४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णालीका बालबालिका भन्छन्: काठमाडौंका घर र मान्छे राम्रा, तर फोहोर र धुवाधुलो अति....’

राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गर्दै बालबालिका।

दैलेखकी दिलकुमारी पुन मगर पहिलो पटक काठमाडौं आएकी छिन्। कक्षा १० मा अध्ययनरत मगर पहिलोपटक काठमाडौं आएकी हुन्।

उनी दैलेखबाट काठमाडौंमा भएका विभिन्न सरकारी निकाय, सांस्कृतिक सम्पदाहरुको अध्ययन भ्रमणका लागि काठमाडौं आएकी हुन्। पहिलोचोटि काठमाडौं देख्न पाउदा निकै खुशी लागेको मगर बताउँछिन्। 

काठमाडौंमा वृद्धवृद्धा आमाबुबाहरु माग्न बसेको देख्दा आफूलाई नरमाइलो लागेको उनको भनाइ छ। काठमाडौंको सेवा सुविधा भने उनलाई मन परेको छ। यहाँका अस्पतालहरु देख्दा उनले आफ्नो दैलेखको अस्पताहरु सम्झेको थिइन्। तर ती अस्पताहरुमा काठमाडौंका अस्पताहरुमा भएका सेवा सुविधाहरु भने नभएको उनी बताउँछिन्। 

दैलेखकै राधिका कुमारी माझी पनि पहिलोपटक काठमाडौं आएकी हुन्। माझी ९ कक्षामा अध्ययन गर्दै छिन्। काठमाडौंमा धेरै र बुझ्ने मानिसहरु देखेको उनी बताउँछिन्। किताबमा मात्र अध्ययन गरेको बिषयहरु प्रत्यक्ष देख्दा खुशी लागेको उनको भनाइ छ।

‘किताबमा हामीले सिंहदरबार,बसन्तपुर,संसद भवन,नेपाल टेलिभिजन,हनुमानढोकाका बारेमा पढेका मात्र थियौं। मलाई लागेको थिइन् यसरी प्रत्यक्ष रुपमा हेर्न पाउछु भन्ने लागेकै थिएन्। तर प्रत्यक्ष देख्दा निकै खुशी लाग्यो।’ उनले भनिन्।

काठमाडौंको विकास,अस्पतालहरु र यहाँ राम्रो सोच भएको मान्छेहरु देख्दा दैलेखमा पनि त्यस्तै भइदिए भन्ने उनलाई लागेको छ। उनलाई काठमाडौंको मठ मन्दिरमा मान्छेहरु जुता चप्पल लगाएर बसेको देख्दा भने नराम्रो लागेको छ। दैलेखमा मठ मन्दिरमा त्यसरी जुता चप्पल फुकालेर जाने गरेको बताउँदै काठमाडौंमा पनि त्यस्तै गरे राम्रो हुने उनको भनाइ छ। काठमाडौंको फोहोर र धुवा धुलो देखेर भने आफूलाई दैलेख नै राम्रो लागेको माझी बताउँछिन्।

जाजरकोटकी जयन्ता खत्री पनि पहिलोपटक काठमाडौं आएकी हुन्। उनी १२ कक्षामा अध्ययनरत छिन्। काठमाडौंको सेवा सुविधा यदि कर्णालीमा पुगे कर्णाली पनि काठमाडौं हुने उनी बताउँछिन्। बाताबरणीय स्वच्छताले भने कर्णाली धेरै राम्रो रहेको उनको भनाइ छ।

काठमाडौमा आएर पुरातात्विक,ऐतिहासिक सम्पदाहरुको बारेमा प्रत्यक्ष अवलोकन गर्न पाउँदा पढेको भन्दा बढी प्रष्ट भएको उनले बताइन्।

खत्री भन्छिन्,‘हामीले पृथ्वीनारायण शाहको पालामा यस्तो थियो। जंग बहादुरको पालामा यस्तो थियो भन्ने कुरा किताबमा मात्र पढेका थियौं। तर संग्राहलयमा गएर उहाँहरुले प्रयोग गरेको हातहतियारहरुको बारेमा प्रत्यक्ष देख्न पाउँदा अझै प्रष्ट भएको छ।’

कर्णालीमा यदि सुत्केरी गराउनका लागि अस्पताल ल्याउनुपर्यो भने गाडिमा ल्याउदा ल्याउदै मृत्यु हुने गरेको र काठमाडौंका अस्पतालमा भने बिरामीलाई हेलिकप्टरबाटनै सिधैं अस्पताल ल्याउन सकिने व्यवस्था देख्दा कर्णाली र काठमाडौंको जनजीवन धेरै फरक रहेको उनको बुझाइ छ।

स्रोत,साधन र सेवाको हिसाबले काठमाडौं राम्रै लागेपनि बाताबरणीय हिसाबले कर्णाली ठिक रहेको उनी बताउँछिन्। 

सुर्खेतकी गौमाया अधिकारी पनि पहिलोपटक काठमाडौं आएकी हुन्। काठमाडौं आउदा आफ्नो जन्मभूमी यस्तो पनि रहेछ भन्ने लागेको उनले बताइन्। बशन्तपुर दरबारमा मल्ल राजाहरुको बस्ने ठाउँ,खाने ठाउँहरु,सिंहदरबार,माइतिघर,सर्वोच्च अदालत,संसद भवन प्रत्यक्ष रुपमा देख्दा खुशी लागेको उनको भनाइ छ।  

कालिकोटका प्रकाश बहादुर बिश्वकर्मा पनि पहिलोपटक काठमाडौं आएका हुन्। काठमाडौंको घरहरु र कालिकोटका डाँडाँहरु बराबर रहेको उनी बताउँछन्। बागमती नदि फोहोर छ भन्ने कुरा सरहरुले पढाउदा बताएपनि आफूले प्रत्यक्ष देख्दा झनै फोहोर लागेको उनले बताए।  

काठमाडौं शहर राम्रै लागेपनि कालिकोट भन्दा नरमाइलो लागेको उनको भनाइ छ। बिश्वकर्मा भन्छन्,‘हाम्रो गाउँमा ठूला ठूला रुखहरु हुन्छन्,घरहरु सानासाना हुन्छन् तर काठमाडौंमा घरहरु ठूला रुखहरु त धेरै रैनछ।’  

काठमाडौंमा मान्छेहरु र गाडीहरु देख्दा बिश्वकर्मा दङ्ग परेका छन्। काठमाडौंको सेवासुविधा सम्पन्न अस्पतालहरु कालिकोट लैजाने उनको रहर छ।

जाजरकोटकी प्रतिमा रोकाया पनि काठमाडौं पहिलोपटक आएकी हुन्। यहाँका सुविधा सम्पन्न अस्पतालहरु देख्दा उनले आफ्नो गाउँको स्वास्थ्य चौंकीमा सिटामोल पनि एउटा,दुई वटा चक्कि दिएको सम्झेको बताउँछिन्। 

काठमाडौंको सेवा सुविधा र कर्णालीको सेवा सुविधामा निकै फरक रहेको उनको बुझाइ छ। किताबमा राजाहरुको बारेमा पढ्दा राजा,राजकुमार,रानीहरुले प्रयोग गरेक सामग्रीहरु छैन होला भन्ने सोचेको तर काठमाडौंमा ती सामग्रीहरु प्रत्यक्ष देख्दा खुशी लागेको उनले बताइन्।

त्यसो त जनकपुरकी हिमानी आव्य पहिलोपटक काठमाडौं देख्दा नेपाल कती सुन्दर रहेको भन्ने कुरा देखेको बताइन्। आफूले जनकपुरमा मात्र प्रदुषण होला भन्ने सोचेको तर काठमाडौंमा पनि प्रदुषण देखेको उनको भनाइ छ। 

काठमाडौंको हनुमाढोका हेर्दा काठमाडौंलाई राजधानी बनाउने कारणहरु धेरै भेटेको उनले बताइन्। बागमतीको फोहोर देखेर भने उनलाई नराम्रो लागेको छ। काठमाडौंको छोरीहरु मज्जाले काम गरेर हिडेका कुरा आफ्नो गाउँमा गएर बताउने उनले निर्णय लिएकी छिन्।

कर्णाली र मधेश प्रदेशका बालबालिकाहरुलाई सेभ द चिल्ड्रेनले काठमाडौं अवलोकनका लागि आएको थियो। सेभ द चिल्ड्रेनका परियोजना संयोजक विरेन्द्र थापाले बालबालिकाको क्षमता विकाशका लागि काठमाडौं अवलोकन गर्न ल्याएको बताए। बालबालिकालाई नेपालको राज्य सञ्चालनको अंगहरु न्यायपालिका,कार्यपालिका, व्यवस्थापिका,बालबालिकासँग सम्बन्धित निकायहरु देखाउदा उनीहरुलाई पछि अगाडि बढ्न सघाउ पुर्याउने बताउँछन्।

बालबालिकाहरुले बशन्तपुर दरबार,ग्राण्डि अस्पताल,सर्वोच्च अदालत,संसद भवन,सिंहदरबार,नेपाल टेलिभिजन,राष्ट्रिय आविस्कार केन्द्रको अवलोकन गरेका थिए।  

प्रकाशित: १३ पुस २०७९ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App