११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

जोडाबिनाको जीवन !

पति बेपत्ता पारिएका पुनिकला बिक र महिमा बिक। तस्बिर : दिनेश÷नागरिक

रोल्पा नगरपालिका ८ जंकोटकी ५२ वर्षीया पुनिकला बिकका पति बेपत्ता भएको २३ वर्ष भयो। पुनिकलाका अनुसार माओवादी नेता वर्षमान पुनको छिमेकी गाउँका नन्दबहादुर बिक वर्षमानसँगै हिँड्थे। पुनिकलाका पति बेपत्ता हुँदा दुई छोरा जन्मिएका थिए भने छोरी गर्भमा थिइन्।

२०६३ सालमा देशमा शान्ति सम्झौता भयो। द्वन्द्व रोकेर शान्ति फर्कियो, तर नन्दबहादुर फर्केनन्। जिल्लाका द्वन्द्वपीडित तथा केही गैरद्वन्द्वपीडितले समेत कागज मिलाएर राहत बुझे तर पुनिकलाले कुनै अवसर पाइनन्। भएको सम्पत्ति सबै पतिका नाममा छ। यतिबेला पुनिकला राहत र न्यायभन्दा पनि आफ्नै जग्गा आफ्नो नाममा नामसारी मात्र गर्न पाए पनि हुन्थ्यो भन्ने अपेक्षामा छिन्।

‘राहत पनि पाइएन। छोराहरूले अंश माग्न थालेका छन्। छोरीलाई पढाउनु छ, तर जग्गा चलाउन पाएको छैन’, पुनिकला भन्छिन्, ‘जोडाबिनाको यत्रो वर्ष कति दुःखमा बिताए त्यो मलाई मात्र थाहा छ।’ कुनै समय प्रचण्डले भनेजस्तो सुकिला–मुकिला मान्छे देख्दासमेत बोल्न नसक्ने पुनिकलाले आफ्नो दुःख कहिल्यै कसैलाई सुनाउन सकेकी छैनन्।

पहिलेका जस्तै भर्खरै सकिएको चुनावमा भोट माग्न गाउँ छिरेका सबैलाई पुनिकलाको अवस्था जानकारी थियो, तर कसैले उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्म पनि डो¥याउन चासो दिएनन्। यतिबेला पुनिकला वडा कार्यालयमा जग्गा नामसारीका लागि धाउँदै छिन्। ‘सरकारले मृत्यु दर्ता पनि गरिदिन्न मान्छे पनि खोजी गर्दैन। जोडाबिनाको जीवन कस्तो हुन्छ भन्ने हामीलाई मात्र थाहा छ।’

माओवादीका जिल्लास्तरका नेताका अनुसार नन्दबहादुर युद्धमा हिँडेका हुन्, तर शान्ति–सम्झौतापछि कसैले उनको खोजी नगर्दा पुनिकलाले पाउनैपर्ने राहतबाट वञ्चित भएकी हुन्। अदालतमा गएर मृत्युको न्यायिक घोषणाका लागि निवेदन दिनसमेत मेसो नपाउने पुनिकला यतिबेला बेसहारा बनेकी छन्।  

२०५८ साल असारमा आफ्ना पति पत्रकार धनबहादुर रोका बेपत्ता पारिँदा ३० वर्षकी थिइन् दिलकुमारी रोका। जेठी छोरी पवित्रा साढे ३ वर्षकी, छोरा वसन्त २ वर्षको अनि कान्छो रामचन्द्र जन्मिएको १६ दिन मात्र भएको थियो। रोल्पा सदरमुकाम लिवाङदेखि २६ कोस टाढा मिरुलकी दिलकुमारी पति बेपत्ता भएको २१ वर्ष पुग्दासम्म पनि अन्योलमा छिन्।

कसो गर्दा आउँछ कि भन्ने आशा पलाए पनि मनले आउँदैन भन्ने दबाब दिन्छ। ‘खै अब त के आउँथे र ? २०५९ सालमा गाउँलेमार्फत मरिसक्यो भनेर खबर गर्‍या थे। मर्‍यो भन्नु कसैले लास देखेको होइन। आउँछ भन्नु मारिसक्यौं भन्नेहरू सिंहदरबारमा छन् रे’, दिलकुमारी गम्भीर बनिन्।

रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतमा कार्यरत पत्रकार धनबहादुर रोकालाई २०५८ साल असारताका तत्कालीन माओवादीले प्युठानको भिङ्ग्री जलुकेबाट अपहरण गरी लगेपछि जिउँदो त फर्काएनन् नै; लाससमेत दिएनन्। रेडियो नेपालमा मगर खाम भाषाका सहवाचक उनले समाचार उत्पादन र वाचन गर्थे। धनबहादुर २०५८ सालमा कामविशेषले रोल्पा सदरमुकाम लिवाङ आएका बेला कार्य क्षेत्रमा फर्कंदै गर्दा तत्कालीन माओवादीबाट अपहरणमा परेका थिए।

त्रिवेणी २ रामपुरकी ६७ वर्षीया महिमा बिकका पति पनि द्वन्द्वमा बेपत्ता पारिएका थिए। २०५८ सालमा बेपत्ता भएका उनको परिवारले पनि आजसम्म राहत र न्यायसमेत पाएको छैन। खानलाउन छाकै नबसे पनि बेपत्ता पतिको पर्खाइले महिलालाई अत्यास लाग्ने गर्छ। अघिल्ला चुनावमा भोट माग्न आउनेले उनलाई पनि बेपत्ता आयोगसम्म जोड्ने चासो दिएनन्।

२०५९ साल असोज ६ गते बारीमा हलो जोत्दै गरेका ४९ वर्षीय पति सुकमन कामीलाई छिमेकी गाउँ सेरमको घुस्बाङमा लगी गोली हानेर मारेको सुनेकी लालमता कामीले लास भने पाइनन्। ‘एकै दिन १२ जना गमालीलाई लगेर मार्‍या हुन्। सबैले मर्‍यो भने। लास नपाए पनि मरेको मानियो।’ लालमताले सुनाइन्। ‘असोजमा जोडालाई मारे, त्यही फागुनमा प्युठान मजदुरी गर्न हिँडेको छोरा २० वर्षीय नरबहादुर विकलाई पनि बेपत्ता बनाए’, लामो सास फेर्दै एकै सासमा भनिन्।

२०५९ सालपछि निम्न आर्थिक अवस्थाका लालमताको परिवार झनै भताभुंग भयो। आर्थिक जोहो गर्ने पति हत्याको पीडा भोगेको ६ महिनापछि आशाको त्यान्द्रो छोरा पनि बेपत्ता पारिएपछि बाटो हेर्दैमा २० वर्ष बित्यो। छोरासँगै प्युठान मजदुरी गर्ने कसैले खुसुक्क छोरा बेपत्ता बनाएको खबर पठाएपछि जानकारी पाएकी लालमताले न छोरा खोज्न सकिन्, न त कसैले खोजिदियो।

दसबर्से युद्धका बेला पीडित भएका रोल्पाका ३ हजार ३८ पीडितले दर्ता गराएका उजुरी यतिबेला अन्योलमा छन्। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सत्य अन्वेषणका लागि गत साल उजुरी आह्वान गरेको तीन महिनामा उल्लिखित संख्यामा उजुरी परेको हो। स्थानीय शान्ति समिति रोल्पाकाअनुसार बेपत्ता व्यक्तिका ११६ परिवारले उजुरी दिएका थिए। उनीहरूले बेपत्ता आफन्तको खोजबिनका लागि भन्दै उजुरी दिएका हुन्।

रोल्पामा ३२ बेपत्ता परिवारले राहत लिनका लागि मृतक स्वीकार गरेर मृत्यु दर्तासमेत गराएका छन्। सरकारी तथ्यांकअनुसार ३३ जना बेपत्ताको सूची छ भने ९६९ मृतक संख्या रहेको छ। यति धेरै द्वन्द्वपीडित रहेको जिल्लामा स्थानीय सरकारले उनीहरूलक्षित कुनै कार्यक्रम त ल्याएन नै; पीडितलाई सम्झने गरेको पनि पाइँदैन।

प्रकाशित: १४ भाद्र २०७९ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App