प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गोरखामा ५१ दशमलव ८१ प्रतिशत मात्र मात्रै खस्यो। २०७४ मा भन्दा अहिले ३१ हजार १ सय ८९ मतदाता गोरखामा थपिए तर मत भने १३ दशमलव ४९ प्रतिशतले कम खसेको छ।
दुई प्रतिनिधि र चार प्रदेश क्षेत्र रहेको २०७४ मा १ लाख ८९ हजार ४ सय ४८ मतदाता थिए। त्यतिबेला १ लाख २३ हजार ७ सय १९ मत खसेको थियो। यो कुल मतको ६५ दशमलव ३ प्रतिशत हो।
अहिले मतदाताको संख्या २ लाख २० हजार ६ सय ३७ पुगेको बेला मत १ लाख १४ हजार ३ सय २६ मत मात्रै खसेको छ। ९ हजार ३ सय ९३ मत गत निर्वाचनमा भन्दा अहिले कम खसेको हो। मतदाता थपिने तर मत घट्ने भएको छ। यो संख्याले मतदाता अहिलेको निर्वाचनमा उत्साहित देखिएनन्। दुईवटै प्रतिनिधि र चारवटै प्रदेश क्षेत्रमा २०७४ को निर्वाचनमा भन्दा कम मत खसेको छ। ९८ हजार ६ सय २२ मतदाता हुँदा ६३ हजार ६ सय ४ मत खसेको गोरखा १ मा अहिले १ लाख १५ हजार ३ सय ९७ मतदाता हुँदा ६० हजार २ सय २८ मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद सापकोटाले बताए। गोरखा १ मा करिब ५२ प्रतिशत मत मात्रै खस्यो। ४८ प्रतिशत मतदाता चुनावमा सहभागी नै भएनन्।
गोरखा २ मा ९० हजार ८ सय २६ मतदाता रहँदा २०७४ मा ६० हजार १ सय १५ मत खसेको थियो। अहिले १ लाख ५ हजार २ सय ४० मतदाता भएको ठाउँमा ५४ हजार ४४ मत मात्रै खसेको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए। अहिले करिब ५१ प्रतिशत मात्रै मत खस्यो। ४९ प्रतिशत मतदाताले मतदातमा सहभागिता जनाएनन्। दुवै निर्वाचन क्षेत्रमा अनुपस्थित मतदाता संख्या उस्तै छ।
प्रदेशसभामा पनि विगतमा भन्दा अहिले मतदाता कम देखिए। गोरखा १ प्रदेश क्षेत्र (क) मा ५२ हजार २ सय ६४ मतदाता रहेकामा ३२ हजार ४ सय ८४ मत खसेको थियो। अहिले मतदाता ६० हजार ७ सय ४४ पुग्दा ३० हजार ४ सय ९४ मत मात्रै खस्यो।
गोरखा १ प्रदेशसभा (ख) मा ४६ हजार ३ सय ५८ बाट बढेर अहिले मतदाता संख्या ५४ हजार ६ सय ५३ पुगेको छ। पहिले ३१ हजार ५१ मत खसेको यस क्षेत्रमा अहिले २९ हजार ६ सय ४९ मत मात्रै खस्यो। गोरखा २ प्रदेश (क) मा ४३ हजार ५ सय ७५ मतदाता थपिएर अहिले ५० हजार ३ सय ७६ पुगे। तर मत पहिलेभन्दा अहिले २६ सय २८ मत कम खस्यो। अहिले २६ हजार ४ सय ९८ मत खसेको यहाँ पहिले २९ हजार १ सय २६ मत खसेको थियो।
गोरखा २ प्रदेश सभा ‘ख’ मा ७ हजार ६ सय १३ जना मतदाता थपिए। तर मत भने पहिलेभन्दा ६ हजार ८ सय १७ कम खस्यो। २०७४ मा ४७ हजार २ सय ५१ मतदाता रहेको यस क्षेत्रमा अहिले ५४ हजार ८ सय ६४ जना मतदाता छन्। पहिले ३० हजार ९ सय ६० मत खसेको थियो भने अहिले २४ हजार १ सय ४३ मत मात्रै खस्यो।
विगतका निर्वाचनमा भन्दा अहिले मत कम खसेको र मतदाता निष्क्रिय देखिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइराला बताउँछन्। ‘२०७४ को निर्वाचन, स्थानीय तहमा भन्दा अहिले मत कम खसेको छ,’ उनले भने, ‘निर्वाचन आयोग र कार्यालयले मतदाता शिक्षा व्यापक बनाएकै हो तर किन कम खस्यो भन्ने अध्ययनको विषय बनेको छ।’
पालिका, वडास्तरमा मतदाता शिक्षा सञ्चालन गरिएको, सामाजिक सञ्जाल, सञ्चार माध्याम, मोबाइलको ‘रिङ ब्याकटोन’मार्फत पनि मतदाता शिक्षा दिइएको साथै प्रचारप्रसारमा कुनै कमी नगरेको उनी बताउँछन्। ‘शिक्षित जनसंख्याभन्दा भोट कम खसेको छ,’ जिल्ला निर्वाचन अधिकारी कोइरालाले भने, ‘नजानेर वा शिक्षा नपाएर भन्दा पनि मतदाता मत खसाउनै गएनन् भन्ने सुनिन्छ।’ निर्वाचन शान्तिपूर्ण भएको, सहज वातावरणमा भोट खसाल्ने परिस्थिति हुँदाहुँदै पनि मतदातामा उत्साह नदेखिएको विषयलाई आयोग र कार्यालयले गम्भीर रूपमा लिनुपर्ने उनी बताउँछन्।
पर्यवेक्षकको रूपमा लामो समयदेखि गोरखामा निर्वाचन अवलोकन गर्दै आएका अधिवक्ता रमेश अधिकारी मतदाता कम सहभागी हुनुमा राजनीतिक दलप्रति जनताको वितृष्णा पैदा हुनु मुख्य कारण रहेको बताउँछन्। ‘एकतर्फ वितृष्णा पैदा हुनु र अर्को मुख्य कारण चुनावमा गठबन्धन गरेर निर्वाचन लड्ने परिपाटीको विकास भयो, यसले मतदाता उत्साहित देखिएनन्।’ गठबन्धन भएपछि जुन चुनाव चिह्नमा जुन पार्टीलाई भोट हाल्नुपर्ने हो, त्योअनुसार भोट हाल्न नपाउँदा मतदातालाई अपनत्व र उत्साह नभएको हुनसक्ने उनले बताए।
प्रकाशित: ११ मंसिर २०७९ ०१:१९ आइतबार