नेपालगन्ज- राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिक्टा सिँचाइ आयोजनालाई सरकारले हरेक वर्ष बजेट दिए पनि प्रभावकारी अनुगमन नगर्दा कमजोर संरचना निर्माण भएको पाइएको छ। नियामक निकाय चुस्त नहुँदा ठेकेदार कम्पनीले पेट्टी–ठेक्का प्रणालीमार्फत् आफूखुसी आयोजनाको संरचना निर्माण कार्य गर्दै आएकाले समस्या देखिएको हो।
कमजोर संरचना बनाएकै कारण बाँके, महादेवपुरी–५ ढकेरीमा आयोजनाको दायाँ मूल नहर भत्किएको सम्बद्ध पक्षको भनाइ छ। ‘संरचना बलियो नबनेकाले परीक्षणमै नहर भत्कियो,’ जिल्ला प्राविधिक कार्यालय, बाँकेका एक इन्जिनियरले भने, ‘यसले गर्दा मूल नहर नै कमजोर भएको पुष्टि भयो। यसमा अरु धेरै कमजोरी पनि लुकेका हुन सक्छन्।’ यसबारे छानबिन गर्नु जरुरी भएको उनको भनाइ छ।
माटो पटान गरिएको ठाउँमा निर्मित नहरमा कमजोर निर्माण सामग्री प्रयोग भएको हुनसक्ने उनको आशंका छ। त्यसो त निर्माण कार्यमा सहजीकरणका लागि आयोजनाले थुप्रै परामर्शदाता कम्पनी खटाउँदै आएको छ। यसबीच, थुप्रै परामर्शदाता कम्पनी परिचालित भइसकेका छन्। तर, ती कम्पनीले काममा चित्त नबुझे पनि ठेकेदारलाई ट्र्याकमा ल्याउन सक्दैनन्। इआरएमसी इटिको जेबी जोइन्ट भेन्चर परामर्शदाता कम्पनीका एक इन्जिनियरले भने, ‘आयोजनाले हामीभन्दा बढी विश्वास ठेकेदारको लिने चलन छ, ठेकेदारलाई सही बाटोमा ल्याउन हाम्रो खासै भूमिका रहन्न।’ इआरएमसीले यसअघि सिक्टा सिँचाइ आयोजनामा काम गरिसकेको छ।
आयोजना कार्यालयले मूल नहर परीक्षण गर्दा भत्किनु र अन्य कमीकमजोरी देखिनुलाई स्वाभाविक रूपमा लिएको छ। आयोजनाका निर्देशक सरोज पण्डितले हस्तान्तरण नहँुदै मूल नहरमा क्षति पुगेकाले यसको पुनर्निर्माण ठेकेदारले नै गर्ने बताए। ‘यति धेरै काम गर्दा केही न केही कमजोरी आउन सक्छ, हस्तान्तरण नहुँदै कमजोरी फेला परिहाले पनि ठेकेदारले नै बेहोर्ने हो,’ उनले भने।
आयोजनाले सम्पन्न गर्ने कूल ४५ किमी मूल नहरमध्ये ३५ किमी खण्ड गत वर्ष सम्पन्न भएको थियो। आयोजना कार्यालयका अनुसार मूल बाँधदेखि १७.७ किमी खण्ड निर्माण कार्य सिटिसी कालिका जेबी, भैरव, तामाङ रसुवा जेबी, सिद्धिसाई जेबीसहित चार ठेकेदार कम्पनीले गरेका थिए। उक्त क्षेत्र दुई वर्षअघि नै हस्तान्तरण भइसकेको छ। निर्माण सम्पन्न भएको मूलनहर १७.७ किमिदेखि ३५ किमि खण्ड निर्माण गर्ने जिम्मा भने ‘कालिका सिटिसिई जेबी’ले पाएको थियो।
कालिका सिटिसिई जेबीले निर्माण गरेको महादेवपुरीस्थित ढकेरी (२६ किमी) क्षेत्रमा मंगलबार परीक्षण क्रममा मूलनहर भत्किएको हो। ‘कालिकाले हामीलाई हस्तान्तरण गर्नुअघि नहर परीक्षण गर्न खोज्दा भत्कियो,’ पण्डितले भने, ‘शमशेरगन्जको परुवा खोलामा पानी डाइभर्ट गर्यौं, नत्र अझ धेरै क्षति हुन्थ्यो।’ आयोजनाले नहर परीक्षण गर्दा जिल्लाका निकायसँग समेत समन्वय गरेको पाइएन। स्थानीय प्रशासनसँग समन्वय नै नगरेर आयोजनाले नहर परीक्षण गरी त्यहाँको पानी कोहलपुरस्थित डुडुवा खोलामा खसाल्यो। तर, बीचभागमै नहर भत्किएपछि डुडुवा खोलासम्म पर्याप्त मात्रामा पानी आउन सकेन। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नहरबाट खोलामा पानी छाड्दा आयोजना कार्यालयले समन्वय नगरेको बताए। ‘डुडुवा खोलाको अवस्था नबुझेरै नहरको पानी खसाल्दा कटान र मानवीय क्षति हुनसक्थ्यो,’ उनले भने, ‘बीचमा नहर फुटेकाले पूरै पानी खोलामा आउन सकेन र क्षति पनि भएन।’
परीक्षणमै मूल नहर कसरी भत्कियो भन्नेमा आयोजनाका कर्मचारी यतिखेर अन्योलमा छन्। आयोजना इन्जिनियर प्रकाश कार्कीका अनुसार मूल नहरको चौडाइ साढे २० मिटर र सतह साढे ८ मिटर छ। मूल नहरको प्रत्येक ठाउँमा साढे ७ मिटरका स्लोप निर्माण गरिएको छ। ‘स्लोपको ज्वाइन्टबाट पानी लिक भएर नहर संरचना भत्किएको हो,’ कार्कीले भने, ‘यो ठाउँबाट पानी निस्कने स्थिति कसरी आयो, त्यो त विस्तृत अध्ययनपछि पत्ता लाग्ला।’
मूल नहरको स्लोप ४ इन्च बाक्लो छ। यसमा ७ एमएम साइजको सरिया २० सेमीको फरकमा राखिएको उनले जानकारी दिए। ‘नहरको पानी कतै नचुहियोस् भनेर स्लोप निर्माण गरिन्छ, तर यहाँ स्लोपबाटै पानी चुहिएर क्षति पुर्यायो,’ कार्कीले थपे। ठेकेदारले ल्याब नै राखेर सिमेन्ट, बालुवा र गिटीको गुणस्तर कायम गरेकाले यसमा शंका नरहेको जिकिर गरे।
मूल नहरमा प्रतिसेकेन्ड ५० क्युमेक्स पानी बग्न सक्ने क्षमता छ। परीक्षण गर्दा १८ देखि ४५ क्युमेक्स हाराहारी पानी छाडिएको ठेकेदारले जनाएका छन्। मूल नहर निर्माण जिम्मा लिएको ‘कालिका सिटिसिई जेबी’ कम्पनीका साइट इन्जिनियर गोविन्द भुसालले परीक्षण गर्ने क्रममा सामान्य त्रुटिले नहर भत्किएको स्वीकार गर्दै कम्पनीले नै पुनर्निर्माण गर्ने बताए। ‘पानी रसाएको ठाउँ पहिचान गर्न एक्जाभेटर प्रयोग गर्दा झनै क्षति भयो,’ उनले भने।
२०६३ सालबाट निर्माण सुरु भएको आयोजनाको बाँध र मूल नहरको ३५ किलोमिटर खण्डको काम सम्पन्न हुँदासम्म साढे १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। आगामी आर्थिक वर्ष २०७३/७४ का लागि सिक्टा आयोजनालाई सरकारले थप १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिसकेको छ। अहिलेसम्म आयोजनाको कूल निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाको सम्पूर्ण काम आगामी आर्थिक वर्ष २०७६/७७ सम्म सम्पन्न हुने र लागत खर्च झन्डै २५ अर्ब पुग्ने अनुमान छ।
आयोजना सञ्चालनमा नआउँदै नहर भत्किएपछि जिल्लाका किसान चिन्तित छन्। राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगीले कमजोर संरचना बनेर नहर भत्किएको हुनसक्ने बताउँदै छानबिन गरेर सत्यतथ्य जनतालाई जानकारी गराउन माग गरे। ‘प्राविधिक कुरा हामीलाई थाहा छैन, सरकारको त्यत्रो पैसा खर्च गरेर बनाएको नहर परीक्षणमै कसरी भत्कियो, यसको छानबिन हुनुपर्छ,’ डाँगीले भने। आयोजनाबाट बाँकेको ४२ हजार हेक्टर क्षेत्रफल सिँचाइ गर्ने लक्ष्य लिइएको छ।
चालु वर्ष २०७२/७३ देखि मूल नहरको बाँकी १० किमी निर्माणको जिम्मा पनि कालिका सिटिसिई जेबीले नै पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद विक्रम पाण्डेको स्वामित्व रहेको कालिका कन्स्ट्रक्सनले सिक्टा सिँचाइको ठेक्कामा एकाधिकार जमाएको छ। सिक्टा सिँचाइ आयोजनाको काम बाँकेमा सुरु भएपछि कालिका कन्स्ट्रक्सनले मूल नहर निर्माणको ठेक्का लिँदै अवैध रूपमा ढुंगा र बालुवा उत्खनन गर्दै आएको स्थानीयको भनाइ छ। सिक्टा सिँचाइको आडमा बाँकेको मुगुवा खोलामा अवैध रूपमा क्रसर उद्योग राखी निर्माण सामग्री अन्यत्रै बिक्री गर्ने गरेको आरोप स्थानीयले लगाउँदै आएका छन्। चौतर्फी दबाबले केही समय क्रसर बन्द गरेको कालिकालाई सरकारले पुनः सञ्चालन गर्ने अनुमति दिएको छ।
प्रकाशित: १६ असार २०७३ ०२:०६ बिहीबार