१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

पार्टीले षड्यन्त्रपूर्वक मलाई टिकट दिएनः भिम रावल

फाइल तस्बिर।

नेकपा एमालेका नेता डा. भिम रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाएका छन्।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले अछामबाट एकल नाम सिफारिस भएर कसैले पनि आफूलाई हराउन नसक्ने भएपछि पार्टीले सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्वक स्वेच्छाचारी निर्णय गरेर आफूलाई टिकट नदिएको बताए। उनले कुनैपनि व्यक्ति कुनैपनि पद वा जिम्मेवारीमा सधैँ नरहने शास्वत सत्य रहेको उल्लेख गर्दै उम्मेदवार हुने वा नहुने वा कुनै पदमा पुग्ने, नपुग्ने विषयलाई आफूले प्रमुख नठानेको दाबी गरे। नेता रावलले देश र जनताको हित एवं पार्टीको सिद्धान्त, विधि, पद्धति, नीति र मान्यताको अवज्ञा भएको बताए। ‘उम्मेदवार हुने वा नहुने वा कुनै पदमा पुग्ने, नपुग्ने विषयलाई मैले प्रमुख ठानेको छैन। कुनैपनि व्यक्ति कुनैपनि पद वा जिम्मेवारीमा सधैँ नरहने शास्वत सत्य नै हो।’,उनले भने, ‘विषय देश र जनताको हित एवं पार्टीको सिद्धान्त, विधि, पद्धति, नीति र मान्यताको अनुशरण भयो कि अवज्ञा भयो भन्ने हो।’

एकल सिफारिसमा पर्दा समेत आफूसँग कुनै छलफल नगरी नेकपा एमालेका निम्ति कुनै योगदान नगरेको सिफास नै नभएको व्यक्तिको लागि पार्टी पंक्तिले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छाचारी, अन्यायपूर्ण र गलत रहेको उनको जिकिर छ। ‘मेरो सिफारिसबारे मसँग कुनै परामर्श नगरी, नसोधि नेकपा एमालेका निम्ति कुनै योगदान नगरेको सिफारिस नै नभएको व्यक्तिको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ।’, उनले भने।  

उनले पार्टीको यो निर्णयले सुदूरपश्चिम प्रदेश र अछाम जिल्लाका जनता तथा पार्टी संगठनमा रहेका नेता र कार्यकर्ताको घोर अपमान भएको उल्लेख गरे। उनले पार्टीको यो निर्णयले पार्टीको हित र एकतामा आघात पुगेको उल्लेख गरे।

नेता रावलले युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनेर चिनिएका एकनाथ ढकालको समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा नेकपा एमाले नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंमा उम्मेदवार बनाउने, आफैँले प्रतिक्रियावादी भनेको राप्रपा र अध्यक्ष ओली केपी शर्मा ओली र माधवकुमार नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयासका साथै संविधान दिवसलाई कालो दिवसको रुपमा र एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसलाई बिहान पार्टी प्रवेश गराइ दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताको अनेकौँ कर्म र कुकर्म गरेकाहरुलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासन भित्र पर्छ ? भनि प्रश्न समेत गरे। 

नयाँलाई अवसर दिने कुरा पार्टी अध्यक्ष र निकटहरुको हकमा लागू हुन नसकेको आरोप लगाए। नेता रावलले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाउने तर देश र जनताको हीतका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएकोप्रति आक्रोश व्यक्त गरे।

प्रकाशित: २७ आश्विन २०७९ ०९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App