२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एक्लिएका छन् ज्येष्ठ नागरिक

जवानीमा अनेक घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिक जीवनको उत्तराद्र्धमा एक्लो महसुस गर्दै आएका छन्। ‘मेरा तीन छोरा, दुई छोरी, मलाई असाध्यै माया गर्ने श्रीमती थिइन्’, दोलखा घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्ने ७५ वर्षीय रामबहादुर बुढाथोकीले भने, ‘श्रीमती बितेको चार वर्ष भयो, छोरा कोही विदेशमा छन्, केही जागिरे छन्, छोरी आफ्नो घरघरमा छन्, म एक्लै छु।’

उमेर बढ्दै, शक्ति घट्दै गए पनि आफन्त पनि विस्तारै टाढिने गरेको उनको भोगाइ छ। ‘मैले पाँचवटा बच्चा कसरी हुर्काएँ, बढाएँ, पढाएँ होला’, उनले विगत सम्झँदै भने, ‘मेरो कारणले छोराबुहारीको सधँं झगडा हुने भएपछि मैले घर छाडें। अहिले एक्लै बस्छु।’ उनले वृद्धाभत्ताले कोठा भाडा तिर्ने र खाने गर्दै आएका छन्। केही नपुगेको अवस्थामा छोराछोरीले सरसामान किनिदिने पनि गर्छन्। तर एक्लै बस्नुपर्दा उनलाई बेचैन लाग्छ।  

ऊर्जामय जीवन सकिएर काम गर्न नसक्ने र परिवारको बेवास्ताको पात्र बन्नुपर्ने अवस्था रामबहादुरको मात्रै होइन, सिन्धुपाल्चोककी ६८ वर्षीया धनकुमारी थापाले एक्लै जीवन बिताउन थालेको पनि १० वर्ष भयो। सिन्धुपाल्चोकमा पहिरोमा परेर घरवारविहीन भएर काठमाडौंको चाबहिलमा बस्दै आएकी उनी गाडामा तरकारी व्यापार गर्छिन्।

‘पहिराले घर भत्काउँदा पति पनि बित्नुभयो। छोरी पनि त्यहीँ परिन्। एउटा छोरा च्यापेर काठमाडौं आएँ’, उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘सुरुका दिनमा कत्ति दुःख पाइयो। छोरालाई साग बेचेरै पढाएँ।’ एकल महिलाले पाउने भत्ताले पनि जीवन जिउन सहज भयो। उनका छोराबुहारी काम गर्न जान्छन्।

‘तरकारी बेच्दा सबैसँग बोलिन्थ्यो, दुःख पिर सबै बिर्सन्थ्यो, तर अहिले म त्यत्तिकै बस्छु, बोल्ने मान्छे पनि कोही छैन। दिक्क लाग्छ, कहिलेकाहीं निस्किएर हिँड्छु’, उनले थपे, ‘जीवन निराश लाग्छ, कोहीसँग बोल्नु छैन। केही काम गरौं भने शक्ति छैन।’ रामबहादुर र धनकुमारीजस्तै हिजोआज धेरै ज्येष्ठ नागरिक एक्लोपनको महसुस गरिरहेका छन्।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको धेरैजसो सम्भ्रान्त परिवारमा ज्येष्ठ नागरिक एक्लिएको अनुभव छ। ‘घरमा काम गर्ने मान्छे राखिदिन पैसा छ, सम्पत्ति छ तर आफ्नो मनको दुःख पीडा साट्ने मान्छे छैन’, उनले भने, ‘धेरैजसो सम्भ्रान्त परिवारमा ज्येष्ठ नागरिक एक्लिएको मलाई अनुभव छ। मनको कुरा सुनाउने साथी नहुँदा अनेक रोग लाग्ने र मानसिक रूपमा समस्या हुने देखिएको छ।‘  

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठको पहलमा तत्कालीन ओली सरकारको पालामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतो हुँदा मन्त्रिस्तरीय निर्णयबाट यो दिवस मनाउन सुरु गरिएको हो। ‘यो दिवस मनाउनुको कारण छ, ज्येष्ठ नागरिकलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले मासिक रूपमा एक सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेका थिए’, उनले थपे, ‘त्यही सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको दिनलाई नै ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो।’  

ज्येष्ठ नागरिकलाई सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले धेरै राहत भएको छ। जसले गर्दा जीवनको अन्तिम अवस्थामा सामाजिक सुरक्षा भत्ताले राम्रो सहयोग गरेको छ। ‘भत्ताले धेरै राहत भएको छ। कसैसँग हात फैलाउनुपर्ने अवस्था छैन’, वरिष्ठ कलाकार श्रेष्ठले भन्नुभयो, ‘कतिपय ज्येष्ठ नागरिकले नागरिकता नभएका कारणले पनि भत्ता पाउन सकेका छैनन्। त्यसका लागि मैले पनि पहल गरिरहेको छु। वडाबाटै व्यवस्था गरे राम्रो हुने थियो।’ महासंघको तथ्यांकअनुसार करिब एक सय ५० ज्येष्ठ नागरिक नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छन्। ज्येष्ठ नागरिकलाई यातायात र स्वास्थ्यमा ५० प्रतिशत छुट व्यवस्था गरे पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन। नेपालको कानुनले ६० वर्षमाथिकालाई ज्येष्ठ नागरिक मानेको छ भने सामाजिक सुरक्षा पाउने ७० वर्षदेखि थियो। तर चालु आर्थिक वर्षबाट ६८ वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानलाई पनि ज्येष्ठ नागरिकको सबैभन्दा ठूलो समस्या एक्लोपना भएको अनुभव छ। ‘छोराछोरी विदेश वा आआफ्नै परिवारसँग हुने भएकाले पनि चासो दिएर कुराकानी नगर्ने पाइएको छ’, उनले भने, ‘ज्येष्ठ नागरिकमा एक्लोपना महसुस भएको छ। परिवारबाट पनि सम्मान छैन। काम नलाग्नेजस्तो हिसाबले हेरिन्छ।’  

जवानीमा पैसा कमाइञ्जेल सबैको प्यारो हुने तर उमेर ढल्किँदै, कमाउन नसक्ने हुँदै जाँदा सबैबाट हेलाँ सहनुपर्ने अवस्था छ। ‘जागिर भइञ्जेल, पैसा कमाएर दिन सकिञ्जेल सबैले मान्ने तर पछि नमान्ने अवस्था देखिएको छ’, उनले थपे, ‘पुस्तान्तरणले एकले अर्कालाई नबुझ्ने समस्या देखिएको छ। बाबुआमाले छोराछोरी नबुझ्ने र छोराबुहारीले बाबुआमा नबुझ्ने अवस्था देखिएको छ।’ सामान्य असमझदारीमै परिवार छुट्टिएर बस्ने व्यवहारले ज्येष्ठ नागरिकले कठिनाइ भोग्नुपरेको छ।  

२०७८ को राष्ट्रिय जनगणनाअनुसार करिब ३३ लाख ज्येष्ठ नागरिक छन्। अध्यक्ष प्रधानका अनुसार वृद्धाश्रममा राखिएका कतिपय ज्येष्ठ नागरिकसँग नागरिकता नहुँदा राज्यबाट पाउने सुविधा पनि पाउन सकेका छैनन्। ‘परिवारभित्र ज्येष्ठ नागरिक अटाउनुपर्छ, परिवार भनेको श्रीमान्, श्रीमती, छोरा, छोरी मात्रै भन्नेजस्तो भयो’, उनले जोडे, ‘त्यो परिवारले आमाबुबा समेट्नुपर्छ, आमाबुबा पन्छाउने होइन, माया, सम्मान र उनीहरूको अनुभवबाट सिक्नुपर्‍यो।’

वि.सं २०५१ मा तत्कालीन प्रधानमन्त्री अधिकारीले एक सय रूपैयाँबाट सुरु गर्नुभएको वृद्धाभत्ता स्वास्थ्योपचार खर्चसहित अहिले चार हजार पुगेको छ। त्यसले ज्येष्ठ नागरिकलाई धेरै राहत पुगेको छ। नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ४१ मा ज्येष्ठ नागरिकको हकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने छ भनी व्यवस्था गरिएको छ। महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको कार्यकालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई पहिलो संशोधन गर्न बनेको ऐन २०७९ संसद्बाट पास भएको छ।  

यस ऐनअनुसारको नियमावली मन्त्रालयमा अन्तिम चरणमा पुगेको छ। स्थानीय तहले ज्येष्ठ नागरिकका परिवारका सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेमा र अलपत्र परेमा स्थानीय तहले हेरचाह केन्द्रमा राखी व्यवस्था गर्नुपर्ने छ। त्यस्तो अवस्थामा उनीहरूसँग भएको जायजेथा वा अंश भाग स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई ज्येष्ठ नागरिकका लागि परिचालन गर्ने छ भन्ने व्यवस्था गरेको छ। मन्त्री रेग्मीले आफन्तबाटै ज्येष्ठ नागरिक अपहेलित हुँदै गएकाले कानुनीरूपमै व्यवस्था गर्नुपरेको बताउनुभयो।

‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ आज देशभर ज्येष्ठ नागरिक दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघले अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव १९९० डिसेम्बर १४ मा पारित गरेर १९९१ को १ अक्टोबरदेखि यसका सदस्य राष्ट्र नेपाललगायतले विभिन्न कार्यक्रमका साथ मनाउन थालेपछि विश्वभर नै १ अक्टोबरलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइने गरिन्छ।

आजका दिनसम्म हामी प्रत्येक वर्ष ज्येष्ठ नागरिक दिवसलाई विभिन्न अन्तर्राष्ट्रिय र विश्व दिवसका नाममा मात्र सीमित रहेर मनाउँदै आइरहेका थियौं। गत वर्षदेखि नेपालले पनि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालेको हो।

नेपालका सन्दर्भमा २०६० सालदेखि ज्येष्ठ नागरिक सवाललाई वीजारोपण गर्ने र ज्येष्ठ नागरिकका हक अधिकारको संरक्षण र संवद्र्धनका लागि सरोकारवाला निकायसँग हातेमालो गर्ने कार्यमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले भूमिका खेल्दै आएको छ।

नेपालमा ज्येष्ठ नागरिकको हकहित, संरक्षण, संवद्र्धन र ज्येष्ठ नागरिकलाई प्राप्त अधिकारका विषयमा पैरबी गर्ने दिनका रूपमा राष्ट्रिय ज्येष्ठ नागरिक दिवसलाई चिनिने हुँदा ज्येष्ठ नागरिक स्वयंले आफ्नो विशेष दिन रहेकामा गौरवको अनुभूति गर्ने उद्देश्ले यो दिवस मनाउन थालिएको हो। ज्येष्ठ नागरिकबीच हुने भेटघाट, छलफल, बहस तथा अन्तक्र्रियाले ज्येष्ठ नागरिकका समस्या पहिचान गरी राज्यलाई नीति तथा कार्यक्रम तर्जुमा गर्नमा टेवा पुर्‍याउने छ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधान भन्छन्– जवानीमा पैसा कमाइञ्जेल सबैको प्यारो हुने तर उमेर ढल्किँदै, कमाउन नसक्ने हुँदै जाँदा सबैबाट हेलाँ सहनुपर्ने समस्या देखिएको छ। बाबुआमाले छोराछोरी नबुझ्ने र छोराबुहारीले बाबुआमा नबुझ्ने र सामान्य असमझदारीमै परिवार छुट्टिएर बस्ने व्यवहारले ज्येष्ठ नागरिकले कठिनाइ भोग्नुपरेको छ।

प्रकाशित: १२ पुस २०७९ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App