५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनले सातै प्रदेशमा भेला गर्ने

फाइल तस्बिर।

नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस नेतृत्वको गठबन्धन बैठकले कात्तिक पहिलो साता सातै प्रदेशमा शीर्ष नेताहरूको उपस्थितिमा प्रमुख नेता तथा कार्यकर्ताको भेला राख्ने निर्णय गरेको हो।

गठबन्धनका शीर्ष नेताहरूको उपस्थितिमा कात्तिक ४ गते पोखरा र बुटवलमा भेला आयोजना गरिएको छ। त्यस्तै कात्तिक ५ गते विराटनगर र जनकपुर, ६ गते धनगढी र सुर्खेत तथा ७ गते काठमाडौंमा प्रदेशस्तरीय भेला गरिनेछ। कात्तिक ४ गते बिहान ११ बजे पोखरामा हुने भेलाको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्नेछ भने दिउँसो २ बजे बुटवलमा हुने भेलाको व्यवस्थापन कांग्रेसले गर्नेछ।

५ गते बिहान ११ बजे विराटनगर र २ बजे जनकपुरमा हुने भेलाको आयोजना कांग्रेसले गर्नेछ। जनकपुर भेलामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुनेछ। कात्तिक ६ गते बिहान ११ बजे धनगढीमा हुने भेलाको व्यवस्थापन माओवादी केन्द्रले र दिउँसो २ बजे सुर्खेतमा हुने भेला कांग्रेसले आयोजना गर्ने तय भएको छ। कात्तिक ७ गते बिहान ११ बजे काठमाडौंमा हुने प्रदशस्तरीय संयुक्त भेलाको व्यवस्थापन माओवादी केन्द्रले गर्नेछ।  

सत्ता गठबन्धनले केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने भएको छ। केन्द्रमा गठन हुने समितिको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाउने समझदारी भएको छ। केन्द्र र प्रदेशमा गठन हुने निर्वाचन परिचालन समन्वय समितिमा कांग्रेसबाट तीनजना र अन्य दलबाट दुईदुई जना सदस्य रहने छन्। तर जिल्लामा भने आवश्यकता अनुसार समितिको संख्या बढाउन सकिने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए। निर्वाचन परिचालन समन्वय समितिमा सकेसम्म प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार नभएका नेतालाई राख्ने सहमति भएको छ।  

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन बनाएको दाबी गर्दै आएका सत्तारुढ दलहरूले निर्वाचनमा गठबन्धनलाई भोट दिएर जिताउन जनतालाई संयुक्त अपिल गर्ने भएका छन्। कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा मतदानका लागि जनतालाई गरिने अपिल तयार गर्न एक कार्यदल बनाइएको छ। त्यसमा कांग्रेसबाट प्रकाशशरण महत, माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी छन्।

प्रकाशित: २८ आश्विन २०७९ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App