१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

डलर खर्चिएर फेसबुकमार्फत मत माग्दै उम्मेदवार र दलहरू

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले प्रचारप्रसारलाई तीब्र बनाइरहेका छन्। निर्वाचनलाई लक्षित गरेर उनीहरू आमसभा, भोजभतेर, घरदैलोदेखि सामाजिक सञ्जालमार्फत सक्रियता बढाइरहेका छन्।  

मतदातालाई प्रभावित पार्न राजनीतिक दल र उम्मेदवारहरूले पछिल्लो ३० दिनमा सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन गर्न ७३ हजार २ सय ९४ सय अमेरिकी डलर खर्च गरेका छन्। सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम र ह्वाट्सएपको प्लाटफर्ममा विज्ञापन गर्ने मेटा एड लाइब्रेरीको रिर्पोटअनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर १२सम्म नेपालमा निर्वाचन वा राजनीति र सामाजिक मुद्दासम्बन्धी ५ हजार ९ सय २९ वटा विज्ञापन फेसबुकमार्फत बुस्ट गरिएका छन्। यसमा व्यावसायिक र शैक्षिक गतिविधिसम्बन्धी प्रयोजनका लागि गरिएका विज्ञापन समावेश भएका छैनन्।  

नौ सयभन्दा बढी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारदेखि अभियन्ता र गैरसरकारी संघलगायतले नेपालको विभिन्न भागमा लक्षित गरेर निर्वाचन वा राजनीतिबारे र सामाजिक मुद्दासम्बन्धी विज्ञापनहरू बुस्ट गरेको रिर्पोटमा उल्लेख गरिएको छ। मेटाले गत अक्टोबर १४ देखि नोभेम्बर १२ सम्मको तथ्यांकअनुसार काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार श्री गुरुङले निर्वाचनलाई लक्षित गरी सबैभन्दा बढी १७ वटा विज्ञापन फेसबुकमा बुस्ट गर्न ३ हजार ३ सय ९६ अमेरिकी डलर खर्च गरेका छन्। सो अवधिमा मतदातालाई प्रभावित पार्ने विज्ञापन फेसबुकमा बुस्ट गर्न उम्मेदवार र राजनीतिक दलको संख्या धेरै रहेको छ। भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार डा. सुरेश बस्नेतले मतदातालाई प्रभावित गर्न सो अवधिमा १ हजार ९ सय ८८ अमेरिकी डलरको १२ वटा विज्ञापन, काठमाडौं १ बाट एमाले उम्मेदवार किरण पौडेलले १ हजार ४ सय ५ अमेरिकी डलरको ४५ वटा विज्ञापन र काठमाडौं ५ का उम्मेदवार सुशान्त श्रेष्ठले एक हजार ३९४ अमेरिकी डलरको ३६ वटा विज्ञापन फेसबुकमा बुस्ट गरेका छन्। त्यस्तै जगन्नाथ लामिछानेले एक हजार २० अमेरिकी डलरको १३ वटा, प्रदीप पौडेलले ९ं सय ६० अमेरिकी डलरको २२ वटा, सोमप्रसाद पाण्डेले नौं सय ५१ अमेरिकी डलरको १२ वटा, गणेश पराजुलीले ९ सय ४१ अमेरिकी डलरको २९ वटा, इस्तियाक राईले ७ सय ५३ अमेरिकी डलरको ५७ वटा, उपेन्द्र यादवले ७ सय ४३ अमेरिकी डलरको २२ वटा र रञ्जु दर्शनाले ७३७ अमेरिकी डलरको ४८ वटा विज्ञापन फेसबुकमा बुस्ट गरेका छन्।  

रवीन्द्र मिश्र, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, पम्फा भुषाल, सुजाता कोइराला, अग्निी खरेल, शेरधन राई, डा. शेखर कोइराला, पूर्णबहादुर खड्कादेखि मानुषी यमी, कुन्ती पोखरेल, मिलन पाण्डे, दीपेन्द्र झा र डा. तोसिमा कार्कीसम्मले फेसबुकमा विज्ञापन गरेर आफ्नो पक्षमा मत मागिरहेका छन्। सो अवधिमा सबैभन्दा बढी बागमती अञ्चलमा लक्षित गरेर २९ हजार ९२ अमेरिकी डलर विज्ञापनमा खर्च भएको छ। जुन दोस्रोमा रहेको कोशी अञ्चलभन्दा झण्डै ५ गुणाले बढी हो। कोशी अञ्चलमा ६ हजार २ सय ७ अमेरिकी डलर, लुम्बिनी अञ्चलमा चार हजार ४८९ अमेरिकी डलर, नारायणी अञ्चलमा चार हजार ३४३ अमेरिकी डलर, मेची अञ्चलमा तीन हजार ३ सय ६४ अमेरिकी डलर, भेरीमा तीन हजार १३२ अमेरिकी डलर, गण्डकीमा तीन हजार १२१ अमेरिकी डलर, जनकपुरमा २ हजार ८ सय ७८ अमेरिकी डलर, सगरमाथामा दुई हजार १० अमेरिकी डलर, राप्तीमा एक हजार ३ सय १५ अमेरिकी डलर, सेतीमा एक हजार ५० अमेरिकी डलर, धैलागिरीमा ५ सय ५२ अमेरिकी डलर, महाकालीमा ४ सय ८४ अमेरिकी डलर र कर्णालीमा १ सय ४५ अमेरिकी डलर विज्ञापनमा खर्च भएको थियो।  

निर्वाचनको मिति नजिकिंदै जाँदा निर्वाचन आयोगले राजनीतिक दल र उमेम्दवारहरूको सामाजिक सञ्जाल फेसबुकमार्फत मतदाताहरूसँग मत माग्नेदेखि प्रतिस्पर्धीलाई आलोचना गर्नेसम्मका सामग्रीहरूलाई निगरानी गरिरहेको जानकारी आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले दिए। ‘मौन अवधिअघिसम्म उम्मेदवार र राजनीतिक दलहरूले मतदातासमक्ष मत माग्न पाउनेछन्,’ उनले भने, ‘आयोगले फेसबुकमार्फत मतदातासँग मत माग्नेदेखि प्रतिस्पर्धीलाई आलोचना गर्नेसम्मका सामाग्री राखिएको पाएको हुँदा निगरानी गरिरहेका छौं। 

प्रकाशित: ३० कार्तिक २०७९ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App