४ वैशाख २०८१ मंगलबार
राजनीति

भारतलाई कूटनीतिक नोट

सीमा क्षेत्र महाकाली नदीकिनारमा भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर शुक्रबार दार्चुलाका नौ वर्षीय पवन महराको मृत्यु भएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट दिएको छ। बालक महराको मृत्यु भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौंस्थित भारतीय दूतावासलाई कूटनीतिक नोट दिएको हो।  

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘हामीले सीमा क्षेत्रमा विकास निर्माण गर्दा सावधानी अपनाउनुपर्ने, विकास निर्माणको काम चलिरहेका बारेमा स्थानीय बासिन्दा र स्थानीय निकायलाई जानकारी गराउनुपर्ने तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने विषय समेटेर काठमाडौंस्थित भारतीय दूतावासलाई कूटनीतिक नोट बुझाएका छौं।’

भारतीय पक्षले सीमा क्षेत्रमा लिपुलेक जोड्ने सडक निर्माणका क्रममा विस्फोटक पदार्थ पडकाउँदा उछिट्टिएको ढुंगाले टाउकोमा लाग्दा व्यास–२ स्थित तम्बाकु क्षेत्रमा हिँडिरहेका हिक्मत महराका नौ वर्षका छोरा पवनको घटनास्थलमै मृत्यु भएको थियो।  

भारतीय पक्षले सीमा क्षेत्रमा गर्ने लापरबाहीका कारण यसअघि पनि केही नेपालीले ज्यान गुमाइसकेका छन्। अघिल्लो वर्षको साउनमा भारतीय सुरक्षाकर्मीले नेपालका जयसिंह धामी महाकाली नदी पार गर्न चढेको तुइन काटिदिँदा खसेर बेपत्ता भएका थिए। उक्त घटनाको जनस्तरमै विरोध सुरु भएपछि सरकार छानबिन समिति बनाउन बाध्य भएको थियो।  

भारतले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीमाथि लामो समयदेखि थिचोमिचो गर्दै आएको छ। कहिले भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूभागमा आएर नेपालीलाई दुःख दिन्छन् त कहिले उनीहरूले सीमाक्षेत्रबाट आवतजावत गर्ने क्रममा विभिन्न बहानामा सताउँछन्। भारतीय पक्षबाट हुने दुव्र्यवहारविरुद्ध नेपाल सरकारले सशक्त आवाज नउठाउँदा यस किसिमका घटना दोहोरिने गरेका छन्।  

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत नेपाली भूभाग अतिक्रमण गरिरहेको भारतले २०७७ वैशाखमा लिपुलेकमा एकतर्फी सडक निर्माण र उद्घाटन गरेपछि दुई देशबीच विवाद सिर्जना भएको थियो।

विश्व कोरोना महामारीबाट आक्रान्त भइरहेका बेला २०७७ वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको भर्चुअल उद्घाटन गरेका थिए। भारतीय पक्षले नेपालको भूभाग हुँदै सडक निर्माण गरेपछि सरकारले विरोध जनाएको थियो। भारतले अतिक्रण गरेका लिपुलेक, कालापानी, लिम्पियाधुरासमेत समेटेर नेपाल सरकारले २०७७ जेठ ७ गते चुच्चे नक्सा जारी गरेको थियो। यसको प्रतिक्रियास्वरूप भारतले चीनतर्फ संकेत गर्दै नेपालले अरू कसैको उस्काहटमा लागेर नयाँ नक्सा जारी गरेको आरोप लगाएको थियो। नेपालले अतिक्रमित भूभाग फिर्ता गर्नुपर्ने र सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने कुरा उठाएपछि केही समय दुई देशबीच संवादहीन अवस्था सिर्जना भएको थियो। त्यतिबेला चिसिएको नेपाल–भारत सम्बन्ध अझै सामान्य हुन सकेको छैन।

प्रकाशित: १४ कार्तिक २०७९ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App