२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादी बाजुराले छान्यो उम्मेदवार, संघमा नरेश शाही सिफारिस

प्रतिनिधी सभाको उम्मेदवार नरेश शाही ।

नेकपा एकीकृत समाजवादी बाजुराले संघ र प्रदेश सभा उम्मेदवारको नाम सिफारिस गरेको छ।

 बाजुरा सदरमुकाम मार्तडीमा बसेको पार्टी जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारको नामा सिफारिस गरेको सचिव पुरबहादुर रावतले बताएका छन्।  

समाजवादीले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा नरेश शाहीको एकल नाम सिफारिस गरेको छ। पार्टीका केन्द्रीय सदस्य र युवा संघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका शाहीलाई प्रतिनिधी सभा उम्मेदवारका रुपमा सर्वसम्मत एकल नाम प्रस्ताव गरिएको सचिव रावतले जानकारी दिएका छन्।

रावतका अनुसार प्रदेश निर्वाचन क्षेत्र क र ख का लागि भने एकल नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र क को उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । पार्टी केन्द्रीय सदस्य हिक्मतजंग शाही, पार्टी सचिव पुरबहादुर रावत र युवा संघका नेता धर्मबहादुर शाहीको नाम सिफारिस गरिएको छ।  

यस्तै प्रदेश निर्वाचन क्षेत्र ख मा २ जनाको नाम सिफारिस गरिएको छ। पार्टी केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष गगन रावल र मन्देवी साउँद खड्काको नाम प्रत्यक्ष निर्वाचनको उम्मेदवारको रुपमा सिफासिर गरेको छ।  

समाजवादीले दलित तर्फ काशी नेपाली, जनजाति तर्फ दाबा गुरुग भोटे र महिला तर्फ सत्य खड्का थापालाई प्रतिनिधी सभा समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरेको छ। भने अमृता रावल बोहरा र सतल कामीलाई प्रदेश समानुपाति तर्फको उम्मेदवार बनाएको छ।

पाँच दलिय गठबन्धन भए बाजुरामा प्रदेश सभा तर्फको एक सिट समाजवादीले पाउने संभावना छ। त्यसका लागि समाजवादीले प्रदेश निर्वाचन क्षेत्र क लाई नै रोज्नु देखिन्छ। त्यसो हुँदा हिक्मतजंग शाही र पुरबहादुर रावत मध्ये एकलाई अघि सार्ने आन्तरिक तयारी रहेको श्रोतको दाबी छ। तर काँग्रेस बाजुरामा समाजवादी र माओवादी कुनै दलका लागि पनि स्थान खाली गर्ने मानसिकतामा देखिएको छैन् ।  

उसोत एकीकृत समाजवादीका नेताहरुले पनि गठबन्धनको भर नपर्ने बताएका छन्। पार्टीले आफ्नो आकार थाह पाउन र संगठन निर्माण गर्नकै लागि भएपनि एकल उम्मेदवारी दिएर चुनाव लड्ने तयारी गरेको पार्टी सचिव पुरबहादुर रावतले बताएका छन्।

हामी गठबन्धन होस्, या नहोस्, त्यसमा केन्द्रीत छैनौं, हाम्रो संगठन निर्माणको अभियानलाई केन्द्र भागमा राखेर लागि रहेकोले गठबन्धनको भरमा हाम्रो पार्टी छैन र पर्दैन, रावतले भने। समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा पनि केही स्थानीय तहमा एकल उम्मेदवारी दिएको थियो।  

स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले नौ वटा पालिका र ६९ वटा वडा मध्ये कुनैमा पनि जित हासिल गरेको छैन्। निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा एमालेले २७ हजार ६५५ मत ल्याएको छ। प्रतिष्पर्धी कांग्रेसको २४ हजार ४ सय ५७ मत छ।

माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्र तर्फका उम्मेद्वारहरुले ५ सय ८४ मत प्राप्त गरेका छन्।

प्रकाशित: १३ भाद्र २०७९ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App