८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौँ १ का मतदाताहरुको घाउ निको पार्न मैले जित्नैपर्छः किरण पौडेल

फाइल तस्बिर।

नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन्।

शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने बताए। उनले अहिलेका जनप्रतिनिधिहरु ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुराको महशुससमेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए।  

‘यो क्षेत्रका जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गरिरहनुभएको छैन। आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि कहाँ छन् के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुरा यहाँका मतदाताहरुले अनुभव गरिरहनुभएको छ’ पौडेलले भने, ‘त्यसले गर्दा १५ वर्षदेखि यहाँका मतदाताहरुको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा हामी छौँ।’

यस्तै, उनले जनताको गुनासो सुन्नका लागि आफूले जनतासँग जनप्रतिनिधि भन्ने अभियान सञ्चालन गर्ने पनि बताए। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार रहेका नेता पौडेलले काठमाडौँ १ का जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गर्न नपाएको गुनासो गरेको बताए। ‘चुनाव जितेपछि ५ वर्ष हराउँछौ भन्ने मतदाताको गुनासो छ। अब निर्वाचित भएपछि हाम्रो घरदैलो शुरु हुन्छ‘ उनले भने ‘निर्वाचनपछि कम्तिमा २ घण्टा हरेक बस्तीमा गएर जनतासँग जनप्रतिनिधि भन्ने अभियान चलाउँछौँ।’

उनले आसन्न निर्वाचनको जितसँगै काठमाडौं १ का मतदाताहरुको चर्किरहेको घाउलाई निको पारेर जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने र शिक्षा, स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा नेकपा एमाले रहेको प्रष्ट पारे।  

नेता पौडेलले काठमाडौँ १ का मतदाताहरुले निर्वाचन क्षेत्रका अन्य प्रतिष्पर्धीहरुमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरिरहेको दाबीसमेत गरे।

प्रकाशित: २६ कार्तिक २०७९ ०५:३४ शनिबार

निर्वाचन