२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्तापक्षबाट लतारिएर नचल्न ओलीले गराए निर्वाचन आयोगलाई सजग

फाइल तस्बिर।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको यो बेला सत्तापक्षबाट लतारिएर नचल्न निर्वाचन आयोगलाई सजग गराएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निर्वाचनलाई प्रभावित हुने गरी निर्वाचन आयोगलाई हस्तक्षेप गर्ने कुनै पनि खालको काम नगर्न सरकारलाई समेत चेतावनी दिए।

निर्वाचन आयोगमाथि हस्तक्षेपकारी भूमिका खेल्ने र  निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्ने भूमिका सरकारले खेल्नु मुनासिव हुँदैन, पाउँदैन भन्दै अध्यक्ष ओलीले आफूले त्यतापटि सरकारलाई सचेत गराउन चाहेको पटकपटक दोहार्‍याए।

उनले स्थानीय तहको निर्वाचनमा सरकारले राज्य स्रोतको चरम दूरुपयोग गरेर निर्वाचनलाई प्रभावित पार्ने काम गरेको उल्लेख गर्दै त्यस्ता खालका लोकतान्त्रिक पद्धति, प्रणाली र जनअपेक्षा विपरीतका काम गर्न नहुने पनि बताए।

अध्यक्ष ओलीले निर्वाचनमा जाने कामलाई सत्तारुढ दलहरुले प्रतिगमन भन्ने गरेकोमा आपत्ति जनाए। निर्वाचन कहिल्यै पनि प्रतिगमन नहुने उनको तर्क थियो। यस्तै उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नक्सा जारी गर्ने आफू नेतृत्वको सरकारको कामप्रति संकेत गर्दै राष्ट्रियताको सन्दर्भमा यो संसदले गरेको काम इतिहासमा कहिल्यै नमेटिने खालको रहेको बताए।

अध्यक्ष ओलीले भने, ‘सरकारको बारेमा त मैले केही भन्नु पर्दैन। मंसीर ४ गते जनताले सरकारलाई जवाफ दिनेछन्। गठबन्धनलाई जवाफ दिनेछन्। अरु निकायहरु जसलाई जनताले त्यसरी जवाफ दिन मिल्दैन। ती निकायहरु संसदको भूमिका नेकपा एमालको विरुद्ध संसद, संसदीय मर्यादा आदिको वास्तै नगरेर, नियम, कानुन र प्रचलनको वास्तै नगरेर आफ्नै कामको पनि वास्ता नगरेर चल्ने कामहरु भए। यी सबै कामहरु वास्तवमा लोकतन्त्रलाई कमजोर पार्ने खालका, यस प्रणालीलाई कमजोर पार्ने खालका, संविधानको मर्म, भावना र त्यसको वास्तविक कार्यान्वयन प्रतिकूल असर पर्ने खालका, राष्ट्रिय हित, जनहित भन्दा बढी, प्रणालीको हितभन्दा बढी आफ्ना निहित स्वार्थलाई केन्द्र भागमा राखेर चल्ने खालका कामहरु भए।'

अध्यक्ष ओलीले नागरिकता विधेयकलाई सत्तारुढ दलहरुले आफ्नो राजनीतिक फाइदाको विषय मात्रै बनाएको भन्दै आक्रोश व्यक्त गरे। 

प्रकाशित: १ आश्विन २०७९ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App