२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ठूला दललाई चुनौती दिँदै साना दल

फाइल तस्बिर

बाँकेको इतिहासमा हालसम्म लगातार दुईवटा निर्वाचन कुनै दलले पनि जितेका छैनन्। हरेक निर्वाचनपछि फरक दलका उम्मेदवारलाई बाँकेवासीले निर्वाचित गर्दै आएका छन्। तर, यहाँको राजनीति ठूला दलहरू र मधेसकेन्द्रित दलहरूकै वरिपरि घुमिरहेको देखिन्छ।

हालसम्म यहाँबाट नेपाली कांग्रेस, राप्रपा, एमाले, माओवादी र मधेस केन्द्रित दलका उम्मेदवार विजयी भएका छन्। देशभरि बलियो संगठन भएका दलभन्दा फरक दलका उम्मेदवारलाई पनि बाँकेवासीले निर्वाचित गराएको अहिलेसम्मको इतिहासले देखाउँछ। यसपटक पनि देशभरि बलियो संगठन भएका दललाई चुनौती साना दलहरू नै बन्ने देखिएका छन्।

यसपटक नयाँ गठित र पहिलोपटक संसदीय चुनावमा भाग लिन लागेका दलले पनि ठूला दललाई चुनौती दिने अनुमान गर्न थालिएको छ। बाँकेको क्षेत्र नम्बर १ र ३ मा ठूला दलका लागि नागरिक उन्मुक्ति पार्टी तगारो बन्न सक्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ। निवर्तमान प्रतिनिधिसभा सदस्य रेशम चौधरीको दलका रूपमा परिचित उक्त पार्टीले थारु समुदायको मत प्रभावित पार्नसक्ने र कतिपय ठाउँमा चुनौती नै दिनसक्ने आकलन गर्न थालिएको छ।  

बाँके क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सुरेशकुमार चौधरी, प्रदेशसभा सदस्यमा (क)मा सोमराज चौधरी र (ख) मा भुमबहादुरी भण्डारीले उम्मेदवारी दिएका छन्। यी तिनैजनाले राजनीतिक रूपले परिचित नभए पनि पार्टीको अजेन्डा र भावनात्मक रूपमा मत तान्नसक्ने विश्लेषण गर्न थालिएको छ। क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका चौधरी यसअघि विभिन्न पार्टीको कार्यकर्ता थिए। अहिले रेशम चौधरीले पहिचानसहितको समृद्धि, पिछडा वर्गको उत्थानसहितका अजेन्डा लिई बाँकेमा पार्टीको संगठन विस्तार गर्न आह्वान गरेपछि उनी उम्मेदवारी दिन पुगेका हुन्। क्षेत्र नम्बर १ (क) मा उम्मेदवारी दिएका सोमराज भन्छन्, ‘हामी चुनौती मात्रै होइन, जित्न नै सकिन्छ भन्ने विश्वाससहित जनतासमक्ष जाँदै छौं।’ चौधरी इलेक्ट्रिकल ओभरिसयर हुन् भने भण्डारी नेपाली कांग्रेसको जिल्लास्तरीय युवा नेताका रूपमा परिचित व्यक्ति हुन्।  

क्षेत्र नम्बर १ मा एमालेबाट सूर्य ढकाल र सत्ता गठबन्धनबाट वर्तमान खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ। क्षेत्र नम्बर ३ मा पनि नेपाली कांग्रेस त्यागेर नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए, रवीन्द्रमान श्रेष्ठले। उनले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिए। श्रेष्ठजस्तै कांग्रेसबाट असन्तुष्ट भएर नागरिक उन्मुक्ति पार्टीमा गएका चन्तराम थारू ३(क) बाट उम्मेवार बनेका छन्। चन्तराम यसभन्दा अघिल्लो निर्वाचनमा कांग्रेसबाट उम्मेदवार थिए। उनलाई पनि क्षेत्र नम्बर ३ को मत प्रभावित पार्नसक्ने उम्मेदवारका रूपमा हेरिएको छ। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका किशोरसिंह राठौर र एमालेका किस्मतकुमार कक्षपतिलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ।  

यता क्षेत्र नम्बर २ मा त झन् ठूला दलहरू निरीह जस्तै बन्ने देखिएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवारको चर्चा नै छैन। सुदीपनरसिंह राणालाई उम्मेदवार बनाए पनि कांग्रेसले उनको प्रचार आत्मविश्वासपूर्वक गर्न सकेको छैन। कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला कांग्रेस आत्मविश्वासपूर्वक नै चुनावी प्रचारप्रसारमा जान लागेको बताउँछन्। बिहीबार चुनाव प्रचारको तयारीका लागि बैठक बोलाइएको उनले बताए। उनी कांग्रेसको विजयको सम्भावनाका पछाडि कांग्रेसको बलियो संगठन, गठबन्धनको साथ र सुदीपनरसिंह राणाको तरुणदल देखिको इमानदार राजनीतिक पृष्ठभूमि आधारहरू रहेको बताउँछन्। उनले भने, ‘हामी त जित्ने आत्मविश्वासका साथ नै प्रचारप्रसारमा जाँदै छौं। विगतको कांग्रेसको इतिहासले पनि यहाँबाट कांग्रेसको केन्द्रीय प्रतिनिधि उठाएको बखत जिताएका उदाहरण धेरै छन्।’

क्षेत्र नम्बर २ मा अहिले जसपाका मोहम्मद इस्तियाक राई र राप्रपाका डा. धवलशम्शेर राणालाई धेरैले मुख्य प्रतिस्पर्धीका रूपमा लिइरहेको पाइएको छ। यसका साथै हिन्दु धार्मिक मुद्दालाई लिएर उम्मेदवारी दिएका दिवाकर खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका विनोद अग्रहरि पनि पहिलेदेखि नै सामाजिक रूपमा परिचित व्यक्ति रहेका छन्।  

नेपालमा हालसम्म भएका सातवटा बहुदलीय निर्वाचनमध्ये नेपालगन्ज समेटिएको अलग्गै निर्वाचन क्षेत्र तोकेर ६ वटा निर्वाचन भए। ती ६ वटा निर्वाचनमध्ये तीनवटा निर्वाचनमा नेपालगन्ज समेटिएको निर्वाचन क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको छ। बाँकेलाई एउटा मात्रै निर्वाचन क्षेत्र तोकिएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०१५ मा पनि कांग्रेसकै उम्मेदवार ललित चन्द निर्वाचित भएका थिए। बाँकी तीनवटा निर्वाचनमध्ये दुईवटामा मधेसी जनअधिकार फोरम र एउटा निर्वाचनमा राप्रपाले जित हासिल गरेको थियो। कांग्रेसबाट सुशील कोइरालाले तीनपटक बाँकेबाट निर्वाचन जितेका थिए।

प्रकाशित: ३० आश्विन २०७९ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App