९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेसका बस्नेत सिन्धुपाल्चोक–१ छोडेर २ बाट चुनाव लड्ने

सत्ता गठबन्धनबाट नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ को उम्मेदवार बनाएर पठाइएको छ।  

उनले चुनावी प्रतिस्पर्धा गर्दै आएको क्षेत्र परिवर्तन गर्दै २ नं. मा पठाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले बस्नेतलाई क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।  

सत्तारुढ दलको भागबण्डामा क्षेत्र नं. १ माओवादी केन्द्रलाई परेपछि बस्नेतलाई अर्को क्षेत्र पठाइएको काँग्रेसले जनाएको छ। यो उनको गृहक्षेत्र पनि हो। यसअघिको चुनावी प्रतिस्पर्धा उनले यसै क्षेत्रबाट गरेका थिए। त्यसैले बस्नेतले सुरुदेखि नै क्षेत्र नं. १ दाबी गर्दै आएका थिए।  

अन्तिमसम्म क्षेत्र नं. १ बाटै चुनाव लड्न उनले विद्रोहको धम्की दिँदै नेतृत्वमाथि दबाव बढाएका थिए। अर्को क्षेत्रमा उम्मेदवार बनाइएपछि उनले कुनै प्रतिक्रिया दिएका भने छैनन्। यद्यपी टिकटविहिन हुनुभन्दा २ नं. मा जान उनी सकरात्मक बनेको काँग्रेसका नेताहरु बताउँछन्।  

साविक क्षेत्र नं. १ समेटिएको हालको क्षेत्र नं. १ बाट बस्नेतले अघिल्ला चुनावमा प्रतिस्पर्धा गर्दै आएका थिए। २०४८, २०५६, २०६४, २०७० र २०७४ को चुनाव बस्नेतले यसै क्षेत्रबाट लडेका थिए। पाँच प्रतिस्पर्धामा तीन चुनावमा पराजित हुँदा उनले २०५६ को संसदीय र २०७० को संविधानसभा निर्वाचन क्षेत्र नं. १ बाट जितेका थिए।  

अघिल्लो २०७४ को चुनावमा बस्नेत क्षेत्र न.१ बाट बामगठबन्धनका माओवादी उम्मेदवार अग्निप्रसाद सापकोटासँग पराजित भएका थिए। बस्नेत अहिले उम्मेदवार बनेको क्षेत्र नं. २ बाट हालसम्म काँग्रेस उम्मेदवार विजयी हुन सकेका छैनन्।

प्रकाशित: २२ आश्विन २०७९ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App