५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

दाङ–१ः गठबन्धनका ‘जब्बर’ नेता त्रय

सत्तारूढ गठबन्धनको भागबन्डामा दाङ क्षेत्र नम्बर १ नेकपा एकीकृत समाजवादीलाई परेपछि यो प्रदेशका दुई क्षेत्र माओवादी र कांग्रेसको भागमा पर्ने निश्चित देखिन्छ। समाजवादीले प्रतिनिधिसभा उम्मेदवार नेता तथा संघीय सरकारका शहरी बिकास मन्त्री मेटमणी चौधरीलाई बनाउने पक्का जस्तै छ।

यसैगरि माओवादी र कांग्रेसको भागमा पर्ने प्रदेशसभाका लागि गत निर्वाचनकै दुई उम्मेदवार भिड्ने परिस्थिति बन्ने देखिन्छ। प्रदेश क्षेत्र अन्तर्गत दाङ (क) मा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी भिड्ने पक्का देखिन्छ। उनी यसअघिको निर्वाचनमा निर्वाचित भएका थिए। हालका प्रदेश स्वास्थ्य मन्त्री चौधरीको प्रभाव यहाँ निकै राम्रो छ। यसैगरि प्रदेश (ख) मा कांग्रेसका जानकीलाल बस्नेत सक्षम उम्मेदवारका रूपमा प्रस्तुत हुने देखिएको छरू। उनिहरु दुबैजना ०७४ को प्रदेशसभाका उम्मेदवार हुन्। भलै कांग्रेसले उम्मेदवारको टुंगो लगाएको भने छैन। तर बस्नेत नै आगामी निर्वाचन सहजै जित्न सक्ने सक्षम उम्मेदवारका रुपमा चिनिएका छन्।  

लामो समय देखिको कांग्रेस राजनीतिको प्रभाव जानकीले यो क्षेत्रमा देखाएका छन्। ‘प्रदेशसभाको निर्वाचनका लागि दाङ ख को बलियो र सक्षम उम्मेदवार भनेकै जानकीलाल बस्नेत हो,’ एक नेताले भने ‘उहाँले टिकट पाउनु पर्छ र पाउनु पनि हुन्छ।’ बस्नेत यसअघि यसै क्षेत्रमा व्यहोर्नुपरेको पराजयलाई अहिले जीतमा परिणत गर्न चाहन्छन्।

अघिल्लो निर्वाचनमा वामगठवन्धन विरुद्ध उम्मेदवार बनेका उनी एमालेका रेवती रमण शर्मासँग पराजित भएका थिए। ‘अघिल्लो निर्वाचनमा कारण बस् म निर्वाचित हुन सकेन,’ बस्नेत भन्छन् ‘अहिले यो क्षेत्रमा सहजै जीत निकाल्न सक्छु भन्नेमा म ढुक्क छु।’ उनी पार्टीले आफूलाई नै टिकट दिने दाबी समेत गर्छन्। ‘कांग्रेस राजनीतिमा लामो समय सम्म खटिएको मेरो योगदानलाई पार्टीले अवश्य मूल्यांकन गर्छ नै,’बस्नेतले भने ‘मेरो उम्मेदवारी लड्नका लागि मात्रै हैन, जितका लागि पनि हो।’

बस्नेतसंगै कांग्रेस राजनीतिमा भर्खरै सकृय बनेका अनुराग खड्का पनि टिकटको रेसमा छन्। उनी कांग्रेस नेता खुमबहादुर खड्का छोरा हुन्। खड्काको निधन भएसँगै कांग्रेसको सकृय राजनीतिमा लाग्ने प्रण गरेका उनी पनि प्रदेशसभाको उम्मेदवार बन्न लालायित देखिन्छन्। भर्खरै पार्टीको सकृय सदस्यता प्राप्त गरेका खड्का कांग्रेसका ‘जुनियर’ हुन्। यससँगै उनको प्रभाव मतदाता समक्ष कति? भन्ने प्रश्न पनि कांग्रेस भित्र उब्जाएको छ। कांग्रेस भित्र गरिएको योगदानको मूल्यांकन गरेर टिकट दिईनु पर्ने आवाज कांग्रेस भित्रै पनि उठ्दै आएको छ।

फलतः प्रदेशसभाका लागि खड्का भन्दा बस्नेतलाई सक्षम उम्मेदवारका रूपमा हेरिएको छ। त्यसो त, खड्काको उम्मेदवारी दाबीलाई कतिपयले पारिवारिक बिरासतको ‘दबदबा’ समेत भनेका छन्। ‘पार्टी भित्र परिवारवाद भन्दा पनि सक्षम व्यक्तिलाई उम्मेदवार बनाईनु पर्छ,’ कांग्रेसका युवा नेता तथा पूर्व जनप्रतिनिधि सुबास डिसीले भने ‘क्षेत्र नम्बर १ ख को उम्मेदवारको सन्दर्भमा भन्दा जानकीलाल बस्नेत सक्षम र काबिल उम्मेदवार हो, उहाँले पार्टीमा गरेको लामो योगदानको सम्मानका लागि पनि उहाँलाई उम्मेदवार बनाईनु पर्छ।’

प्रदेशसभाका लागि कांग्रेसबाट जानकीलाल बस्नेत र माओवादीबाट ईन्द्रजीत चौधरी तथा प्रतिनिधिसभाका लागि नेकपा एसका मेटमणी चौधरीको उम्मेदवारी भए क्षेत्र नम्बर १ मा जब्बर नेताहरू उम्मेदवार बन्ने र यो क्षेत्रको सन्तुलन कायम समेत कायम हुने भएकाले गठबन्धनको सहज जीत हुने आँकलन गरिएको छ।

प्रकाशित: १८ आश्विन २०७९ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App