निर्वाचन आयोगले धनुषा ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जुली कुमारी महतो (महासेठ) लाई स्पष्टीकरण सोधेको छ।
उनको तस्बिरसहित फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य चिन्हमा मत मागेको फोटो प्राप्त भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। २४ घण्टाभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ड) मा उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने व्यवस्था गरेको छ।
'तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ड) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको' स्पष्टीकरण पत्रमा भनिएको छ।
प्रकाशित: १२ कार्तिक २०७९ १५:४५ शनिबार