१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

मतदानका लागि गाउँ फर्किनेहरु भन्छन्ः युवालाई नेतृत्वमा ल्याउनुपर्छ

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल तीब्र बनेको छ।

भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौँबाट अन्य जिल्ला बाहिरिने नाकाहरु कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल तीब्र बनेको हो। मंसिर ४ गते आइतबार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज शनिबार काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ।  

काठमाडौँको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्किन लागेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले आफूले गरेका प्रतिवद्धता पूरा नगरेको र विकासका कामहरु पनि गर्न नसकेको बताए। उनीहरुले देश विकासका लागि भन्दा आफ्ना आफन्तहरुको भरपोषण मात्रै गरेको उनीहरुको गुनासो छ। धादिङका बासिन्दा लालबहादुर लामा भोट हाल्नको जिल्ला जाने तरखरमा शनिबार बिहानै कोटेश्वरमा गाडी कुरिरहेका थिए। उनले नेताहरुले निर्वाचनका लागि जनतालाई प्रलोभनमा पार्ने तर समग्र देशको विकास गर्न नसकेको बताए।  

त्यस्तै काभ्रेपलाञ्चोकका विजय क्षेत्री अबको निर्वाचनमा सक्षम युवाहरुलाई देश विकासको अवसर दिनुपर्ने बताउँछन्। अहिलेका राजनीतिक दल र नेताहरुको काम नगर्ने शैलीप्रति असन्तुष्ट उनले युवाहरुमा नै अब देश विकासको आशा रहेको बताए। त्यस्तै रामेछाप मतदानका लागि जान लाग्नुभएका रामजी खड्का विकास गर्न सक्षम युवाहरुलाई जिताउन आवश्यक रहेको बताए। उनी पनि अहिलेको राजनीतिक दल र नेताहरुप्रति असन्तुष्ट नै छन्।  

त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका गौरीशंकर गौतमको भनाइ पनि युवाहरुको भन्दा फरक छैन। उमेरले ७० नाघिसकेका उनी युवाहरुले मात्रै अब देश विकास गर्नसक्ने बताउँछन्। नेतृत्व गर्ने ठाउँमा युवाहरु गए मात्रै देशले विकास पाउनसक्ने उनको भनाइ थियो। शनिबार बिहान कोटेश्वर क्षेत्रमा न्युज एजेन्सी नेपालको टिम पुग्दा उल्लेख्य मात्रामा मानिसहरु मतदानका लागि गाउँ फर्किने तयारीमा गाडी कुरिरहेका थिए। केही राजनीतिक दलका नेताहरुले पठाएको सवारीसाधनमा गाउँ जान लाग्दै थिए भने कोही आफ्नै खर्चमा मौलिक अधिकार मतदानका लागि गाउँ फर्किने तयारीमा देखिन्थे।  

अधिकांश जनताहरुले यसपटक विकासका कामलाई अघि बढाउनसक्ने नेतृत्वको खोजि गरेका छन्। आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरु अघि बढाउन आग्रह समेत गरेका छन्।

प्रकाशित: ३ मंसिर २०७९ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App