६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवाका सहयोगी नै मुख्य प्रतिस्पर्धी

सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला डडेल्धुराको गन्यापधुरा–१ मा मध्यम वर्गीय परिवारमा जन्मेका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन्। पाँचौंपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवालाई उनकै पार्टीका नेता तथा कार्यकर्ताले भाग्यवादी अर्थात् भाग्यमा विश्वास गर्ने नेताका रूपमा चित्रण गर्दछन्। ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेको कुरा बिनासंकोच सुनाउनपछि नपर्ने देउवा नेपाली राजनीतिमा सत्ता र शक्तिमाहिर खेलाडीका रूपमा चिनिन्छन्।  

पञ्चायती शासन व्यवस्था प्रारम्भ भएसँगै २०२२ सालबाट संगठित राजनीतिमा लागेका देउवाले प्रधानमन्त्री, मन्त्री र अहिलेजस्तो सुखसयलको सायदै कल्पना गरेका थिए होलान्। मुलुकमा २०४७ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि अहिलेसम्म निरन्तर शक्तिको केन्द्रमै छन् उनी। नेपाल विद्यार्थी संघको अध्यक्षदेखि पार्टी सभापति र पटकपटक प्रधानमन्त्रीको जिम्मेवारीमा देउवा पुगेका छन्। २०४८ सालपछि सत्ता र शक्तिको वरिपरि कहिले देउवा छन् भने कहिले देउवाको वरिपरि सत्ता र शक्ति घुम्दै आएको छ। पार्टीका नेतालाई मात्र होइन, विपक्षीलाई पनि मिलाउन सिपालु देउवा ज्योतिषले भनेअनुसार सातपटक प्रधानमन्त्री हुन लालायित छन्।  

देउवाले मुलुकमा प्रजातन्त्र पुनर्बहालीपछि प्रतिनिधिसभा र संविधानसभा सदस्यका लागि भएका सबै निर्वाचनमा विपक्षी उम्मेदवारलाई भारी मतसहित ‘रिङ आउट’ गर्दै आएका छन्। देउवाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा अघिल्लो निर्वाचनका मुख्य प्रतिस्पर्धीलाई आफ्नै टिमबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएका छन्। तीनपटक देउवासँग चुनाव हारेका माओवादी सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्ट अहिले प्रदेशसभा (क) मा सत्ता गठबन्धनका उम्मेदवार छन्। तर झन्डै ३० वर्ष देउवाका विश्वासपात्रमध्येका एक कर्ण मल्ल अहिले उनीसँगै प्रतिस्पर्धामा छन्।  

देउवा–मल्ल सम्बन्ध

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीतिमा आफ्नो भविष्य बनाएका देउवाले २०४६ सालको राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासँग मिलेर राष्ट्रिय राजनीतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। पञ्चायती शासन व्यवस्था लम्बिँदा देउवा उतै लाग्ने त होइन भन्ने आशंका बढेपछि कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले अध्ययनका लागि उनलाई बेलायत पठाएका थिए। २०४६ सालको परिवर्तनपछि नेपाल आएसँगै २०४८ को आम निर्वाचनमा सुदूरपश्चिममा उम्मेदवार छनोटमा देउवा नै हाबी भए। त्यही निर्वाचनका क्रममा देउवा र कर्ण मल्लको भेट भएको हो। २०५२ सालमा पहिलोपल्ट देउवा प्रधानमन्त्री बनेसँगै मल्ललाई आफ्नो सहयोगीका रूपमा काठमाडौं  बोलाएका थिए।

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समिति डडेल्धुराको उपसभापतिमा पार्टीका वरिष्ठ नेताहरूलाई पन्छाउँदै देउवाले कर्णलाई अघि सारेका थिए। तर एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको चुनावी तालमेलमा मल्ल पराजित भए। त्यति मात्र नभएर पार्टीका तर्फबाट सभापतिमा खडा भएका उम्मेदवारलाई मल्लले भोट नदिएको भन्दै उनीमाथि कारबाहीको माग जिल्ला नेताहरूले गरे। उनलाई कारबाही होइन, देउवाले फेरि काठमाडौं ल्याएर सहयोगी बनाए। २०५८ सालमा देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिवको जिम्मेवारी देउवाले उनैलाई दिए। २०५९ असोज १८ को राजाको कदमपछि मल्ल देउवासँग केही टाढा भएको र चक्रबहादुर शाही र दीपकजंग शाहमार्फत दरबारनिकट पुगेको आरोप कांग्रेसहरूले लगाउने गरेका छन्।  

‘असलीको दाबी’

बिपीसँग निकट रहेर राजनीतिमा हुर्केका देउवा २०४६ सालको परिवर्तनपछि पनि गिरिजाप्रसादको निकट भएर काम गरे। तर मल्ल आफू पहिलादेखि नै कृष्णप्रसाद भट्टराई समूहमा रहेको भन्दै उक्त समूहको असली नेता देउवा नभएर आफूहरू भएको दाबी गर्छन्।  

गिरिजाप्रसादविरुद्ध पार्टी सभापतिमा प्रतिस्पर्धा गर्न भट्टराई पक्षले पहिला पौडेल र त्यसपछि देउवालाई आग्रह गरेको तर दुवै तयार नभएपछि चिरञ्जीवी बाग्लेलाई अगाडि सारेको राजनीतिक बृत्तमा चर्चा चलेको थियो। कोइराला समूह छाडेर पछि मात्र भट्टराई समूहमा पुगेका देउवाले अहिले आफूलाई उनको सच्चा अनुयायी बताउने गरेका छन्।  

माओवादीविरुद्ध संकटकाल लगाउने विषयमा पार्टीभित्र उत्पन्न भएको विवादका कारण कांग्रेस विभाजनको अवस्थामा पुग्यो। प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवालाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि देउवा पक्षले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्‍यो। विमलेन्द्र निधि, खुमबहादुर खड्का, विजयकुमार गच्छदार, चिरञ्जीवी वाग्लेलगायतका नेताहरूले नयाँ पार्टीको सभापति रामचन्द्र पौडेललाई बनाउने सहमति गरेका थिए। तर पौडेल अन्तिममा नयाँ पार्टीमा जान रोकिएपछि देउवालाई सभापतिको जिम्मेवारी तोकिएको हो।  

‘कर्ण बाबु जस्तो’

२०६२/०६३ सालको आन्दोलनपछि आरजुमार्फत मल्लले देउवासँगको सम्बन्धलाई पुनर्ताजगी दिएका थिए। त्यसैले देउवा पत्नी आरजुले बेलाबेलामा नेता भनेको ‘कर्ण बाबु’ जस्तो हुनुपर्छ भन्ने गर्थिन्। त्यसको लाभ उठाउँदै मल्ल २०६७ मा डडेल्धुरा कांग्रेसको निर्विरोध जिल्ला सभापति भए। सभापतिमा मल्ल निर्वाचित भएसँगै आरजु र मल्लबीचको सम्बन्धमा चिसोपना आउन थाल्यो। २०७२ सालमा भएको पार्टीको जिल्ला अधिवेशनमा आरजुले अघि सारेका रघुवर भट्टलाई पछि पार्दै मल्ल फेरि सभापतिको जिम्मेवारीमा पुगे। तर मल्ल र आरजुबीचको विवाद बढ्दै गयो। यो विवाद र शक्ति संघर्ष जिल्ला तहमै देखिन पुग्यो। त्यसको असर २०७४ सालको स्थानीय तह निर्वाचनमा देखियो। पार्टीका आधिकारिक उम्मेदवार हराउन लागेका मल्ललाई कारबाही गर्न देउवामाथि दवाव पर्‍यो। तर देउवाले उनलाई कारबाही गरेनन्। देउवाले २०७४ सालमा भएको प्रदेशसभा सदस्य निर्वाचनमा मल्ल र भट्टलाई उम्मेदवार बनाए। प्रतिनिनिधसभा निर्वाचनमा देउवालाई दुवै पक्षले खुलेर सहयोग गरे। तर प्रदेशसभा सदस्यमा मल्लले जिते, भट्टले हारे। त्यसपछि पनि कर्णलाई कारबाही गर्न देउवामाथि दबाब पर्‍यो। तर, कारबाही भएन।  

पार्टीको १४औं महाधिवेशनसम्म आइपुग्दा मल्ल कांग्रेस राजनीतिबाट अलग भए। पार्टीको क्रियाशील सदस्यता वितरणलाई लिएर मल्लसहितका नेताहरू आन्दोलित भए। निर्वाचन समितिले अधिवेशनको कार्यक्रम अघि बढाउँदा बहालवाला सभापति मल्ल नै छुटे। त्यससँगै मल्ल कांग्रेसबाट बाहिरिए। 

राष्ट्रपतिको ‘लोभ’

२०६२/०६३ सालको आन्दोलनअघि नै कांग्रेस र माओवादीका शीर्ष नेताबीच गणतन्त्रपछिको पहिलो राष्ट्रपति गिरिजाप्रसाद कोइरालालाई बनाउने सहमति भएको थियो। तर पहिलो संविधानसभा निर्वाचन, २०६४ पछि राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था फेरियो माओवादी पूर्वसहमतिमा कायम रहेन। उसले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निधो गर्‍यो। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थति आफ्नो अनुकूल नभएपछि कांग्रेस पहिलो राष्ट्रपति निर्वाचन बहिष्कार गर्ने चरणमा पुग्यो।

आफू राष्ट्रपति नबन्ने भएपछि गिरिजाप्रसाद पनि त्यसमा सकारात्मक देखिए भने गोविन्दराज जोशी, लक्ष्मण घिमिरेसहितका नेताहरूले उनलाई साथ दिए। तर नेता विमलेन्द्र निधिले त्यसमा असहमति जनाउँदै तत्कालका लागि ठिक जस्तो लागे पनि ५० वर्षपछि (नयाँ पुस्ता) ले अहिलेको नेतृत्वलाई धिक्कार्ने भन्दै परिणाम जे आए पनि निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने अडान राखे। त्यसमा रामशरण महतसहितका नेताले आफैंले ल्याएको परिवर्तन र त्यसपछिको नेतृत्व चयनमा सहभागी नहुने कुरा ठिक नहुने भनेपछि कांग्रेस उम्मेदवारी दिन तयार भयो। त्यसबेला पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री गिरिजाप्रसादले महत, रामचन्द्र पौडेल, शेरबहादुर देउवालाई पालैपालो राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरे। पौडेल र महतले तत्कालै अस्विकार गर्दै सक्रिय राजनीतिमा रहने बताए। देउवाले सल्लाह गर्ने कोइरालालाई बताए। राष्ट्रपति बन्न सकारात्मक देउवालाई निकटहरूले रोके। मधेसकेन्द्रित दलहरूले मधेसबाटै राष्ट्रपति चाहेको बुझाइमा रहेको कांग्रेसले त्यसपछि रामवरण यादवलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो।

को–को छन् प्रतिस्पर्धामा

बिपी कांग्रेसका उपसभापति मल्ल एमाले र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को साथ लिएर देउवालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा धक्का दिने रणनीतिमा छन्। एमालेले उम्मेदवारी फिर्ता लिएर मल्ललाई साथ दिने निर्णय गरे पनि पूर्वसहमतिविपरीत प्रदेशसभामा बिपी कांग्रेसले उम्मेदवारी कायम राखेको भन्दै एक्लै प्रतिस्पर्धामा उत्रिने जनाएको छ। केन्द्रमा कांग्रेस नेतृत्वमा चुनावी तालमेलको सहमति गरेको नेकपा एसले डडेल्धुरामा मल्ललाई साथ दिने भने पनि मंगलबार बिपी कांग्रेससँगको चुनावी तालमेल तोड्न निर्देशन दिएको छ।  

२०७४ को निर्वाचनअघि बिबिसी साझा सवालमा देउवालाई प्रश्न सोधेर चर्चामा आएका सागर ढकाल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादी पार्टीका श्याम सिनाल, स्वतन्त्र उम्मेदवार कर्णसिंह रावल र लालबहादुर कठायत चुनावी मैदानमा छन। देउवालाई प्रश्न सोधेरै चर्चामा आएका गुल्मीका सागर अहिले डडेल्धुरामा देउवासँग निर्वाचन प्रतिस्पर्धामा छन्। ढकालले देउवालाई ‘ली क्वान युलाई सिंगापुर दिँदा ढुंगा दिइएको थियो, उनले हीरा बनाए। नेपाललाई तपाईंको हातमा दिँदा हीरा थियो तर ढुंगा बनाएर छोड्नुभयो। यसको कारबाही कसले गर्ने... ?’ जस्ता प्रश्न गरेका थिए।

अवस्था कस्तो छ

२०७४ सालको निर्वाचनमा एमाले र माओवादीबीच चुनावी तालमेल हुँदा देउवाले ६ हजार ९४८ मतान्तरले जितेका थिए। अघिल्लो निर्वाचनमा देउवाका मुख्य प्रतिस्पर्धी खगराज भट्ट अहिले मुख्य सहयोग बनेका छन्। माओवादी केन्द्रसहितका दलसँग कांग्रेसले चुनावी तालमेल गरेको छ। अघिल्लो निर्वाचनमा भट्टले एमालेसँग तालमेल गर्दा २१ हजार ४९८ मत पाएका थिए भने देउवाले २८ हजार ४४६ मत। देउवाले २०७० मा ११ हजार ५८८ र २०६४ मा एक हजार ३६२ मतान्तरले चुनाव जितेका थिए। त्यसबेला पनि भट्ट नै प्रतिस्पर्धी थिए।  

गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा डडेल्धुरामा कांग्रेसको २१ हजार ४४, माओवादी केन्द्रको १२ हजार ८७८, एमालेको १० हजार ४४९, नेकपा एसको ५ हजार ४१ र बिपी कांग्रेसको भोट ३ हजार ६०४ छ। २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २५ हजार १४८, माओवादीले ७ हजार ९५७, एमालेले १४ हजार १८० मत पाएका थिए।

को हुन् शेरबहादुर देउवा  

सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला डडेल्धुराको गन्यापधुरा– १ मा मध्यमवर्गीय परिवारमा सन् १९४६ मा जन्मेका शेरबहादुर देउवा द्रोपदा र प्रसादसिंह देउवाका छोरा हुन्। एमए, बीएलसम्मको अध्ययन गरेका देउवा २०१७ सालको राजनीतिक घटनाक्रमपछि राजनीतिमा सक्रिय हुँदै २०२८ सालमा नेवि संघको अध्यक्ष भएका थिए। २०२२ सालदेखि नै पार्टी राजनीतिमा संगठित भएका देउवा २०४८ सालपछि डडेल्धुराबाट निरन्तर प्रतिनिधिसभा र संविधानसभा सदस्यमा निर्वाचित भएका छन्। २०४८ सालमा भएको निर्वाचनपछि गृह मन्त्री भएका देउवाले बिपी कोइरालाको सानिध्यममा रहेर राष्ट्रिय राजनीतिमा स्थान बनाएका हुन्। २०५२ सालमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका देउवा पार्टीको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन्। गत मंसिरमा भएको १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित देउवा पटकपटक गरी ९ वर्ष जेल बसेका छन्।  

को हुन् कर्ण मल्ल  

डडेल्धुराको गणेशपुर चम्सालका कर्ण मल्ल नेपाल विद्यार्थी संघ हुँदै २०४८ सालमा देउवा निकट पुगेका नेता हुन्। २०५२ सालमा पहिलोपल्ट देउवा प्रधानमन्त्री बनेसँगै उनका सहयोगी बनेका मल्ल २०५४ मा जिल्ला विकास समिति डडेल्धुराको उपभसापतिको उम्मेदवार बनेका थिए। २०५८ सालमा प्रधानमन्त्री देउवाको मुख्य स्वकीय सचिवको जिम्मेवारी सम्हालेका मल्ल २०६७ मा डडेल्धुरा कांग्रेसको निर्विरोध जिल्ला सभापति चयन भए। २०७२ सालमा भएको कांग्रेस जिल्ला अधिवेशनमा रघुवर भट्टलाई पछि पार्दै मल्ल फेरि सभापतिको जिम्मेवारीमा पुगे। २०७४ सालको चुनावमा डडेल्धुरा (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित मल्ल अहिले कांग्रेस छाडेर बिपी कांग्रेसको उपसभापति छन्।

को हुन् सागर ढकाल  

गुल्मीका सागर ढकाल पेसाले इन्जिनियर हुन्। दुई वर्षअघि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट हाइड्रो मेकानिकल इन्जिनियरिङको पढाइ पूरा गरेका उनले क्याम्पसमै बसेर लो हेड हाइड्रोपावर रिसर्चमा काम गरिरहेका छन्। आधा दर्जन किताब लेखिसकेको बताउने ३० वषर्षे ढकाल २०७४ को निर्वाचनअघि शेरबहादुर देउवासँग बिबिसी साझा सवालले अन्तर्वार्ता लिँदा उनी पनि प्रश्न सोध्नेमध्येका एक थिए। अहिले ढकाल देउवासँग प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रकाशित: ३ कार्तिक २०७९ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App