२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

बेरोजगारी समस्या समाधान मुख्य एजेण्डा: मण्डल

मोरङ क्षेत्रनम्बर ५ का प्रतिनिधिसभा तर्फका स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलले बेरोजगारी समस्या समाधान गर्ने मुख्य एजेण्डा लिएर प्रतिनिधिसभाको निर्वाचनमा उमेदवारी दिएको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी मण्डलले बेरोजगारी समस्या समाधान र गरिबी निबारणका लागि नीतिगत परिवर्तन गर्न आफूले स्वतन्त्रबाट उमेदवारी दिएको बताए।  

उनले प्रदेशको राजधानी विराटनगरसँगै जोडिएको क्षेत्र भए पनि क्षेत्रनम्बर ५ अझै पिछडिएकै अवस्थामा रहेकाले यस क्षेत्रको विकासका लागि पनि आफूले उमेदवारी दिएको स्पष्ट पारे। जीवन विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालकसमेत रहेका मण्डलले आफूले यस क्षेत्रमा २५ वर्षदेखि समाजसेवा गरिरहेको दाबी गरे। मण्डलले यस क्षेत्रमा कृषिको व्यवसायिकरण जरुरी रहेकाले त्यसका लागि चक्लाबन्दी खेतिको अबधारणा आफूले अघि सारेको जानकारी दिए।  

यस्तै यस क्षेत्रका खाली, वगर र सरकारी जमिनलाई सदुपयोग गरेर रोजगारीसँगै उत्पादन बढाउने योजनापनि आफूले अघिसारेको बताए। मण्डलले किसानले झेल्नु परेको सबै भन्दा ठूलो समस्या मल अभाव भएकाले रासायनिक मलको विकल्पका लागि जैविक मल उत्पादनको परिक्षणसमेत आफूले गरिरहेको जानकारी दिए। 

उनले कम्पनी नै स्थापना गरेर जैविक मलबारे अनुसन्धान तथा परिक्षण भइरहेको बताए। मण्डलले भने‘मल अभाव कृषि क्षेत्रका लागि ठूलो समस्याका रुपमा देखा परेकाले यो समस्या समाधानका लागि मल उद्योग स्थापना गर्ने योजना अनुसार जैविक मलको परिक्षण भइरहेको छ।’ 

यस्तै घरविहीन सुकुम्वासी र गरिबलाई घरको व्यवस्था गर्ने पनि आफ्नो योजना रहेको उनले बताए। कृषिलाई आधुनिकीकरण र व्यवसायिक बनाउँदै कृषिमा आधारित उद्योगको स्थापना गरी  धेरैलाई रोजगारीउपलब्ध गराउन सकिने स्पष्ट पारे। यादवले हाल विभिन्न उद्योग र कृषि क्षेत्रमा गरी हाल  २ हजार जना भन्दा बढीलाई रोजगारी उपलब्ध गराईरहेको दाबी गरे। 

मण्डल क्षेत्रनम्बर ५ का नेकपा एमालेका नेता हुन्। उनी एमालेबाट टिकट नपाएपछि स्वतन्त्रबाट चुनावी प्रतिश्पर्धामा छन्। मोरङ क्षेत्रनम्बर ५ मा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादीका शिवकुमार मण्डल र  नेकपा एमाले–जसपा गठबन्धनबाट राजकुमार यादव चुनावी प्रतिश्पर्धामा छन्। शिवकुमार मण्डल अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद हुन्।

प्रकाशित: २८ आश्विन २०७९ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App