१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

मेघौली विमानस्थलको काम छिट्टै हुन्छःअध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताएका छन्।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तक्र्रियामा उनले ऐतिहासिक महत्व बोकेको यो विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने बताए।

विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको सुभारम्भ गर्दै उनले छिट्टै विमानस्थलको कामले पूर्णता पाउनेमा आफू विश्वस्थ रहेको बताए। उनले दुई विमानस्थलको विकाससँगै यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताए।  

उनले भने, 'पर्यटन विकासको दृष्टिले मेघौलीको सम्भावना प्रचुर रहेको छ।'निकुञ्जसँगै आदिवासी समुदायको संस्कृति र वेषभूषाले पर्यटनलाई आकर्षण गरेको उनले बताए। दाहालले भने, 'थारु, दराई र कुमालको संस्कृति एवं परम्परासँगै निकुञ्ज हुनुका कारणले अपार सम्भावना र चुनौती दुवै छ।'

वन्यजन्तुबाट जनताको सुरक्षाका निम्ति नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा छलफल चलिरहेको उनले बताए। उनले भने, 'प्रधानमन्त्री, अर्थमन्त्री र वन तथा वातावरणमन्त्रीसँग कुराकानी भइरहेको छ। भारतमा जस्तै यहाँ पनि नयाँ प्रविधिको प्रयोग गर्ने कुरा भइरहेको छ।' भारतमा वन्यजन्तुबाट जनताको सुरक्षाका लागि विशेष प्रकारको संयन्त्र विकास भएको भन्दै उनले यसका लागि केही करोड बजेट भए पुग्ने बताए।

आफूले नारायणी तटबन्ध, चक्रपथ, भरतपुरदेखि मेघौलीसम्मको सहायक राजमार्ग, मङ्गलपुरदेखि मेघौलीसम्मको सडकको स्तरोन्नतिलगायत महत्वपूर्ण विकास निर्माणमा जोड दिएको अध्यक्ष दाहालले बताए । मेघौलीलाई विशेष आर्थिक र पर्यटन क्षेत्रका रुपमा विकास गर्ने काम तीव्र गतिमा अघि बढेको उनले बताए।

गोलाघाटमा पुल निर्माण युनेस्कोका कारण रोकिएको भन्दै उनले त्यसका लागि पनि पत्राचार गरिएको जानकारी दिए। राप्ती, रिउ र नारायणी नदीको सङ्गमस्थल पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको उनले बताए। आफू ११/१२ वर्षको हुँदा मेघौली विमानस्थलमा जहाज आएको र गएको समयलाई खाजा खाने समय सूचक बनाउने गरेको स्मरण उनले गरे।  

कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र मेघौली विमानस्थलको कामसँगै अघि बढेको भन्दै यसले महानगरको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताइन्। पहिलो कार्यकाल थाल्दादेखि नै विमानस्थल बिस्तारको कामलाई प्राथामिकतामा राख्नुभएकी दाहालले यसले यहाँको विकासमा फड्को मार्न सहयोगी बन्ने बताइन्। उनले भनिन् , 'हाम्रो निरन्तरको प्रयास सार्थकतामा पुग्दैछ।'

सोही अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मेघौली विमानस्थल गुणस्तरीय पर्यटक चार्टर गर्ने महत्वपूर्ण विमानस्थलका रुपमा विगतमा परिचित रहेको बताए। भरतपुर विमानस्थल र मेघौली विमानस्थलको काम अघि बढेको भन्दै उनले यसले चितवनको विकासमा ठूलो सहयोग पुर्‍याउने बताए। मेघौलीको सर्भे सकिएसँगै लागत निकालेर बोलपत्र आह्वान गरिने उनले जानकारी दिए।

कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटक विज्ञ सल्लाहकार डा.विश्वराज सुवेदीले मेघौलीको पर्यटकीय महत्वकाबारेमा प्रकाश पारे। सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो। त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन। वि सं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए 

कुनै बेला मेघौली विमानस्थलमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे। सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ। विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ। विमानस्थलको धावनमार्गमा कालोपत्र गरेर ट्रमिनल व्यवस्थित गर्न लागिएको हो। विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो। अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ। मेघौलीदेखि जगतपुरसम्मका क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन्।

प्रकाशित: १८ भाद्र २०७९ १४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App