१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रेमको आडमा हिंसा!

पहिले प्रेम सम्बन्ध गाँस्ने, त्यही सम्बन्धको आडमा बिहेको प्रलोभनमा पारेर शारीरिक सम्बन्ध कायम गर्ने। त्यसपछि छुट्टिन अनेक बहाना बनाउने, त्यसैक्रममा युवतीलाई अनेकौं लाञ्छना, आरोप, लगाउँदै शारीरिक तथा मानसिक यातना दिने !

पछिल्लो समय यस्तै प्रकृतिका घटना नेपाली समाजमा बढ्दै गएका छन्। कतिपय घटना सार्वजनिक भएर चर्चाको शिखरमा छन्। जसले नेपाली न्याय प्रणालीलाई समेत चुनौती दिइरहेका छन्। कतिसम्म भने यस्ता घटनाका सन्दर्भमा भएका कतिपय न्यायिक निरूपणले राज्यको न्यायिक व्यवस्थालाई नै गिज्याइरहेको छ। राज्यका अभिभावक संस्था र न्यायालयका दलिन समेत प्रदूषित हुने स्थितिमा पुगेका छन्। यति हुँदा पनि राज्यको चेत खुलेको छैन।

केही प्रतिनिधि घटना

गत मंसिर १३ गते सेतो वस्त्र धारण गरेकी एक युवतीले सर्वोच्च अदालतको गेटमा रातो रङ घोलिएको तरल पदार्थ (रगतको प्रतीक) फ्याँकिन्। रङ फ्याँकिरहँदा उनी ‘न्यायको भिख’ माग्दै थिइन्। ती युवती थिइन्, सिरहाकी २७ वर्षीया बिनु यादव। प्रेम सम्बन्ध र त्यसपछिको विवाहका क्रममा भोगेका प्रताडनाको फेहरिस्त कथा छ, उनीसँग। उनको कथा सुन्दा हरकोहीको आँखामा भेल बग्न सक्छ। प्रेमी (विवाहपछिको पति) र उनको परिवारले आफूमाथि अनेकौं पटक हिंसा गरेको बिनुले बताउने गरेकी छन्।

न्यायका लागि प्रहरी, प्रशासन, न्यायालय, महिला अधिकारवादी संघसंस्था, महिला आयोगलगायत हरेक संघसंस्थाको दैलो उनले चहारिसकेकी छन्। तर न्याय हात लाग्ने छाँटकाँटसम्म छैन। उल्टै पति रामेछाप मन्थलीका प्रदीप कठायतले अपमानजनक ढंगले सम्बन्धविच्छेदको मुद्दा हालेर आफूलाई घर न घाटको पारिदिएको बिनुको आरोप छ। जसमा जिल्ला अदालतले मोहर पनि लगाइसकेको छ। ‘मैले निःस्वार्थ प्रेम गरेकी हुँ। त्यही प्रेम अभिशाप होला भन्ने सोचेकी पनि थिइनँ। त्यही प्रेमकै कारण बलात्कार प्रयास, बलात्कार, भ्रूणहत्या, शरीर बन्धक, शरीर र जिउज्यानको असुरक्षा हुनेगरी औषधिको प्रयोग, अनेकौं अनेक घरेलु हिंसा भएका छन्,’ बिनु भन्छिन्, ‘यति सब भइसकेपछि अपमानजनक ढंगले सम्बन्ध विच्छेदको मुद्दा हालियो। पुलिस, प्रशासन, न्यायालय र राज्य सबैबाट मलाई न्याय दिनुको सट्टा पीडक परिवारलाई नै संरक्षण गर्ने गतिविधि भइरहेका छन्।’

बिनुको जस्तै कथा महोत्तरी जलेश्वर नगरपालिका-८ की सोनालकुमारी सिंह (निहारिका राजपुत) को पनि छ। उनी पछिल्लो समय ‘कुमारी आमा’का नामले परिचित छिन्। निहारिकाले पनि राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि गत साउन २७ गते आत्मदाहको प्रयास गरेकी थिइन्। शरीरमा पेट्रोल छर्केर आगो लगाउन सलाई कोर्ने तयारी गर्दै गर्दा प्रहरीले उनलाई जोगाएको थियो।

निहारिका धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय शिवराज श्रेष्ठसँग प्रेम सम्बन्धमा थिइन्। त्यही प्रेम सम्बन्धको आडमा २०७६ कात्तिक ६ गते शिवराजले आफूलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको निहारिकाको आरोप छ। सोही क्रममा नग्न तस्बिर लिएको र त्यसमार्फत धम्क्याउने गरेको उनले बताउँदै आएकी छन्। बलात्कारपछि निहारिका गर्भवती भइन्। प्रेमीको गर्भ बसेपछि निहारिकाले गर्भपतन गर्न मानिनन्। बरु विवाह गर्न अड्डी कसिन्। तर शिवराजले उक्त गर्भ आफ्नो नरहेको भन्दै तिरस्कार गरे। गर्भपतन गर्न नमानेपछि निहारिकाको घरपरिवारले उनलाई घरबाट निकालिदिए। निहारिका घरविहीन बनिन्।

आफू तिरस्कृत भएपछि निहारिकाले २०७६ फागुन १९ गते शिवराजविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइन्। जिल्ला अदालत धनुषामा मुद्दा चल्यो। मुद्दाकै क्रममा २०७७ भदौ ५ गते निहारिकाले छोरा जन्माइन्। जुन अहिलेसम्म उनको साथमा छ। अदालतले लामो समय लगाएर २०७८ माघ २४ मा अन्तिम फैसला गर्‍यो। न्यायाधीश परशुराम भट्टराईको इजलासले गरेको फैसलाले निहारिका बलात्कृत नभएको भन्दै शिवराजलाई सफाइ दियो।

त्यसपछि निहारिका लगातार न्यायको भिख माग्दै संघर्ष गरिरहेकी छन्। निहारिकाले बलात्कारसँगै आफूले पाएको सन्तान शिवराजसँगको सम्बन्धबाट जन्मिएको बताउँदै आएकी छिन्। तर शिवराजले निहारिकामाथि लाञ्छना लगाएर त्यो सन्तान आफ्नो नभएको दाबी गर्दै आएका छन्। त्यही कारण निहारिकाले छोराको डिएनए परीक्षणका लागि माग गर्दै दुईपटक अनशन बस्नुपर्‍यो। निहारिकाले लगातार अनशन गर्न थालेपछि छोराको डिएनए परीक्षण भयो। जुन शिवराजसँग मिलेको छ। तर निहारिकाले चाहेको न्याय अहिलेसम्म पाएकी छैनन्। उनको न्यायको लडाइँ जारी छ।

यस्तै पछिल्लो समय सर्वाधिक चर्चा भएको अभिनेता पूर्णविक्रम शाह (पल शाह) को घटना पनि यही प्रकृतिको हो। शाहमाथि १७ वर्षीया नाबालिकाका बुवाले म्युजिक भिडिओ छायांकनका बेला विवाहको प्रलोभन देखाएर बारम्बार जबर्जस्ती करणी र दुव्र्यवहार गरेको आरोप लगाएका थिए।

स्वयं नाबालिकाले भने करणी भने नगरेको बयान दिएकी छिन्। यही घटनाका आधारमा शाहमाथि तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला अदालतमा मुद्दा चल्दा नवलपरासी जिल्ला अदालतले जबरजस्ती करणीमा सफाइ दिए पनि बाल यौन दुराचारको मुद्दामा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद र १० लाख रूपैयाँ पीडतलाई क्षतिपूर्तिको फैसला सुनाएको छ।

‘अन्याय नसहने’ जमात बढ्दो

प्रेम सम्बन्धका आडमा हुने यस्ता किसिमका अन्याय र हिंसाका घटना अहिले नै बढेका भने होइनन्। राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीको भनाइमा यस्तो प्रकृतिका हिंसा नेपाली समाजमा पहिलेदेखि हुँदै आएका थिए। ‘यस्ता प्रकृतिका हिंसाजन्य अपराध अहिले मात्रै भएका वा बढेका होइनन्,’ नागरिकसँग उनले भनिन्, ‘पुरुष प्रधान हाम्रो समाजमा यस्ता हिंसाका घटना पुरुषले पहिलेदेखि खुलमखुला गर्थे, महिला सहेरै बस्थे।’

तर घटना बाहिरिने र न्यायका लागि निहारिका एवं बिनुजस्तै लडाइँ लड्ने स्थिति सिर्जना भएको भने शिक्षाको विकासले सम्भव भएको अन्सारीको दाबी छ। उनी भन्छिन्, ‘अहिले समाजमा शिक्षित महिलाको उपस्थिति बढेको छ। शिक्षितले आफूमाथि अन्याय भएको सहजै महसुस गर्छन्। शिक्षित महिलाले न्यायको आवाज उठाउन थालेपछि यस्ता घटना बाहिर आएर बढेको देखिएका हुन्।’

अन्सारीले भनेजस्तै अहिले महिलामा अन्याय नसहने प्रवृत्ति बढेको पाइन्छ। जसले हिंसाविरुद्ध आवाज उठाउँदै सामाजिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्नसक्ने गरी महिला अघि बढ्ने स्थिति सिर्जना भएको अन्सारी बताउँछिन्।

न्यायमा कठिनाइ

प्रेमको आडमा हुने हिंसापीडित महिलाको न्यायिक लडाइँमा भने अनेक व्यवधान देखिएका छन्। यसको ज्वलन्त उदाहरण निहारिका र बिनु यादव हुन्। उपयुक्त कानुनी व्यवस्था नहुँदा पीडित ‘जबरजस्ती करणी’ मुद्दामा कानुनी उपचार खोज्न बाध्य छन्। जसमा न्यायिक निर्णय गर्दा ‘सहमति’ मा भएको भन्दै दोषी सहजै उम्कने अवस्था छ। तर त्यही फैसलाको आडमा पीडितले झन् पीडा भोगिरहेका छन्।

‘यस्ता मुद्दामा अदालतले सिधा रेखाबाट हेर्ने गरेको पाइन्छ। सहमतिमा सम्बन्ध कायम भएको भन्दै अदालतले पनि हिंसाको स्वरूपमा हेर्दैन। वास्तविकतामा महिलामाथि ठूलै हिंसा भएको हुन्छ,’ मानवअधिकारकर्मी अन्सारी भन्छिन्, ‘यसकारण अदालतले पनि अब आफ्नो परम्परागत निर्णय प्रणाली फेर्नुपर्छ। जसले गर्दा विनु यादवजस्ता मानिस अदालतमा विष पिउन बाध्य नहोऊन् ।’ न्यायालयमा बस्ने मानिस निर्जीव होइनन् भन्ने कुरा स्थापित गर्न र न्यायालयप्रति विश्वास कायम गर्न पनि यस्ता मुद्दामा ध्यान दिनुपर्ने उनी बताउँछिन्। यस्ता मुद्दामा हदम्याद, प्रहरी अनुसन्धान विधि, प्रहरीको साक्षी खोज्ने प्रणालीसमेत परिवर्तन हुनुपर्ने अन्सारीको बुझाइ छ।  

प्रकाशित: ११ पुस २०७९ ००:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App