९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।

भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए। सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका स्व.बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षामन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत भएका थिए।

उनी नेपाल बार एशोसिएशनको संस्थापक सदस्य पनि भए। सत्तरी वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवा मार्फत आकाश यात्रामा जोडेका थिए। स्व.बस्नेतका दुई छोरा र एक छोरी छन्। जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरको प्रबन्ध निर्देशक छन्। बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुला समेत गरेका थिए।

‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाएको बाटालाई बुद्धएयरकर्मीले सधैं अनुशरण गरी अगाडि बढ्नेछौं, हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन’, बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ। रासस

प्रकाशित: १० पुस २०७९ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App