२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीको मधेस मिसनः नागरिकता मुद्दाको भ्रम चिर्दै,असन्तुष्ट नेता भित्र्याउँदै

शुक्रबार सिरहाको चोहर्वामा पार्टी प्रवेशसभा सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली।

संसदले दोहोर्‍याएर पारित गरेको नागरिकता विधेयकको विरोधका कारण मधेस आफ्नो पार्टीसँग रुष्ट रहेको भेउ नेकपा एमाले अध्यक्ष केपी ओलीले नपाउने कुरै भएन। त्यसैले मधेस प्रदेशको राजधानी जनकपुरधामसहित जिल्लाहरु पुगेर उनले मधेससँग सम्बन्ध गाँस्न पूरापूर प्रयास गरिरहेका छन्। मधेस प्रदेशमा उनको मन्तव्य सुन्दा लाग्छ, उनी एक–एक शब्द सोचीसम्झी बोलिरहेका छन्।  

भदौ २७ गते जनकपुरधाममा ओलीले भने, ‘नागरिकता समस्या समाधानका लागि आफू र एमालेनै बढी लडेको छ। तर एमालेले नागरिकता दिएन र विधेयक रोकेर राखेको भनेर मधेसमा भ्रम छरिएको छ जुन सरारसर भ्रामक हो।’

एमाले अध्यक्ष ओलीले कुर्ता, सुरुवाल र गम्छा लगाएर मधेस र मधेसीको मन जित्न खोजेका छन्। मधेसमा उनी यही पहिरनमा मधेसीसँग प्रस्तुत भैरहेका छन्। नागरिकता विधेयक संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउँदा जनकपुरधाम उत्रिएका ओलीले नागरिकता मुद्दामा खुलेर बोले। 

मधेसवादी दलका सात दशकदेखिको ठूला मुद्दा नागरिकताबारे ओली यतिविघ्न खुलेर बोल्नुका पछाडि जसरी भए पनि मधेसको मन जित्नु नै रहेको राजनीतिज्ञहरु बताउँछन्। 

जुन मुद्दाले मधेस चिढिएको छ, त्यही मुद्दा प्रष्ट्याएर मधेसलाई फकाउने ओलीको कोसिस देखिन्छ राजनीतिज्ञ खुशीलाल मण्डल भन्छन्, ‘नागरिकता मुद्दामा मधेसको असन्तुष्टि चिर्ने प्रयासमा उनको मधेस दौडाहा केन्द्रित देखिन्छ। मधेसी दलका असुन्तष्ट नेतालाई आफूतिर तान्ने र मधेससँग टुटेको सम्बन्ध गाँस्ने ओलीको कोसिस छ।’

मधेसमा यस पटक ओली जोसका साथ प्रवेश गरेका छन्। कारणः यस प्रदेशमा उनले मधेसवादीसहित अन्य दलका नेतालाई आफ्नो पार्टीमा प्रवेश गराउन सफल भैरहेका छन्।

जनकपुरधाममा ओलीले अन्य दललाई ललकार्दै भने,‘एमालेबाहेक अन्य दललाई नेता कार्यकर्ता जोगाउन हम्मेहम्मे परेको छ। निर्वाचन नजिकिँदै जाँदा अन्य दलमा ठूलो पहिरो जाने बताउँदै उनले एमालेबाहेकका दलको अस्तित्व नै संकटमा पर्ने दाबी गरे। अहिले देशभरि एमालेको लहर रहेको भन्दै आफ्ना कार्यकर्तालाई सम्हाल्न उनले दलहरूलाई चुनौती दिए। 

‘सबै पार्टीलाई खुला रूपमा भन्न चाहन्छु, आफ्ना नेता तथा कार्याकर्तालाई सम्हाल्न सक्छौ भने सम्हाल, नत्र तिमीहरूको पार्टीमा पहिरो गइसक्यो, भत्किरहेका छन्, कसैले रोक्न सक्दैन। एमालेबाहेकका अरू कुनै पार्टी जोगिने अवस्था छैन,’ उनले भने।

एमालेको डरले चुनावमा गठबन्धन गर्न सत्तारूढ दलहरू बाध्यात्मक अवस्थामा पुगेको उनको भनाइ थियो। ‘गठबन्धन त उहाँहरूलाई गर्नु नै पर्छ, गठबन्धन गरेनन् भने एमालेतिर नहेरे हुन्छ। एक्लाएक्लै चुनावमा लड्छु भनेर आँट नगरे हुन्छ,’ ओलीले भने, ‘गठबन्धन नगरिएपछिको अवस्था कस्तो हुन्छ भन्ने कुरा शेरबहादुरजी, पुष्पकमल दाहालजीलाई राम्रोसँग थाहा छ। उहाँहरूको चेहराबाट मुस्कान हराएको छ, छटपटि बढेको छ।’

प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयकमा धेरै प्रावधान गलत रहेको ओलीको भनाई छ। जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता दिइने प्रावधान समेटे मात्र पारित हुन सक्ने उनको भनाई छ।

बाहिर अनाडीको कुरा सुनेर विधेयक ल्याएर एमालेले नागरिकता दिएन र विधेयक रोकेर राखेको भनेर मधेसमा भ्रम छरिराखेको छ उनले प्रष्ट्याउने कोसिस गरे, त्यसो हुँदै होइन। ‘मेरै पहलमा नागरिकता समस्या बुझ्न समिति बनाएँ,’ ओलीले भने,‘नागरिकता समस्या हल गर्न संसद्मा मैले नै विधेयक लगे। तर, एउटा संसदीय समितिका सभापति अड्काएर बसिदिएँ। अनि मैले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भने अध्यादेश ल्याए। त्यो पनि अदालतमा मुद्दा हालेर फिर्ता गराइयो।’ उनले नागरिकता समस्यालाई लिएर गठबन्धन दलले झुटको खेती गरिरहेको आरोप लगाए। ‘जन्मसिद्ध सन्तानले नागरिकता पाउनुपर्छ भनेर म ७ वर्षदेखि कराउँदैछु। तर, उनीहरु भ्रम र झुटको खेती गरेका छन्।’

राजनीतिज्ञ मण्डल भन्छन् नागरिकता विधेयक र संविधान संशोधनका मुद्दामा अनुदार ओलीसँग मधेसका एकाध नेता टाँसिन पुग्दैमा मधेसीसँगै सम्बन्ध गाँसियो भन्न मिल्दैन्। मधेसी जनता तेस्रो मधेस आन्दोलनका बखत ओलीले छोडेको बोली वाण कहिल्यै बिर्सन सक्दैनन्।

 मधेसको असली मुद्दा सम्बोधनमा जहिल्यै उनी अनुदार देखिएका कारण उनीसँग मधेसको मन टुटेको मण्डलको विश्लेषण छ। हुन त प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी मधेसको माग बेवास्ता गर्दै आएको इतिहास छ राजीतिज्ञ मण्डल भन्छन्,‘तर यी तीन वटामा तुलना गर्दा बढ्ता अनुदार एमाले र ओलीजी हो।’

जनसंख्या र मतदाता बढी भएको मधेस प्रदेशमा सबै दलले आँखा गाडेका छन्। जुन स्वभाविक हो। तर पछिल्लो समय अन्य दलका असुन्तष्ट नेतालाई फकाएर आफ्नो पार्टीमा प्रवेश गराउन एमाले मधेसमा बढ्ता सक्रिय देखिएको छ।

शुक्रबार सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित श्री जनता नमूना माध्यमिक विद्यालयको पठनपाठन बन्द गराएर एमाले सिरहाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा एमाले अध्यक्ष ओली हेलिकप्टरबाट अवतरण गरे। माओवादी र जसपाका असन्तुष्ट नेतालाई भित्र्याउन प्रतिकूल मौसमका बावजुद ओली चोहर्वा पुगे। कार्यक्रममा पुगेर ओलीले लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता रामबल्लभ साहसहितका नेता–कार्यकर्तालाई एमाले पार्टीमा प्रवेश गराए। माओवादीका असन्तुष्ट नेता भने आएनन्।  

अन्य दलका असन्तुष्ट नेताले साथ नदिएजस्तै उनलाई मौसमले पनि साथ दिएन। सहभागीलाई सम्बोधन गर्न उभिएलगत्तै झरी पर्न सुरु भयो। त्यसपछि ओलीको मन्तव्य रोकियो। र, सुरक्षाकर्मीले उनलाई गाडिमा चढाएर हेलिकप्टर पार्क गरिएको स्थलसम्म पुर्याएको थियो। झरी परिरहँदा ओली हेलिकप्टर चढेर काठमाडौं उडेपछि कार्यक्रम बिथोलिएको थियो।  

राजनीतिज्ञ मण्डल भन्छन्,‘ओलीले जती प्रयत्न गरेपनि मधेसमा सोचेजस्तो सफलता प्राप्त गर्न गाह्रो छ। नागरिकता विधेयकको विरोध गरेर राष्ट्रियता रखवालाको पहिचान बनाउने उनको ध्यय होला त्यो सफल नहुने उनको भनाई छ। 

एकाध मधेसी नेता यताउता भएपनि मधेसी जनता आफ्नो अधिकार रक्षा र प्राप्तिप्रति पूर्ण प्रतिवद्ध रहेकाले मधेस विरोधी हरेक गतिविधि विथोलिने उनको विश्लेषण छ।

प्रकाशित: २ आश्विन २०७९ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App