१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भन्सार कार्यालयकै सेटिङमा हुन्छ 'तस्करी'

नेपाल भारत सीमा वारपार हुने तस्करीमा भन्सार कार्यालय नै संलग्न रहेको देखिएको छ।

पछिल्लो समयमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय भएपछि भन्सार कार्यालयकै मिलेमतोमा तस्करी हुन थालेको देखिएको हो।

गौर भन्सार नाका भएर दिउँसै लाखौँ बराबरको सामान भन्सार नतिरी बाहिरिएपछि गौर भन्सारको सेटिङमै तस्करी भइरहेको रहस्योद्घाटन भएको हो। 

भारतको बैरगनियाबाट सामान सहित आएको एक सवारी साधन भन्सार कार्यालयकै चेकजाँच पछि बाहिरिएको थियो। भन्सार कार्यालयमा सामानसहित आइपुगेको सो सवारी साधन भन्सार नतिरी सोझै भन्सार कार्यालयबाट गौर बजारमा प्रवेश गरेको हो। भन्सारमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सो सवारी साधन बारे सोधपुछ गरेको थिएनन्।

जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चन्द्रपुर नगरपालिका ६ तल्लो बजारस्थित भित्री सडक खण्डमा भारतबाट भन्सार छली गरेर नेपालतर्फ ल्याएको लाखौँ रुपैयाँ बराबरको कपडा बरामद गरेका छन्।

प्रहरीले करिब दश लाख मूल्य बराबरको कपडा बरामद गरेको हो। उलन कुर्ता, जेन्स कुर्ता, सुरुवाल तथा लहङ्गा लगायतका तयारी पोसाक गरी करिब ९ लाख ९७ हजार ८५० रुपैयाँ मूल्य बराबरको कपडा प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकृत डिएसपी उमाशंकर प्रसाद यादवले बताएका छन्। गत बिहीबार दिउँसै भन्सार कार्यालयबाट सामानसहितको गाडी भन्सार कार्यालयकै सेटिङमा बाहिरिएको देखिन्छ।

भन्सारका कर्मचारीहरूको सेटिङमै सीमा वारपार तस्करी मौलाएपछि लक्ष्यभन्दा निकै कम भन्सार राजस्व संकलन भइरहेको छ। गत पाँच महिनामा गौर भन्सार कार्यालयले लक्ष्यको आधाभन्दा केही बढी मात्र भन्सार असुल गरेको छ।

भारतबाट आउने सामानको तस्करी गराई भन्सार कर्मचारीहरू मोटो रकम कमाउन थालेपछि भन्सार राजस्व सुक्दै गएको जानकारहरू बताउँछन्।

प्रकाशित: ९ पुस २०७९ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App