटहरी वडा नं. ५ का ७५ बर्षीय दलबहादुर तामाङको नगद र सुनको औठी लुटेको खुलेको  छ। यस्तै, दुई महिनाअघि इटहरीकै पश्चिम टेम्पो स्टेन्डबाट धनकुटा चुङ्माङ्का अर्जुन राई र उनकी श्रीमती रमिता राईलाई नक्कली सुन देखाई मोवाइल र नगद नौं हजार ठगी गरेको पत्ता लागेको  छ।

इटहरीका डिएसपी ओम अधिकारीले महंगो सुन कौडीको भाउमा दिएको भन्दैं समाजकै प्रतिष्ठित व्यक्तिले खरीद गर्ने गरेको खुल्न थालेको बताए। उनका अनुसार विस्तृत अनुसन्धान हुँदैछ।

प्रकाशित: १ श्रावण २०७३ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App