२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली भन्छन्ः स्थिरता र अस्थिरता मध्ये एउटा रोज्ने बेला आयो

पोखरामा सोमबार कार्यकर्तामाझ बोल्दै एमाले अध्यक्ष केपी ओली। तस्बिरः उमेश पुन/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले चुनावमार्फत स्थिरता र अस्थिरता मध्ये एउटा रोज्नुपर्ने बताएका छन्। नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले जनताले चुनावमार्फत देशलाई विनास कि विकासतर्फ लैजाने भन्ने निर्णय गर्नुपर्ने बताए।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि भइरहेको चुनाव सामान्य चुनाव नभएको बताउँदै उनले भने, ‘यो निर्वाचन यसअघिका निर्वाचन जस्तो सामान्य निर्वाचन नभई देशको भाग्य कोर्ने निर्वाचन हो। यसले देशको भविष्य कस्तो हुने, देश कता जाने? देशलाई विकासको बाटोमा लैजाने कि विनासको बाटोमा? देशलाई स्वाधिन बनाउने कि पराधिन? देशलाई स्थिरतातर्फ लैजाने कि अस्थिरतातर्फ भन्ने निर्णय गर्ने निर्वाचन हो।’ उनले २०७४ सालको निर्वाचनबाटै देश स्थिरतातर्फ गएपनि केहि देशीविदेशी तत्वका कारण देश पुनः अस्थिरतातर्फ गएको आरोप लगाए।  

प्रचण्डका कारण फेरी अस्थिरता निम्तिएको ओलीले आरोप लगाए। ‘हामीले त्यसबेला एउटै घोषणापत्र बनाएका थियौं। एउटै कार्यक्रम दिएका थियौं। म यो वा उ भन्दिन। तर केही तत्वका कारण देश पुनः अस्थिरतातर्फ गयो,’ उनले भने। त्यसैले अहिले हुन गईरहेको निर्वाचनमा जनताले स्थिरता, विकास, समृद्धि, स्वाधिनताको पक्षमा मतदान गरेर एमालेलाई जिताउनुपर्ने उनको भनाइ थियो।

ओलीले आफू नेतृत्वको सरकार ढालेर गठबन्धनको नाममा देउवा नेतृत्वका भ्रष्ट र दक्षिणपन्थी सरकार बनेको टिप्पणी गरे। उनले गठबन्धनले लगाएको संविधान मारेको आरोपको खण्डन गरे। संसदीय अभ्यासमा रहेको चेक एण्ड ब्यालेन्सको शिद्धान्त विपरित परमादेश जारी गरेर उल्टै उनीहरुले नै संविधान मारेको उनको प्रत्यारोप थियो। ‘एउटै पार्टी, एउटै नीति, एउटै घोषणापत्र लागु गर्न जनताले जनादेश दिएका थिए। तर प्रचण्डले जनादेश अस्वीकार गरे। त्यसपछि मैले संसद विघटन गरेको हुँ। यसले संविधान कहाँ मार्‍यो। तर परमादेश जारी गरेर उल्टै संविधान मार्ने काम भएको छ। यसको जवाफ जनताले जनादेशमार्फत दिनुपर्छ।’

ओलीले पाँचदलीय गठबन्धनलाई मिसन र भिजन बिनाको दिशाहीन गठबन्धन भनेर टिप्पणी गरे। पाँच दलका पाँचवटा घोषणापत्र बनेको प्रति कटाक्ष गर्दै ओलीले भने, ‘गठबन्धनले जित्यो भने को प्रधानमन्त्री बन्छ? अनि कुन दलको घोषणापत्र लागु हुन्छ? कांग्रेसको, माओवादीको ? कि माकुने (माधवकुमार नेपाल) वा जनमोर्चाको? यस्तो दिशाहीन, बिचारहीन, कर्मकाण्डी र जनता अल्मल्याउन मात्र ल्याइएको छ। यस्ता घोषणापत्र र पार्टीको भ्रममा परेर कसैले भोट हाल्नु हुँदैन।’

ओलीले विभिन्न सर्भेक्षणका नाममा एमालेलाई कांग्रेसको हाराहारी मात्र देखाएर जनतासामु कमजोर देखाउने प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए। आगामी चुनावमार्फत एमालेले एकल सरकार बनाउने दाबी गर्दै उनले भने, ‘सरकार एमालेको बनेपनि अन्य दललाईपनि सहभागि गराउँछौं तर त्यहाँ एमालेको घोषणा पत्र कार्यान्वयन गरिन्छ।’

ओलीले एमालेमा गुटबन्दी सकिएको दाबी गरे। ‘पार्टीमा अब गुटबन्दी छैन। गुटबन्दी सिद्धियो। तर नेतारकार्यकर्ताको उठबस, गतिविधिको भने मूल्यांकन हुन्छ।’ उनले उम्मेदवार तथा कार्यकर्तालाई घरदैलोका नाममा सडक यात्रा मात्र नगर्न निर्देशन दिए। ‘पार्टीको गीत बजाउने अनि आफै नाच्ने मात्र नगर्नुस्। सडक यात्रा होईन, घरदैलो गर्नूस्, जनताको घरदैलोमा पुग्नुस। त्यसरी जाँदा एमालेका आवश्यक्ता बुझाउनुस्’ उनले निर्देशन दिदै भने।  

प्रकाशित: २१ कार्तिक २०७९ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App