७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

रविको उम्मेदवारीमाथि कानुनी प्रश्न

पुरानो नागरिकता त्यागेको नयाँ नलिएको खुलासा

फाइल तस्बिर।

अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकका रूपमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रवि लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता नलिएपछि उनको उम्मेदवारीबारे कानुनी प्रश्न उठेको छ। विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता ब्युँताउने प्रक्रिया सुरु गरे पनि उनले २०६३ को नागरिकता नियमावलीअनुसार नयाँ नागरिकता नलिएका कारण कानुनी प्रश्न उठेको हो।

रवि लामिछानेले नयाँ नागरिकता नलिएको विषयमा ‘उकेरा डटकम’ले समाचार प्रकाशित गरेपछि यस विषयमा बहस प्रारम्भ भएको थियो। नागरिकता नियमावली २०६३ अनुसार खारेज भइसकेको नागरिकता ब्युँताउन सम्बन्धित सरकारी कार्यालयमा निवेदन दिएर नयाँ नागरिकता निकाल्न अपनाउनुपर्ने कानुनी प्रक्रिया पूरा नगरेपछि उनी वैधानिक रूपमा नेपाली नागरिक नभएका हुन्। अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता खारेज भएको थियो। लामिछानेले २०५० सालमा लिएको तर खारेज भइसकेको नागरिकता प्रयोग गरेपछि उनीमाथि कानुनी प्रश्न उठेको थियो। 

उनले नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकको हैसियत खारेज गर्न निवेदन दिएको र त्यसैका आधारमा आफ्नो नेपाली नागरिकता ब्युँताउन अध्यागमन विभागमा निवेदन दिएको भए पनि उनले पहिले लिएको नागरिकता नै प्रयोग गरेको पाइएको छ। उम्मेदवारी दर्तामा लामिछानेले पुरानो नागरिकताको प्रतिलिपि पेस गरेपछि उनले नयाँ नागरिकता लिएको प्रमाण पेस गर्न सकेका छैनन्। सो प्रकरण सञ्चारमाध्यममा विवादमा आएपछि उनले सामाजिक सञ्जालमा एउटा नेपालीले नागरिकताका बारेमा कहिलेसम्म जवाफ दिनुपर्ने भन्दै प्रश्न गरेका छन्। तर उनले आफूले नयाँ नागरिकता लिएको विषयमा भने केही बताएका छैनन्। ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोगपत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेसमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरिकताको विषयसमेतमा विवेचना भई सेटल भइसकेपछि फेरि कतिपटक स्पष्टीकरण दिनुपर्ने हो ?’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले नयाँ नागरिकता लिएको वा नलिएको विषयमा निर्वाचन आयोगले छानबिन गरिरहेको जनाएको छ। आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले रविको नागरिकताबारे आयोगमा छलफल चलिरहेको तर निर्णय भइनसकेको बताए। ‘आयोगले यसबारे कुनै निर्णय भइसकेको छैन,’ सूचना अधिकारी अर्यालले भने। लामिछानेले अमेरिकी दूतावासमार्फत अमेरिकी नागरिकता त्यागेको जनाएका थिए। उनले नागरिकता खारेज गर्न निवेदन दिएको र त्यसैका आधारमा आफ्नो नेपाली नागरिकता ब्युँताउन अध्यागमन विभागमा निवेदन दिएका थिए। त्यही निवेदनका आधारमा नागरिकता ऐनअनुसार उनले सो निवेदन दिएपछि विदेशी नागरिकका रूपमा खारेज भएको थियो। २०५० मा काठमाडौं महानगरपालिका ६ बाट निकालेको नागरिकता ब्युँतिने प्रक्रिया सुरु भए पनि उनले कानुनअनुसार पूरा गर्नुपर्ने प्रक्रिया भने पूरा नगरेपछि अहिले कानुनी प्रश्न उठेको हो।

निवेदनका आधारमा मात्र खारेज भएको नागरिकता ब्युँतिने नभएकाले पहिला नागरिकता लिएकै कार्यालयबाट नयाँ नागरिकता लिएपछि मात्रै उनी नेपाली नागरिक हुनेछन्। नागरिकता नियमावली २०६३ अनुसार खारेज भएको नागरिकता ब्युँताउन उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर नयाँ प्रमाणपत्र निकाल्नुपर्ने थियो तर उनले नयाँ प्रमाणपत्र निकालेको रेकर्ड काठमाडौं जिल्ला प्रशासन कार्यालयमा नभएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ। नेपाल स्वतन्त्र पार्टीका प्रवक्ता प्रवक्ता गणेश कार्कीका अनुसार सबै प्रक्रिया मिलाएर नागरिकता लिएका कारण कुनै समस्या लामिछानेलाई कुनै समस्या छैन। ‘चुनावका बेला यस्ता विषयहरू आउँछन्। उहाँले सबै कानुनी प्रक्रिया पूरा गर्नुभएका कारण कुनै समस्या छैन तर उहाँले पछि नागरिकता लिएनलिएको विषयमा भने मलाई थाहा छैन,’ प्रवक्ता कार्कीले भने।

पुनः नागरिकता लिने प्रावधान

नागरिकतासम्बन्धी ऐन २०६३ र नागरिकता नियमावलीअनुसारको कानुनी प्रक्रिया पूरा गरेर खारेज भइसकेको नागरिकताको प्रमाणपत्र नब्युँताएसम्म सो व्यक्ति अनागरिक हुनेछ। पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधि (१) ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नागकिता प्राप्त गर्न चाहे विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाण प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। कार्यविधि २ अनुसार उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची १२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम (८) बमोजिमको अधिकारीले साबिककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ। तर लामिछाने यी दुवै प्रक्रिया पूरा नगरी दल दर्ता गरेर निर्वाचनमा होमिएका छन्।

लामिछानेले अमेरिका बसाइमा अमेरिकी नागरिकको कानुनी हैसियत लिएको स्वीकार गरेको अवस्था छ। चार वर्षअघि अमेरिकी नागरिकता लिएको विषयमा उनले लामो स्पष्टीकरण दिएका थिए। त्यतिबेला अमेरिकी नागरिकता त्यागेको पनि उनैले स्वीकार गरिसकेका छन्। नेपालमा दोहोरो नागरिकता लिनु गैरकानुनी भए पनि टेलिभिजन सञ्चालकका रूपमा उनले पाएको समर्थकका आडमा उनी कारबाही प्रक्रियाबाट जोगिएका थिए।

यसैबीच निर्वाचन आयोगले सुनसरी २ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज भएको छ। मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको पाइएपछि प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७३ को दफा १३ को खण्ड (च) बमोजिम आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको हो।

प्रकाशित: १ मंसिर २०७९ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App