५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनलाई आर्थिक राजधानी बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति चयनका लागि वडाध्यक्षदेखि संघीय सांसदसम्म सम्मिलित बृहत् निर्वाचन मण्डल बनाउनुपर्ने प्रस्ताव गरेको छ। मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार सार्वजनिक गरेको वाचापत्र (घोषणापत्र) मा राष्ट्रपति बन्न १० वर्ष लाभको पदमा नबसेका (स्वतन्त्र व्यक्ति) हुनुपर्ने पनि उल्लेख छ। जनताबाट निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको वकालत गर्दै उक्त पार्टीले प्रदेश प्रमुख पद र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने प्रस्ताव गरेको छ।

चितवनलाई आर्थिक राजधानी बनाउने घोषणा गर्दै स्वतन्त्र पार्टीले त्यसका लागि चाहिने कानुनी प्रावधान, लगानी, जनशक्ति, ऊर्जा आदि विभिन्न पक्षलाई उच्च प्राथमिकता दिएर काम गर्ने उल्लेख गरेको छ। चितवनबाट त्यस पार्टीका अध्यक्ष रवि लामिछाने पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। उक्त पार्टीले प्रत्येक प्रदेशमा अत्याधुनिक प्रयोगशाला र ७५० शय्याको विशिष्ट विज्ञसहितको अन्तर्राष्ट्रिय अस्पताल बनाउने घोषणा गरेको छ। जिल्लामा इन्टरनल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, एनेस्थेसिया, फिजिसियन, बालरोग, हाडजोर्नी सामान्य शल्यचिकित्सा र मानसिक रोगको विज्ञसहित ५० देखि १०० शय्याको अस्पताल बनाउने उसको घोषणापत्रमा उल्लेख छ।

कक्षा १ भन्दा मुनि तीन वर्षको अनिवार्य प्रारम्भिक शिक्षा लागु गर्ने घोषणा गर्दै विदेशमा कार्यरत नेपाली मूलका प्राध्यापक र अनुसन्धानकर्तालाई एकल सेमेस्टर वा स्थायी रूपमा नेपाल फर्किने अवसर प्रदान गर्ने घोषणापत्रमा लेखिएको छ। घोषणापत्रमा ललिता निवासको सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यती र ओम्नी काण्ड, बेटी पढाउ बेटी बचाउका लागि साइकल खरिद काण्ड, प्रिन्टिङ प्रेस खरिद काण्डको फाइल खोल्न पार्टीले पहल गर्ने भनिएको छ।

दुई वर्षभित्र सार्वजनिक कम्पनीहरूको कार्य समितिमा कम्तीमा ३३ प्रतिशत ‘महिला र अन्य लिंग’ अनिवार्य गर्ने, मानव बेचबिखनमा परेका, घरेलु हिंसापीडित, दुर्व्यवहारमा परेका व्यक्ति, एसिड आक्रमणपीडितको पुनस्थापनाका लागि ५ अर्ब रूपैयाँको करुणा कोष स्थापना गर्ने, पाँच वर्षभित्र पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधनको बिक्री वितरण बन्द गर्ने घोषणापत्रमा उल्लेख छ। पाँच वर्षभित्र पर्यटन क्षेत्रबाट वार्षिक ३ खर्ब आम्दानी गर्ने लक्ष्य राखेको देशभरका सबै वडामा खेलमैदान र पार्क निर्माण गर्ने, डन्डिबियो, गुच्चा, खोपी, पिटुजस्ता खेलको अन्तर्राष्ट्रियकरण गर्न अध्ययन र अभ्यास गर्ने वाचा पनि घोषणापत्रमा गरिएको छ।

प्रकाशित: १८ कार्तिक २०७९ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App