राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ओली सरकारका विवादित मन्त्रीतर्फ सङ्केत गर्दे तिखो व्यङ्ग कसेका छन्। शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले 'भ्रष्टचारीको मुख पनि हेर्दिनँ' भनेको कुरा स्मरण गराउँदै 'मन्त्रिपरिषद्को बैठकमा उल्टो फर्केर बस्नुभयो कि कसो ?' भनेर भनेका छन्।
'भ्रष्टाचारीको मुख पनि हेर्दैन भन्थे प्रधानमन्त्रीज्यूले,' शाहीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीज्यू उल्टो फर्केर बस्नुभयो कि क्या हो ?’
हालै सार्वजनिक भएको अडियोमा ओली सरकारका दुई मन्त्री विवादमा मुछिएपछि उनले यस्तो व्यङ्ग गरेका हुन्। दुईमध्ये एक सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गत मङ्गलबार राजीनामा दिइसकेका छन्।
उनले सोमबारको मन्त्रिपरिषद्को बैठकमा भने सहभागिता जनाएका थिए। त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि ३२ लाख लिएको अडिओ सार्वजनिक भएको छ।
‘सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन प्रयास गरेको केपी ओली सरकारले फोनमा प्रतिबन्ध लगाउनु पर्यो। मन्त्रीहरूको भ्रष्टाचारको डिल बाहिर आउन थाल्यो,' शाहीले थप व्यङ्ग्य कसेका छन्।
प्रकाशित: १ श्रावण २०८२ ०८:२० बिहीबार





