२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसमा नयाँभन्दा पुरानैलाई अवसर

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुराना नेताहरूलाई नै अवसर दिएको छ। प्रतिनिधिसभाका एक दर्जन बढी निर्वाचन क्षेत्रमा भने उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डेसहित नेताहरू पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका छन्।

तीमध्ये केही नेताले भने समानुपातिकतर्फबाट संविधानसभा, प्रतिनिधिसभाका साथै राष्ट्रियसभा सदस्यको भूमिका निर्वाह गरिसकेका छन्। अर्थात् २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका केही नेता आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन्। पहिलो पटक प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्ने नेताको संख्या भने कांग्रेसमा आधा दर्जन पनि छैन। योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व  

पौडेल, रौतहटबाट रित्तोद आलम, मुस्ताङबाट योगेन्द्र गौचन थकाली, भक्तपुरबाट दुर्लभ थापा, काठमाडौंबाट सन्तोष चालिसेसहित नेता मात्र छन्।  

त्यस्तै, उद्योगपति एवं कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरी, व्यवसायी उमेश श्रेष्ठ यसअघि पटकपटक समानुपातिकतर्फबाट सांसद बने पनि पहिलो पटक प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा उत्रिएका हुन्। उपसभापति गुरुङ र सहमहामन्त्री पाण्डेले समानुपातिकतर्फबाट संविधानसभा सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन्। तर, उनीहरू यस पटक प्रतितिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। त्यस्तै, नेताहरू प्रदीप पौडेल, श्यामकुमार घिमिरे, राजेन्द्र बजगाईं डिल्लीराज पन्त प्रतिनिधिसभाका लागि पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन्। उनीहरू २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएका थिए। त्यसबाहेक अधिकांश यसअघि पटकपटक प्रतिनिधिसभातर्फ प्रतिस्पर्धा गरेका पुराना नेताहरूलाई नै कांग्रेसले मैदानमा उतारेको छ। काठमाडौं–३ बाट उम्मेदवार बनेका चालिसे पनि २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए। त्यसबाहेक कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि अघि सारेका रौतहटका आलम र मुस्ताङका थकाली पार्टी नेताहरू मोहमद आफताब आलम र रोमी गौचन थकालीका छोरा हुन्।  

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, बलबहादुर केसी, अर्जुननरसिंह केसीसहित नेता २०४८ देखि नै निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन्।  

बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडु, रमेश रिजालसहित नेता २०४८ मै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। महालक्ष्मी उपाध्यक्ष, चित्रलेखा यादव, सीता गुरुङ, सुजाता कोइराला पनि प्रत्यक्षतर्फ पटकपटक प्रतिस्पर्धा गरिसकेका नेत्रीहरू हुन्। त्यस्तै यसअघि प्रतिनिधिसभा वा संविधानसभा सदस्य पदका लागि प्रतिस्पर्धा गरिसकेका उम्मेदवारलाई पनि कांग्रेसले अघि सारेको छ।  

पार्टी केन्द्रीय सदस्य बहादुरसिंह लामा समानुपातिकबाट प्रतिनिधि र संविधानसभा सदस्य भए पनि यस पटक नुवाकोटबाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्।  

त्यसबाहेक कांग्रेसले प्रदेशसभामा भने केही नयाँ अनुहारका साथै अवसर नपाएका नेताहरूलाई अघि सारेको छ। पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे, केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, नेपाल विद्यार्थी संघका नेताहरू सविन तामाङ, डिल्ली सुवेदीसहित पछिल्लो पुस्ताका केही नेताले मात्र अवसर पाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाका भतिज तथा आरजु राणाका स्वकीय सचिव प्रकाश देउवालाई पनि कांग्रेसले प्रदेशसभा सदस्यका लागि मैदानमा उतारेको छ।

प्रकाशित: २६ आश्विन २०७९ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App